Thursday, April 28, 2016

सहकारीबाट विना प्रक्रिया ऋण लगानीको नालीबेली

कर्मचारी पक्राउ, ऋणी र सञ्चालक फरार
दोलखा, बैशाख।अध्यक्ष र सचिवको प्रत्यक्ष मिलेमतोमा बिना धितो विद्यमान हिकारी नियमित विपरीत ठूलो रकम लागानी गरेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन् भने कर्मचारीहरु प्रहरी नियन्त्रणमा छन् ।
सहकारी र त्यसका सदस्यहरुलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याउने गरी ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले सो सहकारीको २ कर्मचारीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार प्रहरीले सहकारीका व्यवस्थापक माधवप्रसाद दाहाल र ऋण फाँटकी कर्मचारी इन्दिरा कार्कीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत दोलखाबाट १० दिनको म्याद समेत थप गरेको छ ।

सहकारीका अध्यक्ष काब्रे ८ का माधवप्रसाद दाहाल, सचिव कृष्णप्रसाद दाहाल, ऋणीहरु मिर्गे ३ का दीपककुमार राउत र काब्रे ४ का राधाकृष्ण दाहाल भने फरार रहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए । फरार अभियुक्तहरुको खोजी भैरहेको प्रहरीले जानकरी दिएको छ । फरार अभियुक्तहरुबारेमा सूचना दिन प्रहरीले प्रेस विज्ञप्तिमार्फ र्सार्वजनिक अपिल समेत गरेको छ । प्रहरीले अनुसन्धानका लागि सहकारीमा रहेको आवश्यक कागजात समेत बरामद गरेको छ ।
गत माघ १५ गते काब्रे गाविसको मैनापोखरी बजारमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले मिर्गे ३ का दीपककुमार राउत र काब्रे ४ का राधाकृष्ण दाहाललाई विना प्रक्रिया र विना धितो दुइदुइ करोडको दरले ४ करोड लगानी गरेको थियो ।
प्रक्रिया बिना ऋण लगानी गरेको ठहर भएपछि लेखा समितिले बैशाख १८ गतेका लागि विशेष साधारणसभा आव्हान गरेको छ । अध्यक्ष र सचिव बाहेकको सञ्चालक समितिको संयुक्त बैठकले ऋण असुलका लागि सम्बद्धहरुलाई बैशाख २० गतेसम्मको म्याद दिएको छ । सञ्चालक समिति बैठकले अनुसन्धानमा सहयोग गर्न अध्यक्ष, सचिब र व्यवस्थापकलाई निलम्बन समेत गरेको छ ।

यस्तो छ सहकारीमा ऋण लगानी व्यवस्था !
जनमुखी सहकारीको ऋण नीति २०७० ले ऋण लगानीका गर्न ऋण सुरक्षणका लागि चल अचल सम्पति वा बचतलाई धितोको रुपमा राख्नु पर्ने उल्लेख गरेको छ । सदस्यको बचतको ५ गुणासम्म ऋण लगानी गर्ने प्राव्धान छ । ऋणीको नियमित बचत हुनुपर्ने प्रावधान समेत भएको एक सदस्यले बताए ।
तर दीपककुमार राउत र राधाकृष्ण दाहालको ऋण लिनुअघि र पछि कुनै पनि महिना नियमित बचत नभएको र न्यूनतम बचत समेत नपुगेको उनले बताए । न्यूनतम बचत र सेयर पुर्‍याउन लिएको ऋण रकमबाटै कटौती गरेको देखिएको उनले बताए ।
प्रहरीका अनुसार राउत र दाहाललाई ऋण लगानी गर्दा न्यूनतम कानुनी प्रक्रिया समेत पूरा गरेको छैन । सहकारीले ऋण लगानी गर्दा गरेको तमसुक अनुसार गत माघ १५ गते मिर्गे ३ का ४४ वर्षीय दीपककुमार राउतको नाममा २ करोड लगानी गरेको छ । उनलाई ऋण लगानी गर्दा मिर्गे ३ कै खड्गबहादुर राउतको नामको ८ रोपनी जग्गा धितो राखेको छ । चलन चल्तीको मूल्य अनुसार उक्त जग्गाको मूल्य ५ लाख भन्दा बढी नहुने स्थानीयहरु बताउँछन् ।
त्यस्तै सोही मितिमा काब्रे ४ का राधाकृष्ण दाहालको नाममा २ करोड ऋण लगानी गरेका छन् । उनको धितो केही पनि राखिएको छैन । दुवै व्यक्तिलाई ऋण लगानी गर्दा साक्षीको रुपमा ऋणीहरु एकार्कालाई राखिएको छ । तर साक्षीले सहीछाप पनि नगरेका प्राप्त कागजातमा देखिन्छ ।
सहकारीको ऋण नीति अनुसार १० लाखसम्मको ऋण लगानी गर्दा ऋण उपसमितिले स्वीकृत गर्ने र सोभन्दा बढी ऋणको हकमा सञ्चालक समितिले निर्णय गर्ने उल्लेख छ । ऋणको धितोका रुपमा ५ लाखभन्दा बढी ऋणको लागि दृष्टिबन्धक गरिसकेपछि मात्र लगानी गर्नुपर्ने व्यवस्था छ । तर उनीहरुलाई ऋण लगानी गर्दा यो कुनै पनि प्रक्रिया पूरा गरेको नदेखिएको लेखा समिति सचिव दिपककुमार दाहालले बताए ।

यसरी भयो ऋण लगानी !
ऋण लिन दुवै ऋणीलाई ऋणीकै गाडीमा अध्यक्ष माधव आफैँ काठमाडौँबाट आएका थिए । गत माघ १५ गते करिब एक घण्टाभित्र सबै कागजात तयार पारेर ऋणको बैंक चेक लिएर अध्यक्ष र ऋणीहरु सबै पुनः काठमाडौँ फर्किएको एक कर्मचारीले जानकारी दिए । "यति ठूलो ऋण प्रक्रिया पूरा नगरी दिँदा अप्ठ्यारो हुन्छ भनेर व्यवस्थापकले सही गर्न मानेका थिएनन्" ती कर्मचारीले भने "तर अध्यक्ष स्वयम् जिम्मा हुन्छु भनेपछि किन नदिने भनेर सचिबले हप्काएपछि व्यवस्थापकले बाध्य भएर सही गरे ।"
सहकारीमा माधबप्रसाद दाहाल अध्यक्ष र उनका सहोदर दाजु कृष्णप्रसाद दाहाल सचिब छन् । संस्थामा अध्यक्ष र सचिब दुवै कार्यकारी भएर मासिक तलब समेत नियमित बुझ्ने गरेको सदस्यहरुको दाबी छ । ऋण उपसमितिको संयोजक समेत कृष्णप्रसाद दाहाल नै छन् ।
दुवै ऋणी काठमाडौँ बस्दै आएका छन् । सहकारी अध्यक्ष माधवप्रसाद दाहाल कृषि विकास बैँक जाउलाखेल शाखामा कर्मचारीका रुपमा कार्यरत छन् । उनी चरिकोट शाखाबाट गत पुसमा जाउलाखेल सरुवा भएका हुन् ।
सहकारी प्रावधान अनुसार ४ करोड ऋण लिन दुवै ऋणीको गरी बचत ८० लाख हुनुपर्छ । तर बचत नपुगेपछि ऋणबाटै बचत ८० लाख कटाएर ३ करोड २० लाखको बैँक चेक ऋणीले लिएको ती कर्मचारीले बताए । ऋणी २ जना भए तापनि बैंक चेक दिपककुमार राउत र अध्यक्ष माधवप्रसाद दाहालको नाममा काटिएको अर्का सेयर सदस्यले जानकारी दिए । "ऋणी अरु भए तापनि छिमेकी सहकारी जनसचेतनबाट किन अध्यक्षको नाममा ६० लाखको चेक काटियो" उनले प्रश्न गरे "यसले ऋणी जो भए तापनि ऋण अध्यक्ष आफैँले प्रयोग गरेको हुन सक्छ ।"
गाउँमा सानोतिनो खनखाँचो र्टार्न ऋण लिनको लागि विभिन्न प्रक्रिया र धितो भनेर झुलाउने गरेको सदस्यहरु बताउँछन् । यति धेरै ऋण दिँदा कुनै प्रक्रिया नअपनाइएको भन्दै सदस्यहरु आक्रोशित छन् र आफ्नो बचत र शेयर फिर्ता लिनेहरुको भीड लागेको छ ।

किन लिइयो ऋण !
दुवै जनाको नाममा लिएको ऋण काठमाडौँ जिल्ला कागेश्वरी मनहरा नगरपालिका ११ गोठाटारको १६ रापनी जग्गा खरिदमा खर्च भएको बताइएको छ । ऋण लिनका लागि माघ १० गते सो जग्गा ४ करोड ५३ लाखमा बैना गरेको कागज देखाएर अध्यक्ष दाहालले भोलि जग्गा पास गरेर आफैँले तत्कालै दृष्टिबन्धक गरी धितोको रुपमा राख्ने जिम्मा लिएको सहकारी कर्मचारीहरुको दाबी छ ।

जग्गा खरिदका लागि दिपककुमार राउतले गोठाटारका शिव चापागाई र किशोर नेपालसँग बैना गरेका थिए । उनीहरुले गोठाटारमा रहेको कित्ता नं २८५, २८७, ३८०, २८, २९, २२, १४५, १४७, र ३४१ जग्गा प्रति आना ७ लाख रुपैयाँमा खरिद बिक्री गर्ने उल्लेख थियो । तर अहिलेसम्म त्यो जग्गा झन समस्यामा परेको अर्का सदस्यले बताए । जनमुखी साकोस दोलखाकै तेस्रो ठूलो सहकारी हो । जनमुखी सहकारीमा १४ हजार सेयर सदस्य र ५५ करोड कूल पुँजी रहेको छ ।

No comments:

Post a Comment