Wednesday, June 3, 2015

तेस्रो भूकम्पपछिको सुनसान सिँगटी :

विनासकारी भूकम्पले सिँगटी भग्नावशेषमा परिणत भएपछि 
शवको सनाखत गर्ने मानिस पनि छैनन् 
दोलखा, २ जेठ/कुनै बेला ठुलै चहलपहल हुने गरेको दोलखाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिँगटी बजार यतिबेला निर्जन मात्रै बनेको छैन, उद्धार टोलीले खनेर निकालेको शव बुझने मानिस समेत छैनन्
उत्तरका १८ गाविसको केन्द्र सिँगटी बजारका घरहरु भत्किएर र पहिरो आएर कैयौँ मानिसलाई पुरेको छ
भने बँचेका मानिसहरु ज्यान जोगाउन यत्रतत्र भागेका छन् । यसरी सुनसान भएको सिँगटीबजारमा भूकम्पबाट मृत्युभएका मानिसको शव पहिचान गरेर बुझ्ने मानिस समेत नभएको उद्धार टोलीले बताएको छ ।
सिँगटीको बसपार्क क्षेत्रमा भूकम्पबाट पहिरो गई धेरै मानिस पुरिएको आशंका गरिएको भए पनि त्यसको यकिन तथ्यांक नभएको र शनिवार पहिरोबाट निकालिएको दुइ जनाको शव पहिचान गरी बुझ्ने मानिस समेत नभएको उद्धारमा खटिएका बर्दबहादुर गण चरिकोटका गणपति विश्वासविक्रम शाहले जानकारी दिए । सिँगटीको स्थलगत भ्रमणमा पुगेका संघीय समाजवादी पार्टी दोलखाका सचिव सोनाम शेर्पाले सिँगटी बजारमा भूकम्पले पहिरो गई मृत्यु भएकाहरुको शबलाई कुकुर र श्यालले लाने अवस्था रहेको बताए । बैशाख २९ गतेको शक्तिशाली भूकम्पमा परी सिँगटी र आसपास क्षेत्रमामात्र एक सय भन्दा बढीको मृत्यु भएको आशंका स्थानीयले गरेका छन् । भूकम्पपछि सिँगटी बसपार्क, भोर्ले र लादुकको सडकमा खसेको पहिरोबाट शुक्रवार र शनिवारमात्र  १० वटा शव नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको उद्धार टोलीले निकालेको जनाएको छ । शनिवार भोर्लेको पहिरोमा परेकाहरुको उद्धारमा पुगेको नेपाली सेनाको टोली समेत फसेको र मुश्किलले उनीहरुको उद्धार गरिएको गणपति शाहले बताए ।
बैशाख २९ गतेको तेस्रो शक्तिशाली भूकम्पमा सिँगटीबाट राहत लिएर फर्किएका चिलंखा गाविसका धेरै मानिसहरु पहिरोमा परेको आशंका गरिएको छ । राहत लिएर ट्रकमा फर्किएका दुइसय बढी मानिसहरु मध्ये २१ जना घर फर्किएका, १३ जनाको घाइते अवस्थामा उद्धार गरिएको र अरु अहिले पनि हर्राईरहेको संघीय समाजवादी पार्टर्ीी सचिव सोनाम शेर्पाले बताए । सिँगटी इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जीवन तमाङले चिलंखा गाविसका ६ जना हराइरहेको उजुरी परेको बताएका छन् । सिँगटीमा अहिले दुर्गन्ध फैलिएको र त्यसले अर्को महामारी निम्तिन सक्ने विपद् व्यवस्थापन गण सुन्दरीजलका सहसेनानी खड्गसिंह साउदले बताए । तेस्रो शक्तिशाली भूकम्पबाट अहिलेसम्म ८५ जनाको मृत्यु भैसकेको र त्यसमा आधाभन्दा बढी उत्तरी क्षेत्रको रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
संसदीय अनुगमन टोलीको भ्रमण
संसदीय अनुगमन टोलीले शुक्रवार र शनिवार भूकम्पबाट प्रभावित दोलखा जिल्लाको स्थलगत भ्रमण गरेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा आएको संसदीय अनुगमन टोलीले दोलखाको जिरी, मैनापोखरी, नाम्दु, भीमेश्वर नगरपालिका लगायतका क्षेत्रको सडक मार्गबाट गएर अनुगमन गरेको थियो । टोलीले हेलिकप्टरबाट सिँगटी लगायत उत्तरी क्षेत्रको अनुगमन गरेको थियो । संसदीय टोलीलाई दोलखाका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले उद्धार कार्यलाई व्यवस्थित गर्नुपर्ने, भूकम्प पीडितहरुलाई तत्कालको लागि अस्थाई आवास निर्माणमा सहयोग गर्नुपर्ने, दीर्घकालीन योजना निर्माण गर्नुपर्ने, दोलखाको भूगोल बस्न उपयुक्त भए नभएको बैज्ञानिक अनुगमन गरी आवश्यक परे वस्ती नै अन्यत्र सार्नुपर्ने सुझाव दिएका थिए । दोलखा सदरमुकाम चरिकोट लगायतका घरहरु ऋणबाट निर्माण तथा व्यवसाय सञ्चालन गरेकाहरुको लागि विशेष व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका थिए ।
दोलखाको स्थलगत भ्रमणपछि पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिलेको विपत्तिको बेलामा राजनीतिक दलहरु पक्ष विपक्षमा बिभाजित नभै सिंगो राष्ट्र एक भएर लाग्नुपर्ने बताए । उनले संसदमा पारित संकल्प प्रस्तावलाई कार्यान्वयन गर्न सबै दलहरु प्रतिवद्ध हुँदै एकतावद्ध ढंगले लाग्नुपर्ने समेत बताए । दोलखाको भ्रमणपछि पूर्व प्रधानमन्त्री खनालले दोलखाको सतप्रतिशत घरहरु क्षत्रि्रस्त भएको उल्लेख गर्दै अब नयाँ ढंगले घर तथा बस्ती निर्माण गर्नुपर्ने र त्यसको लागि सहयोग गर्न सरकारलाई आग्रह गरिने बताए । उनले नेपाल सधैँ भूकम्पीय जोखिममा रहेकोले सुरक्षित वस्ती निर्माणको लागि दीर्घकालीन योजना बनाउनुपर्ने समेत उल्लेख गरे । सो अवसरमा सभासद्हरु सुरेन्द्र पाण्डे, डा चन्द्रमोहन यादव, पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, अईन्द्रसुन्दर नेम्वाङ लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment