Monday, June 1, 2015

दोलखामा महाभूकम्पबाट मर्नेको संख्या ७५ पुग्यो

दोलखा, २३ बैशाख/गत शनिवार गएको महाभूकम्प र त्यसपछि गएका विभिन्न पराकम्पमा परी दोलखामा बुधवारसम्म ७५ जनाको ज्यान गएको छ ।
बुधवार विहान गएको भूकम्पमा परी विगु गाविस २ का ५६ वषर्ीय विर्खबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । गत शनिवारको महाभूकम्पले क्षति भएको आफ्नै घरमा बसेका नेपालीलाई बुधवार विहान गएको भूकम्पले ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिए ।
बुधवार नेपालीको मृत्यु भएपछि दोलखामा भूकम्पबाट मर्नेको संख्या ७५ पुगेको हो ।
महाभूकम्पले ३ सय ४ घाइते भएको र तीमध्ये १९ जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।
त्यसैगरी विनासकारी भूकम्पका कारण दोलखाको विकट लामाबगर, विगु, लप्ची, बेदिङ, लुम्नाङ, सिमीगाउँ आदि क्षेत्र र सिन्धुपाल्चोकमा समेत अलपत्र परेका ५ सय ७६ जनालाई उद्धार गरिएको छ । तीमध्ये ४ सय जना नेपाली र अमेरिकाका १३, हङकङका १, भारतीय २७, अष्ट्रेलियाली २, चीनीया १६ र अन्य ९ जना रहेका छन् ।
जिल्लाका विभिन्न ४८ गाविस र २ वटा नगरपालिकामा तेस्रो चरणसम्मको राहत सामग्री वितरण गरिसकिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । दोलखामा करिब ५६ हजार घरधुरी भएकोमा ५२ हजार घर नष्ट भएका छन् । 

No comments:

Post a Comment