Monday, June 1, 2015

पाल नपाएको भन्दै नगरपालिकामा तालाबन्दी, सबै ठाउँ राहत पुगको दावी


दोलखा, २० बैशाख/विनासकारी भूकम्पले विचल्ली बनाएको आठौँ दिन बितिसक्दा पनि पाल नपाएको भन्दै भीमश्वर नगरवासीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
नगरका हरेक वडाहरुलाई १४ वटाका दरले पाल आएकोमा बाँडफाँड गर्दा आफूहरुले नपाएको भन्दै वडा नंं १ का वासिन्दाहरुले आइतवार कार्यालयमा तालाबन्दी गरेका हुन् । भीमेश्वर नगरको वडा नं. १ का विभिन्न
टोलहरुलाई एकएकवटाका दरले पाल वितरण गर्दा नपुगेपछि आक्रोसित भएका उनीहरुले तत्काल पाल र राहतको माग गर्दै कार्यालयमा ताला लगाएका हुन् । नगरको वडा नं. १ मा ८ सय घरधुरी छन् ।
त्यसैगरी नगरको ११, १२ र १३ नं वडाहरुको लागि लगिएको पाल १३ नं वडाले कव्जा गरेको नपरपालिकाका कार्यकारी अधिकृत सञ्जयबहादुर राजलवटले बताए । भीमेश्वर नगरलाई तत्कालीन राहतका लागि ५० लाख रुपैयाँ र १८० थान पालबाहेक कुनै राहत सामग्री नआएको पनि उनले बताए । दुइ तीन दिनभित्र थप पाल आउने आश्वासन पाएको उनले बताए ।
दोलखाको धेरै गाविसहरुमा राहत तथा उद्धार कार्य भैरहे पनि कालिन्चोक गाविसमा अझै खोजी, उद्धार तथा राहत पुग्न नसेको गुनासो स्थानीयले गरेका छन् । स्थानीय डम्बरबहादुर तामाङले कालिन्चोक गाविसको वडा नं. ७ मा आफ्नो आमा र अन्य दुइजना घाइतेहरु गाउँमा रहेको र उपचार नपाएको दुःखेसो गरे । डुँडेघारी खोलाको पुल भत्किएपछि अर्को गाउँमा आवतजावत गर्न समस्या भएको उनले बताए । कालिन्चोकको तारेभिर पूरै ध्वस्त भएको, गैरागाउँको थामी बस्ती भासिएको तर राहत पुग्न नसकेको उनको गुनासो छ ।
दोलखाका सबै गाविसहरुमा आइतवारसम्म पहिलो चरणको राहत सामग्री पुर्‍याएको दावी जिल्ला दैवी प्रकोप उद्धार समितिले गरेको छ । पछिल्लोपटक चिलंखा र खोपाचागुमा राहत सामग्री पुर्‍याएपछि जिल्लाको सबै गाविसमा राहत पुगेको सुचना समन्वय उपसमितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए ।
प्रलहकारी भूकम्पबाट पीडित भएका दोलखावासीहरुको लागि विभिन्न संस्थाहरुले राहत सहयोग गर्ने क्रम जारी रहेको छ । आइतवार दोलखा उद्योग वाणिज्य संघ, नेपाल सिआरएस कम्पनी, नेशनल ट्रेडिङ, प्लान नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, इन्टरनेशनल एयरपोर्टले राहत सामग्री उपलव्ध गराएका जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।
नेपाली सेनाको हेलिकप्टरले आइतवार पनि खोजी तथा उद्धारकार्य जारी राखेको छ । आइतवार एक भारतीय नागरिक सहित १४ जनालाई दोलखाको लामाबगरबाट उद्धार गरेको छ । यो संख्यासहित उद्धार गरिएकाहरुको संख्या ५ सय ४२ पुगेको छ । मृतकको संख्या ६४ रहेको पनि समितिले जनाएको छ । 

No comments:

Post a Comment