Monday, June 1, 2015

१० दिनपछि ३ को शव निकालियो

अमेरिकी स्काइ भ्यान ओस्प्रेले राहत सामग्री झार्दै ।
दोलखा, बैशाख २१ । महाभुकम्पका कारण आएको पहिरोमा परेका उद्धार हुन नसकेका ५ जना मध्ये ३ को शव १० दिनपछि निकालिएको छ । लामाबगर-२ को भोटेकोसी नदी पहिरोमा परेका मध्ये नेपाली सेनाले निकालेको शवहरुमा विराटनगरका युवराज बस्नेत, काभ्रपलाञ्चोकका विनोद पौडेल र दोलखा बजारका शान्तकृष्ण जोशी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी अजय केसीले जानकारी दिए ।

घटनास्थल माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थलभन्दा करिब ५ सय मिटर माथि मात्रै भए पनि निरन्तर पहिरो बगिरहेकाले त्यस क्षेत्रबाट उद्धार हुन सकेको थिएन । सोही टोलीका हराएका मध्ये लामाबगरका पेमानुर्बु शेर्पा र सोही ठाउँका भरिया राम तमाङको भने सर्म्पर्क हुन नसकेको बर्द्धबहादुर गण चरिकोटका प्रमुख सेनानी विश्वासबिक्रम राणाले जानकारी दिए ।
नभेटिएका २ जना पहिरोमै परेको हुन सक्ने सेनाले आशंका गरेको छ । नदीको दुवैतिरको भिरबाट पटकपटक पहिरो आइरहेकाले पहिरोमा आएका ठूला ढुङ्गा फुटाएर खोजी गर्न समस्या परेको छ ।
यसैबीच सोमबार गएको भूकम्पमा परी लादुक ६ का ७६ वर्षीय जगतबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले चिरा परेको घरबाट सामान निकाल्दै गर्दा भूकम्प आएपछि ढुंगाले लागेर तामाङको ज्यान गएको हो । उनी समेत भूकम्पबाट ज्यान गुमाउनेको संख्या दोलखामा ७० पुगेको छ ।
राहत आउने क्रम जारी
दोलखाका भूकम्प पीडितहरुको सहयोगका लागि नेपाली कांग्रेस धनुषा, रामानन्द युवा क्लव, धनुषा र विडारी युवा क्लब, धनुषाले सोमबार राहत सामग्री हस्तान्तरण गरेको छ । उनीहरुले च्युरा, भुजा, त्रिपाल, चाउचाउ, कम्बल लगायत एक ट्रक भन्दा बढी राहत सामग्री दैवी प्रकोप उद्धार समिति दोलखालाई हस्तान्तरण गरेको हो ।
त्यसैगरी अमेरिकी सरकारबाट पनि सोमबार राहत सामग्री आइपुगेको छ । अमेरिकाको विशेष यान स्काई भ्यानले सोमबार चरिकोटमा पाल, कम्बल लगायतका सामग्री झारेको हो । ठुलो मात्रामा सामान बोक्न सक्ने यो स्काइ भ्यानले मंगलबारबाट थप सामान ओसार्ने बताइएको छ । सो भ्यान चरिकोटमा बस्न सक्ने वा नकस्के जाँचका लागि आएको बताइएको छ ।
सोमबार पनि उद्धार जारी
दोलखाको लामावगरमा अलपत्र परेकाहरुको उद्धार कार्य सोमबार पनि जारी रहृयो । सोमबारमात्रै ११ जना चीनीया, एक बेलायती एक भारतीय र नेपाली गरी ९२ जनालाई उद्धार गरेको छ । तीमध्ये ७७ जना यार्सागुम्बा संकलनका लागि गएकाहरु रहेको बताइएको छ ।

No comments:

Post a Comment