Friday, January 1, 2016

मन्त्रीलाई गृहजिल्लामै कालो भण्डा, एक वर्षभत्रै गुरुयोजना बन्ने मन्त्रीको दावी

दोलखा, पुस १७/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेललाई आफ्नै जिल्लामा कालो झण्डा देखाई अवरोध गरिएको छ ।
'जनताको संविधान जनताकै माझ' कार्यक्रम लिएर दोलखा पुगेका मन्त्री पोखरेललाई सदरमुकाम चरिकोटमा नेपाल विद्यार्थी संघ, तरुण दल लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाई अवरोध गरेका हुन् ।
दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा निर्माण गर्न लागिएको फिल्म सिटी अन्तै लैजाने षड्यन्त्र
गरेको भन्दै वर्तमान सरकारका मन्त्री पोखरेललाई दोलखावासीले विरोध गरेका हुन् । मन्त्रीको विरोधमा उत्रिएको नेपाली कांग्रेसले मन्त्री उपस्थित 'जनताको संविधान जनताकै माझ' कार्यक्रमलाई समेत बहिष्कार गरेको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखामा निर्माण हुने लागेको फिल्म सिटीलाई अन्तै सार्ने अभिव्यक्ति दिएका थिए । उनले ठट्टाको पारामा दोलखाको डाङडुङे डाँडा घाम कम लाग्ने, सडक सुविधा नभएको, हिरोइन रिसाएर फाल हान्ने पोखरी समेत नभएकोले फिल्म सिटी निर्माणको सम्भावना नभएको भन्दै अन्तै लैजाने अभिव्यक्ति दिएका थिए । त्यसको विरोधमा दोलखा जिल्लावासी आन्दोलित हुँदै आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले भने आफू दोलखाको डाङडुङे डाँडामै फिल्म सिटी बनाउन लागिपरेको जिकिर गरे । उनले प्रधानमन्त्रीले फिल्म सिटी अन्तै लैजान दिएको अभिव्यक्तिबारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै एक वर्षभत्रमै दोलखाको डाङडुङे डाँडामा निर्माण गर्ने भनिएको फिल्म सिटीको गुरु योजना तयार हुने दावी गरे । उनले भने, 'यो हामीले सुरु गरेको आयोजना हो, हामी यसको विरुद्ध लाग्ने कुरै आउँदैन, फिल्म सिटी दोलखामै बन्छ ।' उनले शुक्रवार नै फिल्म सिटी निर्माण हुने गाविसका जनतासँग भेटी फिल्म सिटी निर्धारित डाङडुङे डाँडामै बन्ने आश्वासन समेत दिएका छन् ।
चार वर्षघि डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने योजना चलचित्र विकास बोर्डले अघि सारेको थियो । यस क्रममा आयोजनाको लागि वातावरणीय प्रभाव मूल्यांकन, सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ भने आयाजनाका लागि आवश्यक जग्गा १५ सय रोपनी प्राप्ति पनि अन्तिम चरणमा पुगेको छ ।  

No comments:

Post a Comment