Wednesday, June 3, 2015

पालबाटै रेडियो प्रसारण, पत्रिका अझै बन्द

पालबाट प्रसारण गर्दै रेडियो भीमेश्वर
दोलखा, जेठ ८/महाभुकम्पले भवन र उपकरणमा क्षती पुर्‍याएपछि जिल्लाका सामुदायिक एफएमहरुले पालबाटै रेडियोको प्रसारण गरिरहका छन् ।
गत बैशाख १२ गतेको महाभुकम्प र २९ गतेको शक्तिशाली पराकम्पनले सदरमुकाम चरिकोटका ४ ओटै सामुदायिक रेडियोका भवनहरुमा क्षती पुगेपछि रेडियोहरुले पालबाट कठिन तरिकाले प्रसारण थालेका हुन् । जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाले
भने भुकम्पपछि प्रकाशन शुरु गर्न सकेका छैनन् ।
महाभुकम्पले क्षतीग्रस्त बनेका रेडियोका भवनहरुबाट निकालिएका उपकरण सदरमुकाम चरिकोट स्थित चरिघ्याङ क्षेत्रमा खुल्ला स्थानमा टाँगिएका पालहरुमा राखेर कामचलाउ ढंगले प्रसारण गर्नुपरेको रेडियोकर्मीहरुले बताएका छन् । महाभुकम्पले रेडियोहरुका उपकरणमा क्षती पुर्‍याएको छ । महाभुकम्प पछि दोलखालाई केन्द्रविन्दु बनाएर लगातार पराकम्पन गईरहेका कारण पालमै बसेर रेडियो चलाईरहेका रेडियोकर्मी मानसिक रुपमा त्रसित बन्ने गरेका छन् ।
पालबाट प्रसारण गर्दै रेडियो शैलुङका रेडियोकर्मी
सदरमुकाम चरिकोटमा रहेका ४ ओटा रेडियो मध्ये एकको आफ्नै भवन र ३ वटा भाडाका घरमा सचालन थिए । आफ्नै भवन रहेको हाम्रो रेडियोको घरका २ ओटा पिलर र वालहरु चर्किएका छन् । रेडियोको उपकरण र स्टुडियो भवन छेउकै पालमा सारेर सञ्चालन गरिएको छ । १२ गतेको महाभुकम्पले सामन्य क्षती पुर्‍याएको रेडियो भवन २९ गतेको शक्तीसाली पराकम्पनले क्षतीग्रस्थ बनाएपछि भवनबाट रेडियो पालमा सारिएको सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य समेत रहेका रेडियोका स्टेशन म्यानेजर लक्ष्मण खड्काले बताए । उनले बिहान ३ घण्टा, दिउसो २ र बेलुकी ३ घण्टा मात्र रेडियो चलाइरहेको जानकारी दिए ।
यस्तै जिल्लाकै पहिलो सामुदायिक रेडियो कालिञ्चोक एफ एम समेत रेडियो स्टेशन नजिकको खुल्ला स्थानमा पाल टाँगेर सचालन भइरहेको छ । "सबै रेडियोकर्मी साथीहरु पाल भित्रै बस्छौँ, त्यही खाना खान्छौ र त्यही पालबाट जनतालाई सुसूचित गरिरहेका छौँ" रेडियोका स्टेशन म्यानेजर जीवन लामाले भने । महाभुकम्पले कालिञ्चोक एफ एमका उपकरणहरुमा क्षती पुर्‍याएका कारण यो रेडियो १२ गतेको भुकम्प पछि केही दिन बन्द हुन पुगेको थियो ।   यस्तै शैलुङ एफ स्टेशन नजिक रहेको एउटा पार्टी प्यालेसको प्रांगणमा पाल टाँगेर प्रसारण भईरहेको छ । सबै रेडियोकर्मीहरु एउटै पालमुनी कष्टकर तरिकाले बसेर प्रसारण गरिरहनुपरेको स्टेशन म्यानेजर रामचन्द्र गिरीले जानकारी दिए ।
चरिघ्याङ गुम्बा नजिक रहेको रेडियो भीमेश्वर स्टेशन भवनबाट नजिक एउटा रिसोर्टको पार्किङ मैदानमा सरेर प्रसारण थालेको छ । यसमा समेत रेडियोकर्मीहरु पालमुनी बसेर काम गरिरहेका छन् । रेडियोका ब्याकप नभएका कारण बत्तीको भर पर्नु परेको र बत्ती जाँदा रेडियो सञ्चालन गर्न नसकिएको भीमेश्वर रेडियोका समाचार संयोजक लालकुमार मोक्तानले बताए । एकोर्‍याबका केन्द्रिय सदस्य खड्काले जिल्लाका सबै रेडियोहरुका स्टुडियो र उपकरणहरुमा क्षती पुगेको बताए ।
यस्तै महाभुकम्प पछि जिल्लाका कुनै पनि पत्रपत्रिकाहरु प्रकाशनमा आउन सकेका छैनन् । कार्यालय रहेको भवनमा क्षती पुगेको र छापाखानाहरु सचालनमा आउन नसकेका कारण पत्रपत्रिका प्रकाशन गर्न नसकिएको नवतरङ साप्ताहिकका प्रकाशक राजनबहादुर शिवाकोटीले जानकारी दिए । जिल्लामा ४ ओटा पत्रिका नियमित रुपमा प्रकाशन हुदै आएका छन् ।
जिल्लाका रेडियोहरु महाभुकम्पले बन्द गराएका कारण क्षती पुगेपछि शुक्रबार प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र पत्रकार महासंघ केन्द्रीय समितिको टोलीले जिल्लाका सञ्चारमाध्यमको स्थलगत निरीक्षण गरेको छ । रेडियोहरुको नियमित प्रसारणका लागी तत्काल जेनेरेटर उपलब्ध गराउन अध्यक्ष कार्कीले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई आग्रह गरेका छन् । शुक्रबार भुकम्पले पीडित बनेका जिल्लाका सञ्चारमाध्यम र पत्रकारहरुको अवस्था बारे जानकारी लिएपछि प्रमुख जिल्ला अधिकारी लामिछाने सगँको अन्तरक्रियामा उनले रेडियोहरुको नियमित प्रसारणका लागी पहल गर्न आग्रह गरेका हुन् । कार्की सगँको टोलीमा काउन्सील सदस्य किशोर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष खिलाबहादुर भण्डारी, कोषाध्यक्ष सूर्यमणि गौतम लगायत थिए । शुक्रबार साँझ जिल्ला आईपुगेका एमाओवादी नेता नारायण काजी श्रेष्ठले समेत कष्टकर तरिकाले प्रसारण र्भैरहेका जिल्लाका सामुदायिक रेडियोहरुको स्थलगत निरीक्षण गरेका थिए ।

No comments:

Post a Comment