Monday, June 1, 2015

महाभूकम्पको तीन सातापछि प्रधानमन्त्री र शीर्षनेताहरु दोलखामा

चरिकोटको चरिघ्याङस्थित भत्किएका र ढल्किएका भवनहरुको
अवलोकन गर्दै प्रधानमन्त्री सुशील कोइराला, प्रमुख प्रतिपक्षी दलका नेता
पुष्पकमल दाहाल तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका
विजयकुमार गच्छेदार लगायत
 दोलखा, ३१ बैशाख/महाभूकम्प गएको तीन सातापछि प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले महाभूकम्पले तहसनहस बनाएको दोलखाको निरीक्षण गरेका छन् ।
तेस्रो पटक विनासकारी भूकम्प गएको तीन दिनपछि बल्ल प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र वामदेव गौतम, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकका विजयकुमार गच्छेदारले भूकम्पले तहसनहस बनाएको दोलखा जिल्लाको एकसाथ अवलोकन गरेका हुन् ।

निरीक्षणका प्रधानमन्त्री कोइराला, प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र विजयकुमार गच्छेदार एउटा हेलिकप्टरमा आएका थिए भने उपप्रधानमन्त्रीद्वय अर्को हेलिकप्टरमा आएका थिए ।
निरीक्षणमा आएका उनीहरुलाई दोलखा कांग्रेस सभापति ताराबहादुर कोइराला, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, एमाओवादी दोलखाका संयोजक एवं केन्द्रीय सदस्य गंगा कार्कीले दोलखाको वस्तुस्थिति दर्शाएका थिए । उनीहरुले दोलखामा राहत वितरण प्रणाली एकद्वारबाट गरे पनि सरकारले दिने राहत पहुँचका आधारमा ल्याएर वितरण गर्दा त्यसले विवाद भएको गुनासो गरेका थिए । दोलखामा अघिल्ला दुइ भूकम्पले ९५ प्रतिशत भौतिक क्षति हुँदा पनि दोलखालाई दोस्रो स्तरमा राखी ४ लाख ५० हजार मात्रै दिने निर्णय सच्याउन उनीहरुले माग गरेका थिए । तेस्रो भूकम्पले दोलखाका शतप्रतिशत घरहरु बस्न नहुने भएको जानकारी गराए । दोलखाको १८ गाविस ओगटेको उत्तरी क्षेत्रका बासिन्दाहरु अहिले पनि पहिरोको चपेटामा परेको र आउँदो वषर्ामा ती क्षेत्रहरुमा बस्नै नहुने अवस्था भएकोले उनीहरुलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । वर्षाको बेला आउन थालेकोले एक महिनाभित्रै अस्थायी वासको व्यवस्था गर्न सरकारसँग उनीहरुले माग गरेका छन् । त्यसका लागि निशर्त २५ हजार रुपैयाँ र जस्ताको व्यवस्था गरिनुपर्ने उनीहरुका माग छ ।
प्रधानमन्त्री सुशील कोइरालाले दोलखाका नेताहरुको सुझावपछि दोलखाली जनताको खोजी, उद्धार, राहत, पुनस्थापना र पुननिर्माणमा सरकारले सकेसम्म सहयोग गर्ने बताए । उनले सबै पार्टीहरु एक भएर परिचालन हुन आग्रह समेत गरे । उनले भने, हाम्रो कुनै तयारी नभएको बेला आएको महाभूकम्पले ठुलो क्षति गरेको छ । यस्तो अवस्थामा हामी सबै एकजुट भएर लाग्नुपर्छ ।' उनले महाभूकम्पले गरेको विनासलाई चुनौती र अवसरको रुपमा लिएर वैज्ञानिक ढंगले नयाँ नेपाल निर्माणमा लाग्नुपर्ने उनको धारणा थियो । विभिन्न मित्रराष्ट्रहरुले सहयोगका कुरा गरेको प्रसंग उल्लेख गर्दै राहत सामग्री आउँदा दल नभनी प्राथमिकताका आधारमा वितरण गरिने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाओवादी अध्यक्ष दोलखाको दुःखमा हामी पनि सँगै छौ भन्ने सन्देश दिन सबै दलका शीर्ष नेताहरु सँगै आएको बताए । उनले नवनेपाल निर्माणको अभियानमा लाग्न सबैलाई आग्रह गरे ।
सोही दिन उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह
दोलखामा भूकम्पबाट भएको क्षतिको जानकारी लिँदै ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दोलखा जिल्लाको भौतिक क्षतिको आधारमा पुनमूल्यांकन गरी थप रकम उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । यसअघि दोलखालाई दोस्रो स्तरमा राखी ४ लाख ५ हजार रुपैयाँ मात्रै उपलव्ध गराउने निर्ण्र्ाासरकारले गरेको थियो । सरकारले अहिले खाजी, उद्धार र राहतको काम गरिरहेको उल्लेख गर्दै तेस्रो चरणमा पुनस्थापना र पुननिर्माणको काम थाल्ने उनले बताए । 'अस्थायी पुनर्वासका लागि स्थानीय स्तरमा उपलव्ध हुने काठपात जनताले आफैँ व्यवस्था गर्नुपर्छ', उनले भने, 'पाल, जस्तापाता लगायतका सामग्री हामी उपलव्ध गराउँछौ ।'
'विदेशी सहयोग प्रशस्तै आएको कुरा हल्ला मात्रै हो', उपप्रधानमन्त्री गौतमले भने, 'विदेशी सहयोग प्रशस्तै आएको छैन । कतिपयले त प्रधानमन्त्री राहत कोषमा रकम दिन मानेका छैनन् । अहिले सम्म जेजति गरेका छौँ हामीले आफ्नै स्रोतले गरेका छौँ ।' उनले प्रतिवद्धता गरे, 'सम्पूर्ण शक्ति लगाउँछौँ, चित्त बुझनेगरी गछौँ ।'
उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दोलखामा सबै मिलेर खोजी, उद्धार र राहतमा लागेको उदाहरणीय भएको उल्लेख गर्दै यसलाई कायम राख्नुपर्ने बताए । उनले सरकारले सक्नेजति काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै जिल्लामा आवश्यक कर्मचारीको व्यवस्था गरिदिने प्रतिवद्धता व्यवक्त गरे ।

No comments:

Post a Comment