Friday, June 5, 2015

राष्ट्रपतिसँग पनि दोलखालीको उही गुनासो

दोलखा, जेठ २२/विनासकारी भूकम्पले विध्वंस मच्चाएको झण्डै ६ सातापछि शुक्रवार राष्ट्रपति रामवरण यादवले क्षति ग्रस्त दोलखाको निरीक्षणका गरेका छन् ।
निरीक्षणका क्रममा दोलखा सदरमुकाम चरिकोट आएका राष्ट्रपति यादवसँग पनि स्थानीय प्रशासन र  दलहरुका स्थानीय प्रमुखहरुले उही गुनासो गरेका छन् जुन गुनासो यसअघि प्रधानमन्त्री लगायतलाई गर्ने गरेका थिए ।
भूकम्पले गरेको क्षतिकै निरीक्षणका लागि तीनसाताअघि दोलखा आएका प्रधानमन्त्रीसँग गरेको गुनासो कार्यान्वयन नभएपछि उनीहरु राष्ट्रपतिसँग पनि त्यही गुनासो गर्न बाध्य भएका हुन् ।
दलहरुका स्थानीय प्रमुखहरु तथा स्थानीय प्रशासन प्रमुखले जिल्लाको उत्तरी क्षेत्रका केही ठाँउमा पहिरोमा पुरिएका मानिसहरुको अझै उद्धार हुन नसकेकोले त्यसको लागि विज्ञ र आधुनिक प्रविधिको व्यवस्था हुनुपर्ने, सदरमुकामको क्षत्रि्रस्त भवनको व्यवस्थापन हुनुपर्ने, खाद्यान्न भण्डारणको व्यवस्था हुनुपर्ने, अवरुद्ध सडक सञ्चालनको व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका थिए । तीन साताअघि प्रधानमन्त्रीलाई राखेको माग पूरा नभएका कारण उत्तरी क्षेत्रका सिँगटी, भोर्ले, सोरुङ लगायतका क्षेत्रमा पहिरोमा पुरिएकाहरुको अझै उत्खनन हुन सकेको छैन ।
हेलिकप्टरबाट सिन्धुपाल्चोकको चौतारा र लिस्ती गाविस पुगेर दोलखा आएका राष्ट्रपति डा यादवले स्थानीय राजनीतिक दल र कार्यालय प्रमुखहरुसँगको भेटमा  विपत्तिको यो समयमा राजनीतिक दलका नेताहरुले सरकार, सेना, प्रहरी र सशस्त्रसँग समन्वय गरेर उद्धार र राहतको काममा सहयोगी बन्नुपर्ने बताए । तर उनले दलका प्रमुख तथा स्थानीय प्रशासन प्रमुखहरुलाई कुनै आश्वासन भने दिएनन् ।
दलका नेताहरुको मागपछि राष्ट्रपति डा. यादवले सरकारले भूकम्प पीडितहरुको लागि अस्थायी आवाससँगै कम्तीमा तीन महिनाको लागि खाद्यान्नको व्यवस्था र कृषि उत्पादनको लागि बीउविजन लगायतका लागि सहयोग गर्नुपर्ने बताए । उनले सदरमुकाम चरिकोटमा समेत ७/८ तलाको घर देख्दा आर्श्चर्य लागेको उल्लेख गर्दै भवन निर्माणमा मापदण्डलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
राष्ट्रपति डाक्टर यादवसँगै आएका तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीतर्फसङ्केत गर्दै जनताको पक्षमा काम गर्न र विपत्तिको यो समयमा समन्वय गरेर अगाडि बढ्न विपक्षी दलले पनि सरकारलाई खर्बदारी गर्नुपर्ने बताए । त्यसैगरी उनीसँगै आएका सहरी विकास मन्त्री डाक्टर नारायण खड्कालाई स्थानीय मागलाई सम्बोधन गर्न अह्राए ।
दोलखा सदरमुकाम चरिकोटमा विभिन्न दलका नेता, पत्रकार तथा स्थानीय प्रशासनसँगको अन्तक्रिर्यापछि राष्ट्रपति डाक्टर यादवले भूकम्पबाट सबैभन्दा बढी क्षति भएको सिँगटीको  पनि निरीक्षण गरेका थिए ।
राष्ट्रपति डाक्टर यादवसँगको भेटमा एमाले पोलिटब्युरो सदस्य एवं सभासद् पशुपति चौलागाई, सभासद्हरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ, कांग्रेस दोलखाका सभापति ताराबहादुर कोइराला, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, एकीकृत माओवादीका नवीन लामा, राप्रपा नेपाल दोलखाका अध्यक्ष सुन्दरप्रकाश खड्का लगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment