Sunday, May 8, 2016

'यिनका अगाडि भुइँचालोको कुरा नगरिदिनु है'


दोलखा/दोलखाको दक्षिणी गाउँ जफेको पुरानागाउँमा नरमाया महतको तीन तले घर थियो । गत बैशाख १२ गतेको भूकम्पले छिनभरमै उनको घरलाई एउटै थुप्रो बनाइदियो । त्यतिमात्रै हैन उनको परिवारका चारजना सदस्यहरुलाई समेत चुँडेर लग्यो ।
आफ्ना पति, छोराबुहारी र नातिनी गरी एकैदिन र एकछिनमै तीनवटा पुस्ता गुमाएकी ५३ वर्षी नरमाया अहिले दुइजना नाबालक नातिनातिनीमा आफ्नो भविष्य खोजेर बाँचीरहेकी छिन् । उनलाई सघाउने एउटा जवान छोरी बाहेक अरु कोही छैन ।
भुइँचालो आएको दिन उनका ७० वर्षा पति अमरबहादुर महत अलि विरामी भएकोले पिँडीको खाटमा सुतिरहेका थिए । केही दिनअघिमात्रै दिवाली मनाउन भारतबाट आएका २८ वर्षा उनका छोरा उत्तम घरभित्र कोठामा आराम गरिरहेका थिए । बुहारी दिव्या लुगा धुन लागेकी थिइन् र साबुन सकिएर लिन घरभित्र गएकी थिइन् । त्यत्तिकैमा ठुलो भुइँचालो आयो । 'सबैजना आँगनतिर भाग्यौँ ।' नरमायाले भनिन्, 'म जसोतसो आँगनमा पुगेछु, अरुलाई भाग्दैभाग्दै पिँडीमै छोपेछ ।'
तीन तले घर एकछिनमै एउटा थुप्रोमा परिणत भयो । गाउँलेहरु आएर थुप्रोमा कोट्याए तर त्यहाँभित्र परेका कसैलाई पनि जीवितै निकाल्न सकिएन । नरमायाले छिनभरमै आफ्ना पति गुमाइन् । त्यतिमात्रै होइन, उनले आफ्नो भविष्यको सहारा छोरो उत्तम र बुहारी दिव्यालाई पनि गुमाउनु पर्‍यो । विनासकारी भुइँचालोले अझ उनकी डेढ वर्षी नातिनी दीक्षालाई पनि छोडेन ।
नरमाया आफू पनि निकै घाइते भइन् । एक सातासम्म नजिकैको हिमालयन स्पिरिट एकेडेमीमा राखेर विदेशीहरुले उपचार गरे, तर निको भएन् । गाउँमा उपचार नभएपछि आफ्नै खर्चमा सदरमुकाम चरिकोटको दोलखा सामुदायिक अस्पतालमा पुर्‍याएर उपचार गरियो । त्यहाँ पनि ठिक नभएपछि आफ्नै खर्चमा काठमाडौँको वीर अस्पताल पुगिन् । त्यहाँ उनले निशुल्क उपचार पाइन् । छातीको दुइवटा हड्डी भाँचिएको रहेछ । उपचारपछि घर त ल्याइयो तर छ महिनासम्म एकै थलामा परिन् । छोरी सुनिता र आफन्तको सहयोगमा छ महिनापछि थलाबाट उठेकी उनलाई अव नातिनातिनी हुर्काउने चिन्ता छ ।
उनका ५ वर्षा नाति उज्ज्वल र ३ वर्षी नातिनी उदीक्षा छन् । कसैलै उनीहरुका अगाडि भुइँचालोको कुरा गर्‍यो भने उनीहरु रुन थाल्छन् । अनि उनलाई पनि बैशाख १२ गतेको पीडादायी दिन सम्झना आउँछ रउनी भक्कानिने गर्छिन् । त्यसैले उनीसँग कुरा गर्न पुग्ने सबैलाई नानीहरुसँगै बसेर भुइँचालोको कुरा नगर्न आग्रह गर्छिन् । यसै क्रममा उनीसँग कुरा गर्न पुगेका सञ्चारकर्मीसँग पनि गहभरि आँसु पार्दै भकानिएर सानो स्वरमा भनिन्, 'यिनीहरुको अगाडि भुइँचालोको कुरा नगरिदिनु है ।'
विनासकारी भूकम्प गएको एक वर्षबित्यो । तर नरमायालाई भूकम्पको दिन सम्झन मन छैन । 'भुइँचालो गएको दिन सम्झँदै आँतेस लागेर आउँछ, म त सोच्नै सक्दिनँ ।', नरमायाले गहभरि आँसु पार्दै भनिन्, 'टेवा दिने मान्छे नभएपछि आँतेस लाग्दोरहेछ ।' उनको छोरा उत्तम भारतमा एक्साभेटर चलाउने पेशा गर्थे । उत्तम दिवालीका लागि बैशाख ५ गते आएका थिए । उनीहरुको परिवार चलाउने सहारा उत्तमलाई भूकम्पले लगेपछि उनले जिन्दगीको बाटो देखेकी छैनन् । आँखा रसिलो पार्दै नरमायाले भनिन्, 'त्यसलाई विहान चिया खाँदा देखेको थिएँ, त्यसपछि देख्न पनि पाइँन ।'
नरमायालाई अहिले आफ्नो भन्दा पनि नातिनातिनीको भविष्यको चिन्ता छ । उनीहरुलाई हुर्काउने, बढाउने र पढाउने चिन्ताले उनलाई सताइरहन्छ । नाति उज्ज्वल र नातिनी उदीक्षा दुवैजना स्थानीय हिमालयन स्पिरिट एकेडेमीमा नर्सरीमा पढ्दैछन् । अब उनको चिन्ता छ, 'उनरुको फिस कसले तिरीदेला ।'
आयस्रोत नभएकै कारण उनीहरु जफे ६ को जामुनेमा चित्राले बेरेको सामान्य कटेरोमा एक वर्षेखि बसिरहेका छन् । 'वर्षाअघि नै अलि राम्रो कटेरो भए'नि बनाएर बस्न पाए हुन्थ्यो ।', नरमायाको चिन्ता छ, 'वर्षा लागेपछि अहिलेको कटेरो डुबिहाल्छ ।'
नरमायाको १२ कक्षा पास गरेकी छोरी छिन्, सुनिता । उनी गोगनटार प्रावि, जफेमा बालविकासतर्फकार्यरत छिन् । त्यसबाट प्राप्त ३ हजार तलबले जेनतेन घर्रखर्च चलाउने प्रयास गरिरहेकी छिन् । उनको अपेक्षा छ, 'ती नानीहरु पढाइदिने कोही भए र सानोसानो जागिर भए आमा पाल्थेँ ।'
बैशाख १२ गतेकै भूकम्पमा घरभित्रै पुरिएर बाँचेकी ८४ वर्षी विष्णुमाया पोखरेल आफूलाई अझै सन्चो भैनसकेको बताउँछिन् । छोरो बलरामले भर्खरै बनाइसकेको तीन तले घर हेर्न गएकी विष्णुमाया माथिल्लो तलामा पुगेपछि भुकम्प आएको थियो ।  काठपात ढुंगामाटोसँगै पुरिएकी उनलाई घर बनाउने कर्मीहरुले आधा घण्टा लगाएर निकाले थिए । सख्त घाइते उनी निको त भइन् तर अहिले पनि उनलाई रिङ्गटा लागिरहन्छ । उनी भन्छिन्, 'भुइँचालो गएको एक वर्षभो, अझै रिङ्गटा लागिरहन्छ, घोक्र्‍याउँछ, मुन्ट्याउँछ, थेचार्छ ।'
विष्णुमायाका एक्ला छोरा बलरामले चार लाख रुपैयाँ र ५ मुरी चामल खर्च गरेर घर बनाए तर घर भित्र पस्न नपाई भुइँचालोले एक थुप्रो बनाइदियो । घरमा पुरिएकी आमालाई बचाउन सकेकोमा नै उनी खुशी छन् । चित्राले बारेको सामान्य कटेरोमा एक वर्षबिताएका उनी सरकारले सहयोग दिए घर बनाउने सुरमा छन् ।
जफे गाउँभरिमा गत बैशाख १२, १३ र २९ गरी १३ जनाले ज्यान गुमाएका थिए  भने दोलखा जिल्लाभरिमा १ सय ७८ जनाले गुमाएका थिए ।

No comments:

Post a Comment