Monday, June 1, 2015

दोलखामा मर्नेको संख्या ६१ पुग्यो, अढाइ सय बढी घाइते


बैशाख २९ को भूकम्पले ढलेको अरनिको विकास बैंक रहेको भवन
दोलखा, ३० बैशाख/मंगलवार गएको भूकम्पमा परी दोलखामा ६१ जनाको ज्यान गएको छ भने अढाइ सय बढी घाइते भएका छन् ।
मंगलवार मध्यदिन गएको भूकम्पले दोलखा सदरमुकाम चरिकोटका अधिकांश पक्की भवनहरुसमेत भत्किएका कारण सदरमुकाममा मात्रै एक दर्जन बढी मानिसहरुको ज्यान गएको हो । भूकम्पले साँढे दुइ सय मानिसहरु घाइते भएका छन् भने
गम्भीर घाइते भइका एक सय बढीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
उत्तरी दुर्गम क्षेत्रहरुबाट उद्धार गरी ल्याइएका घाइतेहरु,
थप उपचारका लागि काठमाडौँ लैजाने तयारीमा
सदरमुकाम चरिकोटस्थित अरनिको विकास बैंक रहेको भवन ढल्दा त्यहाँ भित्र रहेका ३ जनाको मृत्यु भएको छ । भवन ढल्नासाथ उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएका अनिल कार्कीको उपचारको क्रममा मृत्यु भएको छ । उनी चेक साट्न बैंकमा गएका थिए । त्यसैगरी बैंकका कर्मचारी पेमाडोमा शर्ेपाको उद्धारपछि मृत्यु भएको थियो भने बैंकका प्रबन्धक उमेश अधिकारीको शव भग्नावशेषबाट बुधवार झिकिएको छ ।
सदरमुकाम चरिकोटस्थित चरिघ्याङमा रहेको होटल प्याराडाइज ढल्दा त्यसले किचेर रुकु थापा, सिर्जना थापा र रुपा तामाङको मृत्यु भएको छ भने होटलभित्र रहेकी एन्जिला पौडेललाई अझै निकाल्न सकिएको छैन । चरिकोटको चरिघ्याङ क्षेत्रका एक दर्जन होटलहरुको भवन पूर्ण रुपमा क्षति भएको छ भने अधिकांश होटल तथा पक्की भवनहरुमा समेत क्षति भएको छ ।
बुधवार मात्रै दोलखाको विकट गाउँहरुबाट हेलिकप्टरमार्फ ६४ जनाको उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । ती विकट गाउँहरुमा अझै पनि पहिरोमा पुरिएको प्रहरीले आशंका गरेका छ । उत्तरका तामाकोशी किनारमा रहेका बस्तीहरु सिँगटी, जामुने, भोर्ले, गुरुम्फी, सुरीदोभान, सोरुङ, झोरुङ, जगात, गोँगर, छोतछोत पहिरोको चपेटामा परेको राजनीतिक दलका नेताहरुले बताएका छन् । उनीहरुले ती बस्तीहरुलाई तत्काल स्थानान्तरण गर्न सरकारसमक्ष माग पनि गरेका छन् ।
दोलखाको ऐतिहासिक दोलखा सहरमा अघिल्लो भूकम्पले चर्काएका पुराना तथा नयाँ अधिकांश भवनहरु ध्वस्त भएका छन् । दोलखा सहरमा रहेको त्रिपुरासुन्दरीको मन्दिर पूर्ण रुपमा क्षति भएको छ भने अघिल्लो भूकम्पबाट जोगिएको दोलखा भीमेश्वरको मन्दिरमा सामान्य क्षति भएको छ । दोलखा भीमेश्वरको गहनाआदि राखिने गरेको भण्डार घर पनि पूर्ण रुपमा क्षति भएको छ ।
सदरमुकाम चरिकोटबाट लामाबगर जाने बाटो भोर्लेमा भत्किएपछि यातायात अवरुद्ध भएको छ । त्यसैगरी चरिकोटबाट रामेछाप जाने सडक भीरकोटमा पहिरोले भत्किँदा यातायात अवरुद्ध भएको छ । भूकम्पका कारण ठाउँठाउँमा गएको पहिरोले थप धनजनको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
मंगलवार साँझसम्म हेलिकप्टरमार्फ घाइतेहरुको उद्धार भैरहेकोमा रात परेका कारण गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौँ पठाउन समस्या भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।
अमेरिकी हेलिकप्टर हरायो 
दोलखामा मंगलवार गएको भूकम्पमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको अमेरिकी मराइन हेलिकप्टर मंगलवार साँझबाट हराएको छ । बुधवार दिनभर दोलखाका विभिन्न क्षेत्र तथा सिन्धुपाल्चोक क्षेत्रमा समेत खोजी गर्दा त्यसको पत्तो लाग्न नसकेको नेपाली सेनामा सेनानी राजन दाहालले जानकारी दिए । सर्म्पर्क बिहिन हेलिकप्टर खोजीमा बुधवार दिनभर तीनवटा हेलिकप्टर प्रयोग गरिए पनि फेला पार्न नसकिएको उनले बताए ।
दोलखामा बैंकहरुले कारोबार रोके
बैंक व्यवस्थापनको जवर्जस्तीले सदरमुकाम चरिकोटस्थित अरनिको विकास बैंक रहेको भवन ढल्दा कर्मचारी तथा ग्राहकको मृत्यु भएको विरोधमा सदरमुकामस्थित प्राइभेट बैंकहरुले कारोबार बन्द गरेका छन् । बैंक रहेको भवनलाई प्राविधिक टोलीले खतरायुक्त भनी रातो स्टिकर लगाएकोमा व्यवस्थापन जवर्जस्ती खोल्न लगाएका कारण घटना भएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै बुधवारदेखि कारोबार बन्द गरेका हुन् । घटनाको कारक अरनिको विकास बैंकका व्यवस्थापन प्रमुखलाई कारबाही हुनुपर्ने र बैंक सचालनको लागि सुरक्षित भौतिक वातावरण हुनुपर्ने आफूहरुको माग रहेको नविल बैंकका अनुप श्रेष्ठले बताए ।

No comments:

Post a Comment