Tuesday, December 29, 2015

प्रधानमन्त्री विरुद्ध दोलखालीः सर्न्दर्भ चलचित्र नगरी

दोलखा, पुस १४/प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाँङ्डुङे डाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी गोरखा लान लागेको भन्दै दोलखाबासी आन्दोलनमा उत्रिएका छन् ।
बुधवार दिउँसो नेपाली कांग्रेस दोलखाले चलचित्र नगरी गोरखा लैजान दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सो क्रममा कोणसभाको आयोजना गरी हरेक हिसावले उपयुक्त रहेको डाँङ्डुङे डाँडामा नै चलचित्र नगरी निर्माण गर्न दवाव पनि दिइएको छ ।


त्यसैगरी दोलखा उद्योग वाणिज्य संघ, गौरीशंकर चलचित्र समाज, दोलखा र नागरिक समाज दोलखाले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन् । संयुक्त विज्ञप्तिमा प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिई निर्धारित डाँङ्डुङे डाँडामा नै चलचित्र निर्माणको कार्य यथाशीघ्र अघि बढाउन आग्रह गरिएको छ ।
नेपाल चलचित्र विकास बोर्डले डाँङ्डुङे डाँडामा नेपालको पहिलो चलचित्र निर्माणको लागि चार वर्षेखि विभिन्न चरणको कार्यहरु गर्दैआएको छ । सामुदायिक वनको क्षेत्रमा पर्ने र चलचित्र नगरीलाई आवश्यक पर्ने करिब १५ सय रोपनी जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको छ  । चलचित्र नगरीको निर्माणको लागि सम्भाव्यता अध्ययन कार्य पूरा भैसकेको छ  । त्यसको प्रारम्भिक प्रतिवेदनसमेत सकारात्मक आएको चलचित्र नगरीका अभियन्ता मदनदास श्रेष्ठ बताउँछन् । आयोजना निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकनको कार्य समेत सम्पन्न भैसकेको छ । आर्थिक वर्ष०७१/०७२ मा सरकारले वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन कार्यका लागि २ करोड बजेट विनियोजन गरेकोमा हाल सम्म ३७ लाख खर्च भइसकेको जनाइएको छ ।
दोलखामा चलचित्र निर्माणको लागि अभियन्ता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको आयोजना विरुद्ध प्रधानमन्त्रीले बोल्दै हिँड्नु दुःखद भएको बताए । 'चार वर्षेखि सरकारले खर्च गर्दै आएको र राष्ट्रिय प्राथमिकतामा परेको आयोजना सरकारी आयोजनाबारे थाहा नपाउने कस्तो प्रधानमन्त्री हो -' उनले प्रश्न गरे ।
प्रधानमन्त्रीले दोलखाको डाँङ्डुङे डाँडामा निर्माण गर्न लागिएको चलचित्र नगरीलाई गोरखामा लैजान प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपाल चलचित्र विकास बोर्डले अनभिज्ञता प्रकट गरेको छ । बोर्डका सदस्य रुपा रानाले चलचित्र विकास बोर्ड दोलखाको डाँङ्डुङे डाँडामा नै चलचित्र नगरी निर्माणको आयोजनामै लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्रले दिएको अभिव्यक्ति र त्यस्तो आयोजनाबारे आफूलाई थाहा नभएको र बोर्डमा कुनै छलफल नभएको उनले जानकारी दिइन् । 

No comments:

Post a Comment