Wednesday, June 3, 2015

अस्थाई आवास निर्माणमा नेता कार्यकर्ताहरु

भूकम्पले क्षतिग्रस्त भएको विद्यालय भवन भत्काउँदै
एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र टोली
दोलखा जेठ ९/तीन पटकसम्म गएको शक्तिशाली भुकम्पले दोलखा जिल्लाका सबैजसो घरहरु क्षति भएपछि उनीहरु अहिले पालमा आश्रय लिइरहेका छन् । वर्षा लाग्दैगर्दा पालमा आश्रति उनीहरुलाई अस्थायी वास निर्माणमा विभिन्न दलका नेता कार्यकर्ताहरु सक्रिय भएका छन् ।
विनासकारी भूकम्पले क्षति ग्रस्त दोलखाका निजी घर तथा विद्यालयका कक्षाकोठा निर्माणमा उनीहरु अहिले लागिपरेका छन् । अस्थायी आवास निर्माणका साथै उनीहरुले गाउँलेहरुको
भग्नावशेषबाट सरसामान निकाल्ने काममा समेत सहयोग गरिरहेका छन् ।
एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठ भीमेश्वर नगरपालिका वडा नम्बर ५ जिलुमा रहेको र्सव मावि जिलुको भवन निर्माण अभियानमा जुटेका छन् । केही दिन दोलखा बस्ने कार्यक्रम बनाएर आएका श्रेष्ठले जिल्लाको बिभिन्न ठाँउमा रहेका भुकम्प पीडित मानिसहरुको अस्थाई आवास निर्माण लगायतको अभियानमा साथ दिने एकीकृत माओवादी दोलखाका युवा नेता विशाल खड्काले बताए । त्यसैगरी बुधवार दोलखा आएका नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द पनि अहिले भुकम्पबाट पीडित भीमेश्वर नगरपालिका वडा नम्बर ९ का वासिन्दाको अस्थाई आवास निर्माण र भत्किएका घरबाट सामानहरु निकाल्ने तथा त्यसको व्यवस्थापन गर्ने अभियानमा सक्रिय भएका नेकपा माओवादी दोलखाका नेता बन्धुबिक्रम क्षत्रीले बताए ।
नेता चन्दले भीमेश्वर नगरपालिका वडा नम्बर ९ मा अहिले दुइवटा अस्थाई आवास निर्माण गरिरहेको क्षत्रीले जानकारी दिए । पार्टीले आवश्यकता अनुसार जिल्लाको बिभिन्न ठाँउमा अभियान सञ्चालन गर्ने नेकपा माओवादी दोलखाका युवा नेता अर्जुन योगीले बताए । बैशाख २९ गतेको शक्तिशाली भुकम्पबाट सबैभन्दा बढी प्रभावित बनेको दोलखाको उत्तरी नाका सिँगटीमा नेकपा माओवादीले केही समय स्वास्थ्य शिविर समेत सञ्चालन गरेको योगीले जानकारी दिए । नेकपा एमालेले पनि सोमवारबाट दोलखाको दुबै निर्वाचन क्षेत्रमा कार्यकर्ता परिचालन गरी विशेष अभियान सञ्चालन गर्ने एमाले केन्द्रीय सदस्य एवं सभासद् पार्वत गुरुङले जनाए । दुबै निर्वाचन क्षेत्रमा गरी दुइ सय कार्यकर्ता परिचालन गरेर विशेष गरी विद्यालय भवन निर्माण, भत्किएका घरहरुको व्यवस्थापन र अस्थाई आवास निर्माणमा स्थानीय जनतालाई सहयोग गर्ने एमालेको योजना रहेको गुरुङको भनाई छ । दोलखामा महासचिव इश्वर पोखरेल, स्थाई कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्यहरु रवीन्द्र अधिकारी र पार्वत गुरुङको नेतृत्वमा अभियान अगाडि बढ्ने एमाले दोलखाले जनाएको छ । त्यसैगरी नेपाली कांग्रेसले पनि आफ्ना नेता, कार्यकर्ता तथा भातृसंगठनहरुलाई श्रम गर्नका लागि निर्देशन गरिसकेको छ । नेपाली कांग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालाले नेता कार्यकर्ताले जनताको भग्नावशेषमा परेका सामान निकाल्न तथा धराप घरहरु भत्काउन सघाउनुपर्ने बताए ।
भुकम्प लगतै उद्धार र राहतमा लागेको नेपाली सेना पनि अहिले अस्थाई आवास निर्माण र क्षति ग्रस्त भवनबाट सामान निकाल्ने अभियानमा जुटेको बर्दबहादुर गण चरिकोटका सेनानी राजन दहालले जानकारी दिए ।
पराकम्पनबाट थप एकको मृत्यु
शनिवार विहानको पराकम्पबाट दोलखा सुरी गाविस वडा नम्बर २ काप्तीका ७२ बर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गाई चराउन गएका गुरुङको पराकम्पको कारण झरेको सुख्खा पहिरोमा परी मृत्यु भएको जनाईएको छ ।

No comments:

Post a Comment