Thursday, April 28, 2016

सहकारीबाट विना प्रक्रियै ४ करोड ऋण लगानी

दोलखा, बैशाख/ग्रामीण जनताको खनखाँचो टार्ने र आर्थिक सामाजिक विकासको मेरुदण्ड बनेको सहकारी ठगीको माध्यम पनि बनेको खबर धेरैलाई विश्वास नलाग्न सक्छ तर दोलखाको एउटा सहकारीले विना धितो, विना प्रक्रिया ४ करोड लगानी गरेर त्यसको पुष्टि गरिदिएको छ ।
दोलखा जिल्ला काब्रे गाविसको मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले दुइ जनालाई दुइदुइ करोडको दरले ४ करोड विना धितो र विना प्रक्रिया ऋण लगानी गरेको पाइएको हो । संस्थाका अध्यक्ष र सचिव मिलेमतोमा विना प्रक्रिया ऋण लगानी भएको संस्थाका सदस्यहरुले बताएका छन् ।
ऋण लगानीको विषयमा लेखा समितिले आन्तरिक लेखा परीक्षण गर्दा उक्त तथ्य बाहिर आएको हो । बिना योजना यति ठूलो रकम एकै व्यक्तिलाई लगानी गरेपछि सहकारीका शेयरधनीहरुले चासो राखेका छन् । शेयर सदस्यहरुले लेखा समितिलाई तत्काल बिशेष साधारण सभा डाक्न दबाब दिएका छन् ।

लेखा समितिले सदस्यहरुको रायका आधारमा आफ्नो अधिकार प्रयोग गरी छानबिन गरिरहेको लेखा समितिका सचिव दिपककुमार दाहालले जानकारी दिए । सहकारीले ऋण लगानी गर्दा गरेको तमसुक अनुसार गत माघ १५ गते मिर्गे ३ का ४४ वर्षीय दिपककुमार राउतको नाममा २ करोड लगानी गरेको छ । उनलाई ऋण लगानी गर्दा मिर्गे ३ कै का खड्गबहादुर राउतको नामको ८ रोपनी जग्गा धितो राखेको छ । चलन चल्तीको मूल्य अनुसार उक्त जग्गाको मूल्य ५ लाख भन्दा बढी नहुँने स्थानीयहरु बताउँछन् ।
त्यस्तै सोही मितिमा काब्रे ४ का राधाकृष्ण दाहालको नाममा २ करोड ऋण लगानी गरेका छन् । उनको धितो केही पनि राखिएको छैन । दुवै व्यक्तिलाई ऋण लगानी गर्दा साक्षीको ऋणीहरु एकार्कालाई राखिएको छ ।
सहकारीको ऋण नीति अनुसार १० लाखसम्मको ऋण लगानी गर्दा ऋण उपसमितिले स्वीकृत गर्ने र सोभन्दा बढी ऋणको हकमा सञ्चालक समितिले निर्णय गर्ने उल्लेख छ । ऋणको धितोका रुपमा ५ लाखभन्दा बढी ऋणको लागि दृष्टिबन्धक गरिसकेपछि मात्र लगानी गर्नुपर्ने व्यवस्था छ । तर यहाँ यो कुनै पनि प्रक्रिया पूरा गरेको नदेखिएको लेखा समिति सचिव दिपककुमार दाहालले बताए ।
जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद दाहालले भने ऋण लगानी गर्दा ऋण उपसमितिले स्वीकृत गरेको बताए । ऋण लगानी गर्दा सामान्य त्रुटी भए पनि बाहिर आए जस्तो नभएको उनको दाबी छ ।  'एक जनाको धितो कमजोर भएको र अर्कोले भोलिपल्ट धितो ल्याउँछु भनेको थियो' उनले भने 'तर धितो नल्याएर अहिले धोका दिएर फसायो ।' उनले उक्त ऋण एक साताभित्र असुलउपर गरिसक्ने दाबी गरे ।
सहकारीमा माधबप्रसाद दाहाल अध्यक्ष र उनका सहोदर दाजु कृष्णप्रसाद दाहाल सचिब छन् । संस्थामा अध्यक्ष र सचिब दुवै कार्यकारी भएर मासिक तलब समेत नियमित बुझ्ने गरेका सदस्यहरुको दावी छ । ऋण उपसमितिको संयोजक समेत कृष्णप्रसाद दाहाल नै छन् । अध्यक्ष दाहाल भने कृषि विकास बैंकका कर्मचारी हुन् र दोलखा जिल्ला बचत संघका महासचिव समेत छन् ।
ऋण लगानीकै कारण सहकारी समस्यामूलक हुन थालेपछि सेयर सदस्यहरुले सरकारी निकायमा उजुरी समेत गरेका छन् । डिभिजन सहकारी कार्यालय चरिकोटमा मौखिक उजुरी आएको डिभिजन सहकारीका निमित्त अधिकृत नरहरि पोखरेलले बताए । लिखित उजुरी आएमा कानुनी प्रक्रियामा कारबाही गर्ने बताए । जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त  चौलागाईँले सम्पूर्ण अधिकार लेखा समितिमा नै भएकाले उसैले आफ्नो निर्णय गर्न सक्ने बताए ।
जनमुखी साकोस दोलखाकै तेस्रो ठूलो सहकारी हो । जनमुखीमा १४ हजार सेयर सदस्य र ५५ करोड कूल पुँजी रहेको छ ।

No comments:

Post a Comment