Thursday, June 4, 2015

दोलखामा अझै १९ बेपत्ता, दुइ कंकालको सनाखत भएन

दोलखा, जेठ २१ । गत बैशाख २९ गतेको विनासकारी भूकम्पमा परी बेपत्ता भएका १९ जनाको अझै पत्तो लाग्न सकेको छैन भने त्यसको करिब दुइ सातापछि पहिरोबाट झिकिएका दुइ शवको सनाखत नै हुन सकेको छैन ।
बैशाख २९ को भूकम्पमा दोलखाको उत्तरी क्षेत्रको सिँगटी, सोरुङ, भोर्ले लगायतकेा क्षेत्रमा गएको सुख्खा पहिरोमा धेरै मानिसहरु पुरिएको स्थानीयले बताउँदै आए पनि जिल्ला प्रहरी कार्यालय दोलखामा १९ जना मात्रै हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तकुमार लामाले बताए ।
उजुरी परेका १९ जनाको पनि खोजी तथा उद्धार गर्न नसकिएको पनि उनले जानकारी दिए । निरीक्षक लामाले सिँगटीको पहिरोबाट झिकिएका दुइ शवको सनाखन हुन नसकेको पनि बताए । दुइ सातापछि मात्रै निकाल्न सकिएको शव कंकालमात्रै भएकोले सनाखत हुन नसकेको हो ।
भोर्ले, सोरुङखोला, झोरुङखोला आसपासका पहिरो र सिंगटी बसपार्कको पहिरोमा उनीहरु बेपत्ता भएको हुनसक्ने प्रहरी तथा सेनाको अनुमान छ । हराएकाहरुमा उत्तरी दोलखाको लामाबगर-२ का पासाङ छिरीङ गुरुङ, वडा नम्बर ३ का पेम्बानुर्बु शेर्पा, वडा नम्बर ५ का राम तामाङ, भीरकोट-९ का टंकबहादुर मगर, ओराङ-५ का पासाङ तमाङ, आलम्पु ६ का अशोक थामी छन् । त्यसैगरी लापिलाङ-५ का नेत्रकुमारी थामी, चिलंखा-६ का ओमराज भुजेल, लामिडाँडा-८ का वीरबहादुर लामा र सन्जय तमाङ, गोरखा जिल्लाका आशबहादुर गुरुङ तथा भक्तपुर जिल्लाका किरण थिमी बेपत्ता भएको प्रहरीमा उजुरी छ ।
सिंगटी आसपासको पहिरो पन्छाउन नसक्दा पहिरोमा कति पुरिएका छन् भन्ने तथ्याङ्क आउन नसकेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । मौसम प्रतिकुल र अहिले पनि माथिबाट पहिरो ताथ ढुङ्गा खसिरहेकोले पहिरो पन्छाउन नसकिएको उनले बताए । आधुनिक प्रविधि नभएकोले पनि पहिरो पन्छाउन समस्या भइरहेको बर्दबहादुर गणका गणपति विश्वासबिक्रम शाहले बताए । सेनासँग भएको प्रविधिले सकेसम्म पहिरो पन्छाउने प्रयत्न गरिएको तर पूर्ण रुपमा सफलता पाउन नसकिएको गणपति शाहको भनाइ छ ।
सोरुङ, झोरुङ आसपासको सडकमा झरेको पहिरोमा सिंगटी बजारबाट राहत लिएर र्फकदै गरेका गाउँले र एउटा मालवहाक मिनिट्र्रक समेत पुरिएको स्थानीयहरु बताउँछन् । ती पहिरामा कति मानिस पुरिएका छन् भन्ने एकिन गर्न नसकिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । भोर्लेको पहिरोमा माथिल्लो तामाकोसी आयोजनामा काम गर्ने केही मजदुरहरु परेको हुन सक्ने आशंका समेत गरिएको छ । सिंगटी बसपार्कमा गएको पहिरोमा भने उत्तरी बिभिन्न गाविसबाट सदरमुकाम चरिकोट जान बस कुरेर बसेका मानिस परेको आशंका स्थानीयले गरेका छन् ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, विपक्ष दलका नेता, विभिन्न दलका नेताहरु जिल्लाको भ्रमणको क्रममा पहिरोे पन्छाउन आधुनिक प्रविधि र केही डोजरहरु आवश्यक रहेको लिखित तथा मौखिक जानकारी गराएको भए पनि कार्यान्वयनमा आउन नसकोको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा स्थानीय राजनीतिक दलका प्रमुखहरु बताउँछन् । सरकारले केही डोजर, स्काभेटर र आधुनिक प्रविधि पठाउने हो भने ती ठाउँहरुका पहिरो पन्छाएर पुरिएकाहरुको तथ्याङ्क संकलन तथा सडक सुचालु गर्न सकिने प्रजिअ लामिछाने बताउँछन् । करिब एक साताअघि भौतिक पर्ूवाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि दोलखा भ्रमणमा आउँदा निजी क्षेत्रको भए पनि स्काभेटर आदि सामग्री लिएर पहिरो उत्खनन् गर्न आदेश दिएका थिए ।
सिँगटी र आसपासमा पहिरो गएको २४ दिन वितिसक्दा पनि पहिरो पन्छाउन नसक्दा ती क्षेत्रमा दुर्गन्ध फैलन थालेको स्थानीय बताउँछन् । पहिरो आसपासबाट दुर्गन्ध फैलिएर सिंगटी क्षेत्रमा विभिन्न रोगको प्रकोप बढ्न थालेको स्वास्थ्यकर्मीहरुले पनि बताएका छन् । तर अन्यत्रबाट हिँड्ने बाटो नभएको कारण मानिसहरु मुख छोप्दै त्यही पहिरो छिचोलेर आवतजावत गर्न बाध्य भएको उनीहरुको गुनासो छ । 

No comments:

Post a Comment