Monday, June 1, 2015

दोलखाका अधिकांश विद्यालय ध्वस्त, आपतकालीन शिक्षा योजना


दोलखा सहर स्थित राजकुलेश्वर निमाविको क्षति ग्रस्त भवन ।
दोलखा, २२ बैशाख/विनासकारी भूकम्पले दोलखाका अधिकांश विद्यालयहरुको भौतिक संरचना ध्वस्त बनाएपछि ५७ हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको छ । उनीहरुको पढाइलाई व्यवस्थित गर्न जिल्ला शिक्षा कार्यालयले आपतकालीन शिक्षाको योजना अघि सारेको छ ।
दोलखा जिल्लाका ग्रामीण भेगका ९० प्रतिशत विद्यालय भवनका साथै त्यहाँ रहेका शौचालय, खानेपानी लगायतका सुविधाहरु नष्ट भएको प्रारम्भिक अनुमान जिल्ला शिक्षा कार्यालयले
गरेको छ । शहरी क्षेत्रका पक्की भवनहरुसमेत प्राय नष्ट भएका छन् । दोलखा सदरमुकाम चरिकोटस्थित भारतीय सरकारको सहयोगमा निर्मित कालिन्चोक उमाविको पक्की भवनमा समेत क्षति पुगेको छ । जिरी उमावि जिरीको नयाँ पक्की भवन भत्किएपछि पठनपाठनमा समस्या परेको छ । दोलखा सहरस्थित भीम उमाविमा भवनमा क्षति पुगेको छ भने राजकुलेश्वर निमाविको भवन काम नलाग्ने भएको छ । यो अवस्था जिल्लाका सबैजसो विद्यालयको हो ।
यस्तो अवस्थामा बालबालिकाहरुको पढाइलाई व्यवस्थित गर्न दोलखा जिल्ला शिक्षा कार्यालयले आपतकालीन शिक्षा कार्ययोजना अघि सारेको हो । यसका लागि पठनपाठन कार्यलाई निरन्तरता दिनका लागि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने कार्ययोजना बनाएको छ ।
अस्थायी सिकाइ केन्द्रको निर्माणका लागि जिल्लामा खर्च नभइ बसेको बजेटलाई रकमान्नर गरी त्यस्ता केन्द्रहरु निर्माणको पहल गर्ने योजना जिल्ला शिक्षा कार्यालयको छ । त्यसैगरी सञ्चालन हुन बाँकी रहेका कार्याक्रमहरुलाई पनि आपतकालमा शिक्षा कार्यक्रमसँग आवद्ध गर्ने कार्ययोजना रहेको छ । आपतकालमा शिक्षा कार्यक्रमका लागि अस्थायी कक्षाकोठा निर्माण गर्न युनिसेफ तथा अन्य गैरसरकारी संस्थाहरुलाई प्रस्ताव गरिने जिल्ला शिक्षा कार्यालय दोलखाका सहायक जिल्ला शिक्षा अधिकारीले बताए । कार्ययोजनामा अस्थायी सिकाइ केन्द्रका लागि प्रति कक्षाकोठा ५० हजार लागत प्रस्ताव गरेको छ ।
दोलखामा सामुदायिक तर्फ३ सय ३ बालविकास केन्द्र, २ सय ५३ प्राथमिक विद्यालय, ९४ निम्न माध्यमिक विद्यालय, ४९ माध्यमिक विद्यालय, ४२ उच्च माध्यमिक विद्यालय रहेका छन् । त्यसैगरी संस्थागत ३७ प्रावि, १८ निमावि, ८ मावि, १ उमावि छन् । यसका साथै प्राविधिक शिक्षालय एउटा, क्याम्पस ११ वटा, ९ वटा धार्मिक विद्यालय र ३ वटा गृहिणी विद्यालय छन् । क्याम्पस तथा गृहिणी विद्यालय समेत सामुदायिक विद्यालयमा रहेकोले त्यस्ता विद्यालयका विद्यार्थीहरुको पढाइ समेत प्रभावित भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गरी ५७ हजार ३ सय ९४ विद्यार्थीहरु यस शैक्षिक वर्षभर्ना भएको जिल्ला शिक्ष कार्यालय दोलखाले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयको कार्यालय भवन महाभूकम्पका कारण नष्ट भएपनि एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षणमा समेत समस्या भएको छ । अहिले जिल्ला शिक्षा कार्यालयले कार्यालय भवनभित्र परीक्षण सम्भव नभएपछि त्रिपालको व्यवस्था गरी उत्तरपुस्तिका परीक्षण गराइरहेको छ ।


तस्विरः शम्भु गौतम
क्याप्सनः दोलखा सहर स्थित राजकुलेश्वर निमाविको क्षति ग्रस्त भवन ।

No comments:

Post a Comment