पसिना पुछेको कपास लिन प्रयास गर्दै स्थानीय |
दोलखा भीमेश्वरको शिलामा हिजो पसिना आएपछि पसिना पुछिएको कपासको माग बढेको हो । भीमेश्वरको पसिना पुछिएको कपास साथमा राख्दा कार्य सफल हुने र लिएर हिँड्दा यात्रा सफल हुने जनविश्वासका कारण कपासको माग बढेको
स्थानीय बताउँछन् ।
हिजो दिउँसो करिब ३ बजेदेखि दर्ुइ घण्टा भीमेश्वरलाई पसिना आएपछि विधिपर्ूवक पूजाआजा गरी पसिना पुछिएको थियो । पसिना पुछेको कपास लिन स्थानीयहरु साँझसम्म कुरेका थिए भने कपास बाँड्ने क्रममा हारालुछ नै चलेको थियो ।
बेलुकादेखि नै भीमेश्वर गुठीका पदाधिकारी तथा सञ्चारकर्मीहरुलाई समेत पसिना पुछेको कपासको माग गर्दै फोन बजिरेहेको उनीहरु बताउँछन् । 'भीमेश्वरको शिलामा आएको पसिना पुछेको कपासलाई महाप्रसादको रुपमा लिइन्छ', भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार श्रेष्ठले भन्नुभयो, 'थाहा पाउने सबैले कपासको माग गरिरहेका छन्, अहिले पनि देशैभरिबाट कपासको माग गर्दै फोन आइरहेको छ ।' पसिना पुछेको कपास थोरै हुने र भाग धेरै हुने भएकोले माग अनुसार दिन नसकिएको उहाँले बताउनुभयो ।
पसिना पुछेको कपास माग्दै आज विहानभरि फोन आएको स्थानीय भरतनारायण प्रधानले बताउनुभयो । पसिना आउनु अनिष्टको संकेत मानिए पनि पसिना पुछेको कपासलाई शुभ मानिने भएकोले धेरै साथीहरुले फोन गर्दै पसिना पुछेको कपास मागेको उहाँले बताउनुभयो । सञ्चारकर्मी रमेश खतिवडा पसिना पुछेको कपास उपलव्ध गराइमाग्नेको आज विहानभरि फोन उठाउँदा हैरान भएको बताउनुहुन्छ ।
पसिना आएपछि मन्दिरका नगरा, घण्टा लगातार बजाई स्थानीयलाई जानकारी दिने र बोलाउने प्रचलन छ । तान्त्रिकले विधिपर्ूवक पूजाआजा गरी पसिना पुछ्नुपर्ने र पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने प्रचलन रहेको मूल गुठियार डम्बरबहादुर श्रेष्ठले बताउनुभयो । राष्ट्रपति कार्यालयमा पठाउनका लागि भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार श्रेष्ठले आज जिल्ला प्रशासन कार्यालयमा पसिना पुछिएको कपास र प्रसाद बुझाएको बताउनुभयो ।
यसरी राष्ट्रपति कार्यालयमा कपास र प्रसाद पठाएपछि सो कार्यालयले क्षमापूजा पठाउनुपर्ने प्रचलन छ । क्षमापूजा गर्दा मुलुक र जनतामा हुने अनिष्ट कम हुने जनविश्वास रहेको छ ।
भीमेश्वरलाई पसिना आउँदा कहिले के भयो ?
भीमेश्वरको शिलालाई पसिना आउँदा हरेक पटक मुलुकमा कुनै न कुनै ठूलो अनिष्ट भएको गुठियार श्रेष्ठको दावी छ । यसअघि पसिना आउँदा संयोग नै भए पनि कुनै न कुनै अनिष्ट भएको दलील स्थानीयहरु पेश गर्छन् ।
विसं १९९० मा - महाभूकम्प
१९९७ - चारजनालाई फाँसी
२००७ - राणाशासनको अन्त्य
२०११ - राजा त्रिभुवनको देहावसान
२०१८ - भीषण बाढीपहिरो
२०२८ - राजा महेन्द्रको देहावसान
२०३५ - जनमत संग्रह
२०४५ - भूकम्प
२०५७ माघ १ र १५ गते - दरवार हत्याकाण्ड
२०६१ - २०६२ को जनआन्दोलन र राजनीतिक परिवर्तन
२०६४ जेठ - राजतन्त्रको अन्त्य
No comments:
Post a Comment