माथिल्लो तामाकोसी आयोजनाको निर्माणाधिन पेनस्टक साफ्ट सुरुङ खन्दै रेजबोरिङ मेसिन |
शम्भु गौतम/दोलखा ३० / बैशाख/माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा रेजबोरिङ मेसिनबाट पेनस्टक साफ्ट सुरुङ खन्ने सुरु भएको छ । तीन महिना तातोपानी भन्सारमा रोकिएको मेसिन आएपछि शुक्रबारबाट पेनस्टक सुरुङ निर्माण सुरु भएको हो ।
रेजबोरिङ मेसिन भन्सारमा रोकिँदा माथिल्लो तामाकोसीको पेनस्टक सुरुङ निर्माणको काम ५ महिनादेखि रोकिएको थियो । पेनस्टक अडिट सुरुङ पूरा भएको लामो समय विते पनि मेसिन नहुँदा पेनस्टकको ठाडो सुरुङ निर्माणको काम रोकिएको हो ।
आयोजनाको तालिका अनुसार पेनस्टक सुरुङ निर्माणको काम दर्ुइ महिना अघि नै सुरु हुनु पर्ने थियो ।
पहिलो चरणमा २५ सेमीको ठाडो प्वाल बनाउने कार्य शुक्रबार विहानबाट सुरु भएकोमा आइतबार दिउँसोसम्म २० मिटर खनिसकेको छ । एक घण्टामा एक मिटर खन्नुपर्नेमा कामले गति लिइनसकेको आयोजनाका उप प्रबन्धक मोहनप्रसाद गौतमले बताए । एक महिनाभित्रमा पेनस्टक सुरुङको प्वाल खनिसकिने उनले बताए । सो ठाडो पेनस्टक लम्बाइ ३७२ मिटर छ ।
अन्य सुरुङ निर्माण भन्दा पेनस्टकको ठाडो सुरुङ निर्माण गर्न कठिन हुने भएकाले त्यसका लागि रेजबोरिङ मेसिन प्रयोग गर्न लागिएको हो । चीनीया कम्पनी सिनो हाइड्रो कर्पोरेसनले मेसिन झिकाएको हो । उसले पछि फिर्ता लैजाने गरी चीनबाटै मेसिन ल्याएको हो ।
मेसिनको बारेमा भन्सारसँग कुरा नमिलेपछि तातोपानी भन्सारमै रोकिएको थियोे । फिर्ता हुने गरी ल्याएको मेसिनमा पनि भन्सारले अन्य सामान जस्तै मूल्याङ्कन गरेर भन्सार शुल्क मागेपछि मेसिन रोकिएको हो । लामो समयसम्म भन्सारमा मेसिन रोकिएर आयोजनाकै काम प्रभावित हुने भएको थियो । सिनोले भन्सार वापतको रकम बैंक ग्यारेन्टी बुझाएपछि मेसिन छुटेको हो । मेसिन फिर्ता हुँदा रकम फिर्ता हुने र अन्यथा रकम जफत हुने आयोजनाका सहायक प्रबन्धक विमल गुरुङले बताए । काम सकेर फिर्ता लैजाने मेसिन अर्थ मन्त्रालयको स्वीकृति लिएर शुन्य भन्सारमा ल्याउन पाउने व्यवस्था छ ।
आयोजनाका सहायक प्रबन्धक विमल गुरुङका अनुसार ठाडो सुरुङ निर्माणलाई सहज रुपमा गर्नका लागि अहिले ल्याएको रेजबोरिङले पहिलो चरणमा २५ सेमीको पावरहाउससम्म ठाडो प्वाल पार्छ । दोस्रो चरणमा त्यसलाई डेढ मिटर ब्यासको बनाउँछ र तेस्रो चरणमा ४ दशमलव ४० मिटरको साफ्ट सुरुङ तयार गर्छ । आयोजनामा ३ सय ७२ मिटरको पेनस्टक साफ्ट र ४ सय ४० मिटरको र्सजसाफ्ट सुरुङ निर्माण गर्नुपर्छ । मेसिन भन्सारमा रोकिएर ढिला हुँदा एउटै मेसिनले दुवै साफ्ट सुरुङ निर्माण समय तालिका अनुसार पूरा गर्न कठिन हुने भएको छ । पेनस्टक सुरुङ पूरा भएपछि र्सजसाफ्टको काम सुरु हुने गुरुङले बताए । यस अघि कालिगण्डकीमा पनि यस्तै रेजबोरिङ मेसिनको प्रयोग भएको थियो ।
आयोजनाका लागि ल्याएका सवारी साधन पनि ५ महिनादेखि कलकत्ता बन्दरगाहमा रोकिएका छन् । ती सामान समेत आयोजनाका लागि सिनो हाइड्रोले नै ल्याएको हो । आयोजनाका सहायक प्रबन्धक गुरुङले दुवै भन्सारबाट सामान छुटाउनका लागि आयोजनाले निरन्तर पहल जारी राखेको बताए ।
स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको लागत ३५ अर्ब २९ करोड छ । सिभिलको काम २४ सैं घण्टा भइ रहेको छ । आयोजनाका लागि आवश्यक १६ किलोमिटर सुरुङ मध्ये हालसम्म ९ दशमलव ४ किलोमिटर पूरा भएको । आयोजनाको सिभिल निर्माणको काम ४६ प्रतिशतभन्दा बढी पूरा भएको छ ।
No comments:
Post a Comment