Thursday, December 31, 2015

फिल्म सिटी दोलखामै बनाउन स्थानीय आन्दोलित

दोलखा, पुस १६/दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा निर्माण गर्न लागिएको फिल्म सिटी प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तै लैजान लागेको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।
बिहिवार फिल्म सिटी निर्माण हुने गाविस लाकुरीडाँडा र त्यहाँका स्थानीय संस्थाहरुले विरोध र्‍यालीको आयोजना गरेका छन् । लाकुरीडाँडा गाविसभरिका मानिसहरु जम्मा भई गरेको र्‍यालीमा नेपाली कांग्रेस दोलखा र दोलखा उद्योग वाणिज्य संघले पनि ऐक्यवद्धता जनाएका थिए ।

स्थानीय बुद्ध युवा क्लब र एक्टिभ युथ क्लबले आयोजना गरेको र्‍यालीमा नेपाली कांग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालासमेतले उपस्थिति जनाएका थिए । र्‍यालीपछि आयोजित कोणसभामा नपाली कांग्रेसका सभापति कोइरालाले दोलखाको डाङडुङे डाँडामा निर्माणको तयारीको अन्तिम चरणमा पुगेको फिल्म सिटीलाई अन्तै लैजान प्रधानमन्त्री र पर्यटनमन्त्रीले षड्यन्त्र गरेको आरोप लगाए ।
दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले फिल्म सिटी निर्माणको लागि सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन र जग्गा प्राप्तिको अन्तिम चरणमा पुगिसकेको अवस्थामा वर्तमान सरकारले त्यसलाई भाँड्न खोजेको आरोप लगाए । उनले वर्तमान सरकार दोलखामा कुनै पनि आयोजना सफल हुन नदिन लागिपरेको बताए । उनले यसअघिका उद्योग मन्त्रीले खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योगलाई पनि असफल बनाएको आरोप लगाए ।
स्थानीय युवा क्लबहरुले दोलखामै फिल्म सिटीको आयोजना निर्माण हुने कुरा निश्चित नभएसम्म र प्रधानमन्त्री तथा पर्यटन मन्त्रीले आम रुपमा माफी नमागेसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । दोस्रो चरणको आन्दोलनमा जिल्ला प्रशासन कार्यालय मार्फ ज्ञापन पत्र पठाउने र तेस्रो चरणमा काठमाडौँमै आन्दोलन केन्द्रित गर्ने पनि उनीहरुले बताएका छन् ।
दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माणका अभियन्ता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सरकारको ठुलो लगानी भैसकोले निर्धारित ठाउँमा नै फिल्म सिटी बन्नुपर्ने जिकिर गरे । उनले वातावरणीय प्रभाव मूल्यांकन, सम्भाव्यता अध्ययनसमेत अन्तिम चरणमा पुगी सकारात्मक भएको अवस्थामा प्रधानमन्त्रीले अन्तै लैजाने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको बताए । फिल्म सिटीका लागि जग्गा प्राप्तिको प्रक्रियासमेत अन्तिम चरणमा पुगिसकेको छ ।

No comments:

Post a Comment