Wednesday, June 3, 2015

दोलखामा भूकम्पपछि पहिरोको त्रास

पहिरोको जोखिममा रहेको सिँगटीमा झरेको सुख्खा पहिरो
दोलखा, जेठ १०। पटकपटकको महाभूकम्पले दोलखावासी घरवारबिहिन त बने नै, त्यसमाथि पनि आउँदो वर्षासँगै बाढी पहिरोको जोखिमको त्रासले समेत उनीहरुलाई सताउन थालेको छ ।
दोलखाको उत्तरी क्षेत्रका नदी किनारका वासिन्दाहरुलाई अहिले पनि सुख्खा पहिरोले सताइरहेको छ, त्यसैले पनि उनीहरु वर्षामा थप बाढी पहिरोको जोखिम हुने त्रासले उनीहरुलाई सताएको हो । उत्तरका दुर्गम १८ गाविस लगायत अन्य केही गाविसहरु समेत पहिरोको उच्च जोखिममा रहेकोले उनीहरु राति राम्रोसँग सुत्ने अवस्था नभएको बताउँछन् ।

पहिरोबाट आफ्नो सिंगो वस्ती धरासायी भएपछि आफुहरुलाई अन्यत्र सार्नुपर्ने माग लिएर सदरमुकाम चरिकोट आएका एकीकृत माओवादी लापिलाङका उज्ज्वल थामीले बस्ती माथिको पहाड भुकम्पले चिराचिरा परेकोले बस्न सकिने अवस्था नभएको बताए । लापिलाङ गाविसको वडा नम्बर ६ को गुजर्पा, तल्लो गुजर्पा, दोर्पा, थाङवरु, प्याखोर र बाँझोखेत टोलका एक सय ९३ घर धुरी पहिरोको उच्च जोखिममा रहेकोले बर्षा अघिनै उनीहरुको उचित व्यवस्थापन हुनपर्ने थामी बताउँछन् । बस्ती माथि रहेको चाइथली डाँडा चर्किएको र वस्तीको बीचमा रहेको रास्मी भीरमा धाँजा फाटेकोले वडा नम्बर ६ का सबै टोलहरु जोखिममा रहेको पूर्व सभासद् चुनबहादुर थामी बताउँछन । त्यसैगरी घ्याङसुकाठोकर गाविस वडा नम्बर ३ बाँसबोटीको ८० घर धुरी पनि पहिरोको उच्च जोखिममा रहेको स्थानीय कृष्ण कार्कीले बताए । बस्ती माथिको डाँडागाँउको भीरमा धजा फाटेकोले पनि पानी पर्ने मौसममा पहिरोको डर भएको कार्की बताउँछन् ।
सुष्पाक्षमावती गाविस वडा नम्बर १, ४ र ६ तथा भीमेश्वर नगरपालीकाको वडा नम्बर ४ र ८ को केही वस्तीसमेत भुकम्पपछि पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ४ को डाँडागाउँ तथा खड्का गाउँको करिब ३५ घर धुरी र वडा नम्बर ८ को घोक्सिलामा रहेको करिब ३५ घर धुरी पहिरोको उच्च जोखिममा रहेकोले उनीहरुलाई कता सार्ने या जोखिम न्यूनीकरणको लागि के गर्न सकिन्छ तत्काल सोच बनाउनुपर्ने भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत बताउँछन् । सुष्पा क्षमावती गाविसको वडा नम्बर १ मा रहेको बोसिम्पा, वडा नम्बर ६ को फेदी र वडा नम्बर ४ को एउटा टोलको गरी करिब ५५ घर धुरी पहिरोको उच्च जोखिममा रहेको स्थानीय पत्रकार राजन शिवाकोटीले जानकारी दिए ।
बैशाख १२, १३ र २९ गतेको शक्तिशाली भुकम्पपछि दोलखाको उत्तरी क्षेत्र क्षत विक्षत बनेको छ । उत्तरी क्षेत्रमा पर्ने धेरै गाविस पहिरोको उच्च जोखिममा परेकोले स्थानीय दैवीप्रकोप उद्धार समितिले उत्तरका लामाबगर, गौरीशङकर, ओराङ, बुलुङ, चिलंखा, कालिञ्चोक, खोपाचागु, चंखु, मार्वु, सुरी, खारे, लादुक, लामिडाँडा लगायतका गाविसका वासिन्दालाई तत्कालको लागि अन्यत्र व्यवस्थापन गर्नुपर्ने र चाँडै भूगर्भविदले माटो परीक्षण गरी बस्न हुने नहुने भनी किटान गर्नुपर्ने माग सहित गृहमन्त्रालयमा पत्राचार गरेको छ । अहिले भूगर्भविदहरुको एउटा टोलीले अहिले दोलखाका केही गाविसहरुको नमूना माटो परीक्षण गरिरहेको भएपनि त्यसको अवस्थाबारे भने जानकारी गराएको छैन । दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने माटो परीक्षणको प्रतिवेदनको आधारमा के गर्ने भन्ने निक्यौल गरिने बताउँछन् । दोलखाको नमूना माटो परीक्षणको लागि आएका खानी तथा भूगर्भविभागका भूगर्भविद दिनेश नापित आफूहरुले गरेको माटो परीक्षणको रिर्पोट सरकारलाई बुझाउने बताउँछन् । भूगर्भविदहरुको दोलखा बसाइको अवधि छोटो भएकोले उनीहरुको म्याद थप गरेर जिल्लाको सबै ठाँउको माटो परीक्षण हुनुपर्ने स्थानीय राजनीतिक दलहरुको माग रेहेको छ ।

No comments:

Post a Comment