Wednesday, June 3, 2015

भूकम्पका कारण चरिकोटका अधिकांश घरहरु धरासायी

बैशाख २९ को भूकम्पका कारण चरिघ्याङ क्षेत्रका होटलहरु
भत्किएको र ढल्किएको अवस्थामा
दोलखा, १ जेठ/बैशाख २९ गतेको शक्तिशाली भुकम्पपछि दोलखाका ९९ प्रतिशत घरहरु क्षति भएका छन् भने सदरमुकाम चरिकोटका ९० प्रतिशत ध्वस्त भएका छन् ।
भूकम्पबाट सदरमुकाम चरिकोटका पक्कीघरहरु मध्य एक दर्जन घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने बाहिरबाट हेर्दा ठाडो देखिएका अधिकांश घरहरु पनि बस्न नहुने अवस्थामा पुगेका छन् । बैशाख २९ गते गएको तेस्रो पटकको शक्तिशाली भूकम्पपछि अहिले सदरमुकाम चरिकोट सुनसान भएको छ ।
अधिकांश सरकारी कार्यालय क्षत्रि्रस्त भएकाले ती कार्यालयहरुको नियमित काम कहिलेबाट सुरु हुने भन्ने अन्यौल देखिएको छ । सदरमुकाम चरिकोटमा घर भएका अधिकांशको अन्यत्र जमिन नभएकोले तत्काल अस्थाई आवास कहाँ बनाउने भन्ने अन्योलमा छन् सदरमुकामबासी ।
सदरमुकाम चरिकोटको मुख्य बजार क्षेत्रका अग्ला अग्ला घरहरु धरासायी रहेकोले मानिसहरु ढुक्कसँग बजारमा हिँड्न सक्ने अवस्था देखिएको छैन् । विहिवार प्रधानमन्त्री शुसील कोइराला, एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल, मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बजारको स्थलगत निरीक्षण समेत गरेका थिए । स्थानीय कांग्रेस, एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल लगायतका राजनीतिक दलका प्रतिनिधिहरुले भूकम्पले धरासायी बनाएका सदरमुकाम चरिकोटका घरहरुको तत्काल उचित व्यवस्थापन नगरिए अर्को भयावह दुर्घटना हुनसक्ने प्रधानमन्त्री लगायतको टोलीलाई जानकारी गराएको थियो । शुक्रवारको सर्वपक्ष्ीाय बैठकमा पनि दलका नेताहरुले बजारका धरासायी घरहरुको तत्काल उचित व्यवस्थापनको लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस दोलखाका सभापति ताराबहादुर कोइराला सदरमुकाम चरिकोटका अधिकांश घरहरु क्षत्रि्रस्त भएको र त्यसले थप क्षति पुग्नसक्ने भएकोले भत्किएका र चर्किएर बस्न नमिल्ने भएका घरहरुको तत्काल व्यवस्थापन हुनुपर्ने बताए ।
सदरमुकाम चरिकोटको मुख्य चोक सातदोबाटोबाट चरिघ्याङ जानेबाटो र मुख्य बजार जानेबाटोमा रहेका अधिकांश अग्ला घरहरु धरासायी भएकोले बिभिन्न काममा सदरमुकाम चरिकोट आउने मानिसहरु पनि ढुक्कले हिँड्न सकेका छैनन् । ती घरका धनी तथा भाँडामा बस्नेहरुले आफ्नो सामानहरु समेत निकाल्न सकेका छैनन ।
दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर भेटियो
बैशाख २९ गतेको भूकम्पमा परेकाहरुको उद्धारको लागि भूकम्प गएको केही समयपछि नै दोलखाको उत्तरी क्षेत्रमा उडेको अमेरीकी मराइन हेलिकप्टर चार दिनपछि शुक्रवार दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने कालिञ्चोकको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बर्दबहादुर गण चरिकोटका गणपति विश्वासबिक्रम शाहले जानकारी दिए । उक्त हेलिकप्टरमा चार अमेरिकी र दुइ नेपाली सेना सवार थिए ।
मृतकको संख्या ८१ पुग्यो
बैशाख २९ गतेको भुकम्पमा परी मृत्युहुनेको संख्या शुक्रवारसम्म ८१ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । भुकम्पमा परी तीनसय बढी घाइते भएका छन् । तेस्रो शक्तिशाली भूकम्पपछि दोलखाको उत्तरी क्षेत्र बढी प्रभावित बनेको छ । दोलखाको उत्तरी सिंगटी बजाको बसपार्क क्षेत्रमा माथिबाट पहिरो खस्दा धेरै मानिस पुरीएको आशंका गरिएको छ । उक्त पहिरोबाट केहीको शव निकालिएको स्थानीय प्रशासनले जनाएको छ । सिँगटी बजारमा दुगन्ध फैलन थालको स्थानीयले बताएका छन् । त्यसैगरी सिँगटीबाट राहत लिएर चिलंखा गाविसमा जादै गरेको दुइ मालवाहक गाडी लादुक गाविसमा पहिरोमा पुरिएको स्थानीयले बताएका छन् । दुइवटा गाडीमा गएका मानिस र सो बाटोका बटुवाहरु समेत पुरिएको उनीहरुले बताएका छन् । त्यो क्षेत्रमा निरन्तर पहिरो गैरहेकोले खोजी तथा उद्धार कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

No comments:

Post a Comment