Wednesday, June 3, 2015

भवन क्षति भएपछि सडकमै उपचार

सातदोबाटो चोकमा च्छोरोल्पा जनरल अस्पताल सेवा दिँदै
ट्रमा र झाडापखालाका विरामी बढे 
दोलखा, ३ जेठ/तीनपटकसम्म गएको विनासकारी भूकम्पका कारण अस्पताल र स्वास्थ्य संस्थाहरुको भवन बस्न नमिल्ने गरी क्षति भएपछि उनीहरुले सडकमै स्वास्थ्य उपचार सेवा दिँदै आएका छन् ।
सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षति भएपछि प्राङ्गणमै पाल टाँगेर स्वास्थ्य सेवा प्रदान गरिरहेकेा छ ।
भूकम्पको लगत्तै पराकम्पनको त्रास र पछि भवन क्षतिग्रस्त भएका कारण पहिलो भूकम्पदेखि नै उनीहरुले पालमा स्वास्थ्य सेवा दिइरहेका छन् । त्यसैगरी चरिकोट सातदोबाटोस्थित च्छोरोल्पा जनरल अस्पतालले सडकमै स्वास्थ्य सेवा दिइरहेको छ । सडकमा पाल टाँगेर सुत्केरी गराउनेदेखि इसीजी, एक्सरे लगायतका सेवाहरु प्रदान गरिरकेको छ ।
त्यस्तै सदरमुकामकै दोलखा सामुदायिक अस्पतालले पनि भाडामा बसेको भवन क्षति ग्रस्त भएपछि पालमा सेवा दिइरहेको छ । ऐतिहासिक दोलखा सहरसँगै रहेको गौरीशंकर जनरल अस्तपालले पनि प्राङ्गणमा र बारीको पाटामा पाल हालेर सेवा पुर्‍याइरको छ । अस्पताल भवन ठाउँठाउँमा चर्किएको र भूकम्पको धक्काहरु आइरहेकोले पालमै अपरेसनसम्मको सेवा दिइरहेको डाक्टर विनोद दंगालले बताए । विरामीहरुलाई सुत्केरी सेवा, सामान्य अपरेसन सेवा तथा मेजर अपरेसन सेवा समेत पालमै दिँदै आएको डाक्टर दंगालले बताए ।
ट्रमाका विरामी बढे
पटकपटकको भूकम्प र पराकम्पनका कारण दोलखालीहरुमा मानसिक समस्या देखिन थालेको अस्पतालहरुले जानकारी दिएका छन् । भूकम्पले घरवार र धनसम्पत्ति नष्ट भएकोले मानसिक रोगीहरुको संख्यामा बृद्धि भएको अस्पताल स्ा्रोतले बताएको छ । दोलखा सामुदायिक अस्पतालमा आएका विरामीहरुमध्ये आधाजसो ट्रमाका विरामी आउने गरेको डाक्टर निश्चल नेपालले बताए । उनले भने, 'बैशाख २९ को भूकम्पपछि ५० जनाभन्दा ट्रमाका विरामी आइसकेका छन् ।' च्छोरोल्पा जनरल अस्पतालमा ट्रमाका विरामी झनै धेरै आउने गरेका छन् । डाक्टर सुधीर राजभण्डारीका अनुसार दिनमा एक सय ५० जनासम्म विरामी आउने गरेकोमा ८० जना विरामी ट्रमाका छन् । त्यस्तै गौरीशंकर जनरल अस्पतालमा पनि झण्डै आधाजसो विरामी ट्रमाका विरामी हुने गरेको डाक्टर विनोद दंगालले बताए ।
अस्पताल आँगनमै स्वास्थ्य सेवा दिँदै गौरीशंकर जनरल अस्पताल
झाडापखालाका विरामी पनि बढे
भूकम्पको कारण दोलखा जिल्लाका सम्पूर्ण वासिन्दाको वर्साई पालमा भएकोले झाडापखाला, दम, निमोनिया, ज्वरो जस्ता रोगका विरामीको संख्यामा बृद्धि भएको बिभिन्न अस्पतालहरुमा रहेको तथ्याङकले देखाएको छ । दोलखाका अस्पतालहरुमा क्रमशः झाडापखालाका विरामी बढ्न थालेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । गौरीशंकर जनरल अस्पतालका डाक्टर विनोद दंगालले भूकम्पसँगै मानिसहरुको बास बारी, खुला चौर आदिमा खुला आकाशमुनि वा पालमा भएकोले सरसफाइको अभावका कारण झाडापखालाका विरामी बढेको बताए । खासगरी बालबालिकाहरुमा त्यस्तो समस्या देखिएको उनले बताए ।
त्यसैगरी च्छोरोल्पा जनरल अस्पताल तथा दोलखा सामुदायिक अस्पतालमा समेत झडा पखालाका विरामी बढेको सम्बद्ध डाक्टरहरुले जानकारी दिएका छन् । यसका साथै चिसोका कारण दम, खानपान नमिल्दा र न्रि्रा नपर्दा उच्च रक्तचाप, चिनी रोग, रुघाखाकी ज्वरो आदिका रोगीहरु पनि उत्तिकै बढेका छन् ।
चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले समेत भवन क्षत्रि्रस्त भएपछि पालमा विरामीको उपचार गरिरहेको डाक्टर श्रीकान्त अग्रवालले बताए । भूकम्पपछि केन्द्रमा झाडापखाला, जरो, दम, मानसिक रोगी जस्ता विरामीहरुकै संख्यामा बृद्धि भएको डाक्टर अग्रवालको भनाइ छ ।
उत्तरी क्षेत्रका शव अझै निकाल्न सकिएन
बैशाख २९ गतेको भूकम्पपछि पूर्णरुपमा क्षतिग्रस्त भएको उत्तरी दुर्गम १८ गाविसको सदरमुकाम सिँगटीमा पहिरोले पुरिएका मध्ये एक जनाको शव आइतवार निकालिएको छ । ओराङ ३ का मानवीर तामाङको शव निकालिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिए । अरु शवहरु निकाल्न कठिनाई भै रहेकोले दर्ुगन्ध फैलिएको र त्यसले विभिन्न रोगका विरामीको संख्या बढ्ने खतरा रहेको स्थानीयले बताएका छन् । सिँगटीमा ४०/४५ जना पुरिएको हुनसक्ने स्थानीयले अनुमान गरे पनि शनिवार दुइ जना र आइतवार एक जनाको मात्रै शव निकालिएको छ । त्यसैगरी सिँगटी-साङ्वा सडकमा बैशाख २९ गते दुइवटा गाडी जाँदै गरेका र पैदल यात्रा गर्दै गरेका दुइसय भन्दा बढी मानिसहरुको अझै अत्तोपत्तो छैन । पहिरो अझै चलिरहेकोले सिँगटी र सिँगटी-साङ्वा सडकमा मानिसहरुको खोजी तथा उद्धार गर्न नसकिएको प्रहरी निरीक्षक लामाले बताए ।
सिँगटीमा पुरिएका शवहरुका कारण सो क्षेत्रमा दुर्गन्ध बढ्न थालेको छ । यसले गर्दा भाइरल रोगका प्रकोप बढ्ने खतरा भएपछि जिल्ला स्वास्थ्य कार्यालय दोलखाले गौरीशङकर जनरल अस्पतालको टिमलाई सिंगटीमा स्वास्थ्य शिविर सञ्चालन गर्न पठाएको बरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्माले बताए । अहिले दोलखाको सिँगटी, कालिञ्चोक, खोपाचागु लगायतका गाविसमा स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक देखिएको र ती ठाँउहरुमा बिभिन्न संघसंस्थाहरुले शिविर सञ्चालन गर्न चाहे प्राथमिकताका साथ पठाइने शर्माले बताए । जिल्लाको आवश्यक ठाँउहरुमा जिल्ला स्वास्थ्य कार्यालयबाट समेत शिविर सञ्चालनको लागि स्वास्थ्यकर्मीहरुको टिम पठाउने शर्माको भनाइ छ । दोलखा जिल्लामा रहेको करिब ५८ हजार घर धुरीका २ लाख ८८ हजार मानिस सबै खुला चौर, बारी, र्सार्वजनिक स्थानहरुमा पालमा बसिरहेकोले समयमै सबैठाँउमा उचित उपचारको प्रवन्ध नगरिए भाइरल विरामीको संख्यामा बृद्धि भै अर्को विपत्ति आइलाग्ने सरोकारवालाहरुले सचेत गराएका छन् ।
शनिवारको पराकम्पनमा एकको मृत्यु
शनिवार साँझ आएको शक्तिशाली पराकम्पनबाट दोलखाको खोपाचागुको थामीचागुमा पहिरोमा परी २८ बर्षीय भीमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । कालिन्चोक गाविस ७ का तामाङ आफ्नो चौँरी भागेपछि त्यसलाई समाउन थामीचागु पुगेका बेला भूकम्पबाट गएको पहिरोमा परेका थिए । पहिरोले बगाएर खोलामा पुर्‍याएका उनको शव आइतवार निकालिएको प्रहरीले जनाएको छ । बैशाख २९ पछि मर्नेहरुको संख्या ८६ पुगेको छ, तर प्रहरीले ७८ जना मरेको पुष्टि गरेको छ । यसअघि वैशाख १२ र १३ को भूकम्पमा परी ७८ जनाको ज्यान गएको थियो ।






No comments:

Post a Comment