Wednesday, June 3, 2015

उत्तरी दोलखाका अधिकांश विद्यालय खुलेनन्

दोलखा, जेठ १७/विनासकारी भूकम्पले दोलखाको उत्तरी क्षेत्रको यातायात सेवा अवरुद्ध हुँदा ती क्षेत्रका अधिकांश विद्यालयहरु खुल्न सकेनन् ।
सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा आइतवारदेखि विद्यालय सञ्चालन गर्न भने पनि यातायात र भौतिक पर्ूवाधारको अभावमा दोलखाको उत्तरी ९ गाविसका अधिकांश विद्यालय खुल्न नसकेको हो ।
जिल्ला शिक्षा कार्यालय दोलखाका सहायक जिल्ला शिक्षा अधिकारी माधव शर्माले दुर्गम लामावगर र गौरीशंकर गाविसका दुइवटा मात्रै विद्यालयहरु खुलेको पुष्टि गरेका छन् ।
उत्तरका १८ गाविसको केन्द्र सिँगटी बजार, भोर्ले र चिलंखा जाने बाटोमा पहिरोले सडक अवरोध गरेपछि त्यसउत्तरका गाविसहरुमा अझै यातायात सेवा सञ्चालन हुन सकेको छैन । यातायातको अभावमा ती क्षेत्रबाट बाहिर गएका शिक्षकहरु आफ्ना विद्यालयमा जान सकेका छैनन् । उत्तरी क्षेत्रका ३५ भन्दा बढी शिक्षकहरुले जिल्ला आइतवार जिल्ला शिक्षा कार्यालयमा हाजिर गरेका छन् । लामावगर गाविसमा पर्ने गौरीशंकर उमावि जगतका प्रधानाध्यापक कृष्णबहादुर खड्का जिल्ला शिक्षा अधिकारीसँग विद्यालयसम्म पुग्ने व्यवस्था गरिदिन आग्रह गरिरहेका थिए ।
जिल्लाका अन्य क्षेत्रका भने अधिकांश विद्यालयहरु खुलेका छन् तर विद्यार्थीहरु भने अत्यन्त न्युन उपस्थिति रहेको छ । सदरमुकाम चरिकोटस्थित कालिन्चोक उमावि विद्यार्थी उपस्थिति अत्यन्त कम रहेको सहायक प्रधानाध्यापक गणेशकुमार श्रेष्ठले बताए । उनका अनुसार माथिल्लो कक्षाका विद्यार्थीहरुको उपस्थिति केही बढी भएपनि समग्रमा १० प्रतिशत भन्दा कम विद्यार्थीहरु उपस्थित भएका थिए । आइतवार उनीहरु उपस्थित विद्यार्थीहरुलाई मनोपरामर्श दिनुका साथै अस्थायी सिकाइ केन्द्रको निर्माण गरिरहेका थिए ।
सदरमुकामकै अर्को विद्यालय पशुपति कन्या माविमा पनि विद्यार्थीहरुको संख्या न्यून नै थियो । प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले करिब १५ प्रतिशत विद्यार्थीहरु उपस्थित भएकोमा माथिल्लो कक्षाका विद्यार्थीहरु अलि बढी आएको र उनीहरुमा भूकम्पको त्रास पनि खासै नरहेको बताए । पढ्न उत्सुक भएर आएका उनीहरुलाई मनोपरामर्श दिएर पठाएको बताए । दुइतीन दिनभित्र कक्षा सुरु गर्ने योजनामा रहेको पनि उनले बताए ।
दोलखामा ३ सय ६३ विद्यालयका करिब १२ सय भवनहरु रहेकोमा ९० प्रतिशत भवनहरु पूर्ण रुपमा क्षति भएको जिल्ला शिक्षा कार्यालय दोलखाका सहायक जिल्ला  शिक्षा अधिकारी माधव शर्मा बताउँछन् । क्षति भएका विद्यालय भवनहरुमा अस्थायी कक्षाकोठा निर्माणका लागि प्लान नेपाल, युनिसेफ, रेष्टलेस, इटीसी लयागतका संस्थाहरुले सहयोग गरिरहेका छन् । प्लान नेपालले १४ गाविसमा १ सय ५० वटा अस्थायी सिकाइ केन्द्रहरु, बेलायती गैरसरकारी संस्था रेष्टलेसले विभिन्न गाविस तथा नगरपालिकामा १ सय अस्थायी सिकाइ केन्द्र बनाइदिने बताइएको छ ।
विद्यालय सञ्चालनमा आएको भए पनि करिब एक हप्ता भने मनोपरामर्श र मनोरञ्जनका कार्यक्रममात्र सञ्चालन गर्न सकिने शिक्षकहरुको भनाइ रहेको सहायक जिल्ला शिक्षा अधिकारी शर्माले बताए । जिल्लाको अधिकांश विद्यालयहरुमा पहिलो दिन शिक्षकहरुले मनोपरामर्शको लागि भुकम्पको बारेमा अनुभव आदानप्रदान गर्दै त्यसबारे जानकारी गराएका थिए । उनीहरुले विद्यार्थीहरुलाई भूकम्पबाट आँत्तिन नहुने तर सचेत रहनु पर्ने सल्लाह दिएका थिए ।
सरकारको निर्णय अनुसार आइतवारबाट विद्यालय सञ्चालन गरिएको र विद्यार्थीहरु समेत पर्ढाईको लागि मानसिक रुपमा तयार रहेको भए पनि भवनको समस्या भने पढाइको लागि अवरोध बन्न सक्ने शिक्षकहरु बताउँछन् । 'जिल्लाको १२ सय विद्यालय भवन क्षत्रि्रस्त छन्, सरकारको सहयोग बिना नयाँ भवन निर्माण सम्भव छैन, यस्तो अवस्थामा त्रिपालमा राखेर लामो समय कक्षा सञ्चालन गर्न नसकिने भएकोले समस्या हुन सक्छ', कुटीडाँडा उमाविका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठले बताउँछन् । उनी सरकारको सहयोग र विद्यालय व्यवस्थापन समितिको पहलमा तत्काल क्षति ग्रस्त भवनहरुको पूनर्निर्माणमा अग्रसरता देखाउनुपर्ने बताउँछन् ।

No comments:

Post a Comment