Monday, June 1, 2015

दोलखामा तेस्रो भूकम्पबाट मर्नेको संख्या ७६ पुग्यो

होटल प्याराडाइज भत्किएर पुरिएकी १९ वर्षकी एन्जिला पौडेलको शव निकाल्नै नेपाली सेना
दोलखा, बैशाख ३१/बैशाख २९ गते तेस्रो पटक गएको विनासकारी भूकम्पबाट मर्नेको संख्या ७६ पुगेको छ भने तीनसय बढी घाइते भएका छन् । तर प्रहरीले ५६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
दोलखाको उत्तरी क्षेत्रको सिँगटीबाट साङवा जाने बाटोमा पहिरोमा बस र ट्रक परेको र सिँगटी बजारलाई समेत पहिरोले पुरेका कारण मृतकको
संख्या बढ्नसक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । सिँगटीदेखि लामाबगरसम्मको तामाकोशी किनारको बाटो बस्तीहरुमा समेत पहिरोले क्षति पुर्‍याएका कारण पनि मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
सदरमुकामस्थित प्याराडाइज होटलबाट बिहिवार दिउँसो नेपाली सेनाको विपद व्यवस्थापन गण सुन्दरीजलको टोलीले दुइवटा शव निकालेको छ । सहसेनानी खड्गसिंह साउदको कमाण्डमा आएको टोलीले १९ वर्षीया एन्जिला पौडेल र भीमेश्वर ४ की रेणु तामाङको शव निकालेको हो ।
दोलखाको उत्तरी क्षेत्र लगायत जिल्लाका विभिन्न गाउँहरुबाट बिहिवार पनि हेलिकप्टरबाट उद्धार जारी रहेको छ । विहिवार मात्रै हेलिकप्टरले एक सय ६५ जनाको उद्धार गरी सदरमुकाम चरिकोटमा ल्याएको छ । त्यसैगरी तेस्रो पटक गएको भूकम्पबाट दुइ सय ६५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ४० जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको नेपालः सेनाका सेनानी राजन दाहालले जानकारी दिए । बिहिवार नै प्रधानमन्त्री आएको हेलिकप्टरले चंखु गाविस ६ का ८० वर्षीय सार्की कामी र उनकी श्रीमती ७६ वर्षकी मनमाया कामीलाई थप उपचारका लागि काठमाडौँ लगेको छ । प्रधानमन्त्री कोइरालाले दोलखा सदरमुकाम चरिकोटको अवलोकन र पत्रकार भेटघाट गरुन्जेल सो हेलिकप्टरले तिनीहरुको उद्धार गरेको हो ।
भूकम्पपछि अवरुद्ध भएको दोलखाको विद्युत् सेवा सञ्चालनमा आउन सकेको छैन । टेलिकमको मुडेस्थित रिपिटरमा आगलागी भएका कारण सञ्चारसेवा पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सडक यातायात सेवा समेत ठाउँठाउँमा अवरुद्ध भएका कारण खोजी तथा उद्धार कार्यमा समस्या भएको प्रहरी नायव उपरीक्षक अजय केसीले जानकारी दिए ।
हेलीकप्टर अझै भेटिएन
बैशाख २९ गतेको भुकम्प पछि उद्धारको लागि दोलखा आएको अमेरीकी हेलीकप्टर २९ गते बेलुका देखिनै सर्म्पर्क विहिन बनेकोमा अझैसम्म फेला नपरेको स्थानिय प्रशासनले जनाएको छ । हेलीकप्टर हुन सक्ने सम्भाव्य ठाँउहरुमा सय बढी सेना र हेलिकप्टरबाटै खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ । हराएको हेलिकप्टरको खोजीका लागि दैनिक तीनवटा हेलिकप्टरहरु परिचालन हुँदैआएका छन् ।
 

No comments:

Post a Comment