Monday, June 1, 2015

दोलखामा ३४ जनाको मृत्यु, एक सय बढी घाइते

बैशाख २९ को भूकम्पमा परी घाइते भएकालाइ उद्धार गरी अस्पताल लग्दै विदेशी नागरिक

 दोलखा, २९ बैशाख/मंगलवार गएको भूकम्पमा परी दोलखामा ३४ जनाको ज्यान गएको छ भने मृतकको संख्या बढ्न सक्ने जिल्ला दैवी प्रकोप उद्धार समितिले बताएको छ ।
मंगलवार मध्यदिन गएको भूकम्पले दोलखा सदरमुकाम चरिकोटका अधिकांश पक्की भवनहरुसमेत भत्किएका कारण सदरमुकाममा मात्रै
करिब एक दर्जन मानिसहरुको ज्यान गएको हो । भूकम्पले एक सय भन्दा बढी मानिसहरु घाइते भएका छन् भने १२ गम्भीर घाइते भएका १२ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
दोलखाको पाखलती बजारमा आफ्नो घरटहरो भत्किएपछि सामान निकाल्दै स्थानीय
सदरमुकाम चरिकोटस्थित अरनिको विकास बैंक रहेको भवन ढल्दा त्यहाँ भित्र रहेका ३ जनालाई उद्धार गरिएको छ । तर उद्धारको लगत्तै पेमाडोल्मा शेर्पाको मृत्यु भएको छ । भवनभित्रै अडि्कएका बैंकका प्रबन्धक उमेश अधिकारीलाई भने मंगलवार साँझसम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सदरमुकाम चरिकोटस्थित चरिघ्याङमा रहेको होटल प्याराडाइज ढल्दा त्यसले किचेर रुकु थापा र सिर्जना थापाको मृत्यु भएको छ । होटल प्याराडाइजले अन्य केही मानिसहरुलाई किचेको हुन सक्ने आशंका गरिएको छ । त्यससँगै एक दर्जन होटलहरुको भवन पूर्ण रुपमा क्षति भएको छ भने अधिकांश होटल तथा पक्की भवनहरुमा समेत क्षति भएको छ ।
दोलखाको ऐतिहासिक दोलखा सहरमा अघिल्लो भूकम्पले चर्काएका पुराना तथा नयाँ अधिकांश भवनहरु ध्वस्त भएका छन् । दोलखा सहरमा रहेको त्रिपुरासुन्दरीको मन्दिर पूर्ण रुपमा क्षति भएको छ भने अघिल्लो भूकम्पबाट जोगिएको दोलखा भीमेश्वरको मन्दिरमा सामान्य क्षति भएको छ । दोलखा भीमेश्वरको गहनाआदि राखिने गरेको भण्डार घर पनि पूर्ण रुपमा क्षति भएको छ ।
सदरमुकाम चरिकोटबाट लामाबगर जाने बाटो भोर्लेमा भत्किएपछि यातायात अवरुद्ध भएको छ । त्यसैगरी चरिकोटबाट रामेछाप जाने सडक भीरकोटमा पहिरोले भत्किँदा यातायात अवरुद्ध भएको छ । भूकम्पका कारण ठाउँठाउँमा गएको पहिरोले थप धनजनको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
दोलखाको पाखलती बजारमा आफ्नो घरटहरो भत्किएपछि सामान निकाल्दै स्थानीय
मंगलवार साँझसम्म हेलिकप्टरमार्फ घाइतेहरुको उद्धार भैरहेकोमा रात परेका कारण गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौँ पठाउन समस्या भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।
बैशाख १२ र १३ गते गएको विनासकारी भूकम्पले दोलखामा ७८ जनाको ज्यान लिएको थियो ।

No comments:

Post a Comment