Thursday, April 28, 2016

सहकारीबाट विना प्रक्रिया ऋण लगानीको नालीबेली

कर्मचारी पक्राउ, ऋणी र सञ्चालक फरार
दोलखा, बैशाख।अध्यक्ष र सचिवको प्रत्यक्ष मिलेमतोमा बिना धितो विद्यमान हिकारी नियमित विपरीत ठूलो रकम लागानी गरेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन् भने कर्मचारीहरु प्रहरी नियन्त्रणमा छन् ।
सहकारी र त्यसका सदस्यहरुलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याउने गरी ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले सो सहकारीको २ कर्मचारीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार प्रहरीले सहकारीका व्यवस्थापक माधवप्रसाद दाहाल र ऋण फाँटकी कर्मचारी इन्दिरा कार्कीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत दोलखाबाट १० दिनको म्याद समेत थप गरेको छ ।

सहकारीबाट विना प्रक्रियै ४ करोड ऋण लगानी

दोलखा, बैशाख/ग्रामीण जनताको खनखाँचो टार्ने र आर्थिक सामाजिक विकासको मेरुदण्ड बनेको सहकारी ठगीको माध्यम पनि बनेको खबर धेरैलाई विश्वास नलाग्न सक्छ तर दोलखाको एउटा सहकारीले विना धितो, विना प्रक्रिया ४ करोड लगानी गरेर त्यसको पुष्टि गरिदिएको छ ।
दोलखा जिल्ला काब्रे गाविसको मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले दुइ जनालाई दुइदुइ करोडको दरले ४ करोड विना धितो र विना प्रक्रिया ऋण लगानी गरेको पाइएको हो । संस्थाका अध्यक्ष र सचिव मिलेमतोमा विना प्रक्रिया ऋण लगानी भएको संस्थाका सदस्यहरुले बताएका छन् ।
ऋण लगानीको विषयमा लेखा समितिले आन्तरिक लेखा परीक्षण गर्दा उक्त तथ्य बाहिर आएको हो । बिना योजना यति ठूलो रकम एकै व्यक्तिलाई लगानी गरेपछि सहकारीका शेयरधनीहरुले चासो राखेका छन् । शेयर सदस्यहरुले लेखा समितिलाई तत्काल बिशेष साधारण सभा डाक्न दबाब दिएका छन् ।