Tuesday, April 9, 2013

वितरक आफैँ दिन्छन् म्याद नाघेको सामान


दोलखा, चैत्र २०/व्यापारीहरुले म्याद नाघेका सामग्रीहरु बेच्नु त सामान्य जस्तै भएको छ तर दोलखा सदरमुकाम चरिकोटमा वितरकले नै व्यापारीहरुलाई म्याद नाघेका सामान दिएको खुलासा भएको छ ।
स्थानीय प्रशासनले सदरमुकामका किराना पसल तथा होटलहरुमा अनुगमन गर्ने क्रममा वितरकले नै म्याद नाघेका सामान दिेने गरेको खुलासा भएको हो ।
स्थानीय प्रशासनको टोलीले मंगलवार अनुगमनको क्रममा ठुला पसलहरुमै आठ महिनाअघि नै म्याद सकिएको कोकाकोला, फ्यान्टा तथा स्प्राइट फेला पारेको हो । 
व्यापारीले ती कोकाकोला, फ्यान्टा तथा स्प्राइट अघिल्लो दिन मात्रै वितरकले झरिदिएको बताएका थिए । सोमबार मात्रै झारिएका ती बोतलहरुमा उत्पादन मिति सन् २०१२ मे ९ उल्लेख छ । तीन महिनाभित्र उपभोग गरिसक्नुपर्ने ती वस्तुहरु उत्पादन भएको ११ महिना नाघिसकेको थिए । 
वितरकले दिएका सामानहरु व्यापारीले पनि सहजै स्वीकार गरेर लिने गरेका छन् भने उपभोक्ताहरुले पनि उत्पादन मिति नहेरी किन्ने गरेका छन् । अनुगमन टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीले व्यापारीहरुलाई सजग बनाउनुपर्ने र उपभोक्ताहरुलाई पनि सचेतीकरण गर्नुपर्ने बताउनुभयो ।
अनुगमनका क्रममा टोलीले मंगलबार पनि म्याद नाघेका खाने तेल, चाउचाउ, भुजिया, चकलेट लगायतका सामग्रीहरु बरामद गरेको थियो । कतिपय सामानहरुमा उत्पादन मिति उल्लेख नगरिएको पाइएको थियो । एउटा पसलबाट अनधिकृत रुपमा प्लाष्टिकको बोतलमा बेच्न राखेको अवस्थामा पेट्रोल र मट्टतिेल बरामद गरेको थियो । कतिपय होटलहरु दर्ता नभएको, किचेन अव्यवस्थित पाइएको अनुगमन टोलीले जानकरी दिएको छ ।
हाम्रा कुरा 

No comments:

Post a Comment