Wednesday, March 25, 2015

माथिल्लो तामाकोशीमा आन्दोलन सकियो ! मजदुरहरु विभाजित

दोलखा, चैत ११/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदारहरुले शेयरको माग गर्दै झण्डै दुइ सातादेखि ठप्प पारको काम बिहिवारदेखि पुनः सुरु हुने भएको छ ।
आन्दोलनरत कामदार र आयोजनाका अधिकारीहरुबीच बुधवार काठमाडौँमा भएको वार्ताले बिहिवारदेखि काम पुनः सुरु गर्ने सहभती गरेको हो । आयोजनाको काठमाडौँ कार्यालयमा बुधवार भएको वार्ताले मजदुरहरुलाई शेयर दिने विधि तय गर्न सात दिनभित्र विशेषज्ञ सहितको अधिकारसम्पन्न कार्यदल गठन गर्ने र
सो कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने सहभती भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए ।
दुबै पक्षबीच भएको वार्ताको सहमतीपत्रमा आयोजनाको पक्षबाट सञ्चालक शेरसिंह भाट, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ तथा प्रवक्ता डाक्टर गणेशप्रसाद न्यौपाने र आन्दोलनरत पक्ष नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन -क्युपेक, नेपाल) को तर्फाट अध्यक्ष नरनाथ लुइँटेल, जिफन्टका अध्यक्ष महेन्द्र पुरी तथा क्युपेक सिनोहाइड्र कमिटीका अध्यक्ष सोनामदोर्जी शेर्पाले हस्ताक्षर गरेका छन् । उनीहरुबीच मंगलवार र बुधवार वार्ता भएको हो ।
तर आयोजनाले क्युपेक नेपालसँग मात्रै एकलौटी ढंगले वार्ता र निर्णय गरेको, आफूहरुलाई वार्तामा सहभागी नगराएको भन्दै आन्दोलनरत अन्य संगठनले आन्दोलन फिर्ता नभएको जानकारी दिएका छन् । वार्ताको निर्णयप्रति असहमती राख्नेहरुमा एमाओवादी, नेकपा माओवादी वैद्य समूह, नेकपा माओवादी विप्लव समूह र नेपाली कांग्रेस सम्बद्ध श्रमिक संगठनहरु रहेका छन् । नेपाली कांग्रेससम्बद्ध निर्माण तथा सम्बद्ध श्रमिक संघ लामाबगर इकाइ अध्यक्ष रोशन खड्काले आफूहरुले राखेको माग पूरा नभएसम्म काममा नर्फकने बताएका छन् ।
आयोजनामा कार्यरत मजदुरहरुबीच विभाजन भएपछि आयोजनाको कामसमेत अन्योलमा परेको छ । आयोजनामा कार्यरत करिब ८ सय ५० मजदुरहरुले आफूहरुलाई ५ सय कित्ताका दरले शेयर हाल्न पाउनुपर्ने माग राख्दै दुइ साता अघिदेखि आयोजनाको काम ठप्प पारी आन्दोलन गर्दै आएका थिए ।
३५ अर्व २९ करोड रुपैयाँको लागतमा निर्माण हुँदै गरेको स्वदेशी लगानीको हालसम्म सबैभन्दा ठुलो निर्माणाधीन आयोजनाको काम करिब ७३ प्रतिशत काम सम्पन्न भैसकेको छ ।

No comments:

Post a Comment