Wednesday, June 3, 2015

हप्तौँदेखि बैंक बन्द, हातमा चेक छ, चिया पिउने पैसा छैन

बैशाख २९ को भूकम्पले ढलेको अरनिको विकास बैंक
दोलखा, जेठ ४/तीनपटकसम्म गएको विनासकारी भूकम्पका कारण दोलखा सदरमुकाम चरिकोटका अधिकांश भवनहरु क्षति ग्रस्त भएपछि बजारसँगै बैंकहरु पनि बन्द भएका छन् । निजी बैंकसँगै सरकारी बैंकहरु पनि बन्द भएपछि मानिसहरु चरम आर्थिक संकटमा परेका छन् ।
गत बैशाख १२ र १३ गते गएको भूकम्पपछि जनजीवन सामान्य बन्न थालेकै बेला अर्को विनासकारी भूकम्पले दोलखा सदरमुकाम चरिकोटलाई झनै अस्तव्यस्त बनायो ।
पहिलो र दोस्रो भूकम्पबाट बचेका घरहरु ध्वस्त भए । सदरमुकामको चरिघ्याङ क्षेत्रका होटलहरु अधिकांश ढले । त्यससँगै बैंकका भवनहरु पनि ढले । बैंकिङ सेवा बन्द हुँदा अहिले मानिसहरु आर्थिक संकटमा परेका छन् ।
हिजोआज मानिसहरु हातमा चेक बोकेर हिँडिरहेका छन् । तर बैंक खुल्ने कुनै संकेत छैन । कतिपयसँग त चिया पिउने पैसा पनि छैन । सदरमुकामस्थित पशुपति कन्या मन्दिर माविका प्राचार्य गोविन्द मानन्धर हप्तौदेखि नेपाल बैंक लिमिटेडको चेक बोकेर हिँडिरहेका छन्, साट्न पाएका छैनन् । उनले भने, 'हुँदा हुँदा अव त चिया पिउने पैसा पनि छैन । चेक बोकेर हिँडेको हप्तौँ भइसक्यो ।'
उनको जस्तै आर्थिक पीडा छ शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक रत्न श्रेष्ठको पनि । अस्थायी टहरो बनाउन जस्तापातक किन्न पैसा चाहियो तर उनीसँग पैसा छैन । बल्लबल्ल एउटा साथीसँग सापट लिएर उनले जस्ता किने ।
मानिसहरुको सामान्य चहलपहल देखिए पनि चरिकोट बजार भने सुनसान छ ।
बैंक बन्द भएकाले पनि खुलेका एकादुइ पसलहरु पनि सुनसान नै छन् ।
एक लाखको चेक साट्न २ दिनमा, ३ हजार खर्च गरेर राजधानी काठमाडौँ पुगेर फर्केका त्रिवेणी विर्ल्र्डसका दिलिप खत्रीले भने, "कामदारलाई भुत्तानी दिन चरम समस्या भएकोले काठमाडौँ पुगेर चेक साटेँ ।"
जिल्लाको ४८ गाविस र जिरी नगरपालिका आसपासमा खाद्यन्न लगायत विभिन्न राहत सामग्रीहरु पुग्दा भीमेश्वर नगरक्षेत्रमा कोहीले पनि चासो नदिएकाले किनमेलकै भर पर्नुपरेको नगरवासी बताउँछन् । "बैंकमा पैसा छ, हातमा चेक कहाँ साट्ने" भीमेश्वर नगरपालिका वडा नं. १ का रामचन्द्र दुलालले दुखेसो पोखे । "भुकम्पका कारण जिल्लामा सञ्चालित नीजि र सरकारी बैंकको अवस्था अत्यन्त नाजुक भएको" जनाउँदै दैवी प्रकोप उद्धार समितिका सदस्य सचिव रेशमलाल कँडेलले भने, "पालमै भए पनि केही दिनमा बैंक सञ्चालनको चरणमा पुर्याउँछौं ।"
नेपाल बैंक लिमिटेड रहेको भवन पहिलो पटककै भूकम्पले क्षति भएपछि सँगैको घरबाट सेवा दिइरहेको थियो । बैशाख २९ को भूकम्पले सबै घरहरुमा क्षति भएपछि नेपाल बैंकको सेवा पनि अबरुद्ध भयो । पहिलो र दोस्रो विनासकारी भूकम्पपछि सामान्य बैंकिङ सेवा दिन लागेकै बेला बैशाख २९ पछि पूर्ण रुपमा बन्द भए । अघिल्लो भूकम्पले क्षति बनाएको अरनिको विकास बैंकलाई प्राविधिकले रातो स्टिकर लगायो तर व्यवस्थानले जवर्जस्ती खोल्न लगायो । बैशाख २९ को विनासकारी भूकम्पले सो बैंकलाई एउटा थुप्रोमा परिणत गरिदिएपछि त्यसले तीन जनाको ज्यान लियो । बैंक प्रबन्धक उमेश अधिकारीसमेतको ज्यान गएपछि सबै निजी बैंकका कर्मचारीहरुले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बन्द गरे । यसले गर्दा दोलखामा पछिल्लो समय पैसाको चरम अभाव देखा परेको छ । चरिकोट र आसपासको बजार आंशिक रुपमा खुल्न थाले पनि किनमेलको लागि जिल्लामा पैसाको अभाव भएपछि कारोबारसमेत घट्न थालेको छ ।
लगातार ३ सातादेखि बैंकहरु बन्द भए पछि सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, मागादेउराली, सिंगटी लगायतका बजारहरुमा किनमेलका लागि नगद अभाव हुन थालेको हो । दैनिक उपभोग्य सामान, टहरो, कटेरो निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, काँटी, वाइन्डिङ तार, पाइप लगायतका सामग्री खरिद गर्न नगद अभाव भएको नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले बताए ।

No comments:

Post a Comment