|
।
जिल्ला प्रहरी कार्यालय दोलखाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक रानाले नेपाल प्रहरीले दण्डहीनता, अकर्मण्यता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएकोले सोही अनुसार पालना गर्न सबै प्रहरीलाई निर्देशन दिएका छन् ।
उद्घाटित भवनलाई आमनागरिकको सुरक्षाप्रतिको चाहना, स्थानीय समुदायको सदासयता तथा नागरिकप्रतिको सेवाभाव र कर्तव्यपरायणताको संयुक्त विम्बको रुपमा लिनुपर्ने धारणा महानिरीक्षक रानाले व्यक्त गरेका छन् । उनले प्रहरीलाई निर्देशन दिँदै भने, 'न्याय र मानवीय सहयोगको याचनासहित प्रहरी कार्यालयमा आउने हरेक नागरिकलाई उचित व्यवहार र सहज सेवा सहज सेवा उपलव्ध गराउन कृतसंकल्पित हुनुहोस् ।'
मुलुक अग्रगमनको दिशामा रहेको उल्लेख गर्दै महानिरीक्षक रानाले सुरक्षा आमनागरिकको आधारभूत अधिकारको विषय र विकास र सामाजिक रुपान्तरणमा यसको निकै महत्व भएको धारणा व्यक्त गरे ।
विगतको द्वन्द्वमा नेपाल प्रहरीका एक हजार ४ सय ८६ प्रहरीले वीरगति प्राप्त गरेको र ७ सय ६८ भौतिक संरचना ध्वस्त भएको सर्न्दर्भ उल्लेख गर्दै त्यतिबेला ध्वस्त भएका संरचना पुननिर्माण गर्ने क्रममा दोलखा जिल्ला प्रहरी कार्यालय पनि नया भवन निर्माण भएको जानकारी दिए । यस क्रममा शान्ति तथा पुननिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयमार्पत पहिलो चरणमा एक सय प्रहरी कार्यालय भवन निर्माण भैसकेको जानकारी दिए । त्यसैगरी दोस्रो चरणमा निर्माण हुनुपर्ने ९३ कार्यालय भवनमध्ये १६ वटाको निर्माणकार्य पूरा भैसकेको र तेस्रो चरणमा ७७ वटा कार्यालय भवनको टेण्डर भै निर्माण कार्य सुरु भएको पनि जानकारी दिए ।
महानिरीक्षक रानाले नेपालमा २ हजार १ सय १३ स्थायी, ४ सय २८ अस्थायी पोष्ट रहेको र तीमध्ये ७ सय ५७ को जग्गासमेत नभएको बताए । प्रहरी पोष्टहरुमध्ये १ हजार १ सय ८७ को कार्यालय भवन नभएको, १ हजार ३ सय १ को व्यारेक नभएको, १ हजार ३ सय १७ को मेस नभएको र १ हजार २ सय ५८ को शौचालय नभएको पनि जानकारी दिए ।
सरकारले प्रहरीको कार्यालय भवन निर्माणका जग्गा प्राप्त गर्न वाषिर्क १० करोड छुट्याउने गरेको उल्लेख गर्दै महानिरीक्षक रानाले मौजुदा माग पूरा गर्नका लागि यही क्रममा बजेट निकासा भए १ सय २५ वर्षलाग्ने र कार्यालय भवन बनिसक्न अर्को १ सय ५० वर्षलाग्ने व्यङग्य गरे ।
प्राविधिक प्रहरी नायव उपरीक्षक हरि डंगोलले नवनिर्मित भवनको लागत एक करोढ ५८ लाख २० हजार ७१ रहेको जानकारी दिए । उनका अनुसार भवन भूकम्प प्रतिरोधात्मक छ ।
जिल्ला प्रहरी कार्यालय दोलखका प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीले दोलखामा ४ वटा युनिटको आफ्नै कार्यालय भवन भएको, एउटा युनिटमा भवन निर्माणाधीन भएको र १७ वटा युनिटमा जग्गासमेत नभएको जानकारी दिए ।
कार्यक्रममा प्रहरीलाई जग्गादान दिने तीनजनालाई सम्मान गरियो । उत्कृष्ट सेवा दिने प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरी महानिरीक्षक रानाले पुरस्कार प्रदान गरेका थिए ।
उद्घाटन कार्यक्रममा जिल्ला न्यायाधीश प्रभा बस्नेत, प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली तथा पत्रकार महासंघ दोलखाका उपाध्यक्ष राजनबहादुर शिवाकोटीले शुभकामना दिएका थिए ।
No comments:
Post a Comment