Tuesday, October 15, 2013

दोलखामा शोकका बीच खड्ग जात्रा सम्पन्न

दोलखा २९, कात्तिक/बडा दशैँको शुरुमै दोलखाबासी चढेको बस दर्ुघटनामा परी केही स्थानीयको मृत्यु र केही गम्भीर घाइते भई दोलखा बजार शोकमा डुबे पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा भने सम्पन्न भएको छ ।
फूलपातीको दिन दोलखाबासीले रिजर्भ गरेको बस दोलखाको लाकुरीडाँडामा दर्ुघटना भई चालक र स्थानीय नौ जनाको मृत्यु र ३७ जना घाइते भए पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा
यस वर्षपनि सम्पन्न भएको हो । बजारबासी शोकमा परेका कारण जात्रामा खासै उत्साह भने थिएन । स्थानीय १ सय ५४ परिवारमा घटनाले दुःख परेका कारण जात्रामा स्थानीयहरुको उपस्थिति न्यून भएको समाजसेवी स्थानीय लक्ष्मण श्रेष्ठले बताउनुभयो । उहाँले खड्ग जात्राका लागि वर्षोनी 'हिपा थामी' समूहलाई सहयोग गर्दै आउनुभएको छ ।
ऐतिहासिक दोलखा बजारमा परम्परागत रुपमा देखाइँदै आएको खड्ग जात्रा बडा दशैँको टीकाको भोलिपल्ट सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै मनाइन्छ ।  बृद्ध तथा युवाहरु दोलखा बजारको बिभिन्न टोल तथा चोकहरुमा युद्धको अभिनयसंँगै कुसुले बाजाको तालमा नाच्दै मनाइन्छ ।

मल्ल कालीन समय देखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशै टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको स्थानीय भरतनारायण प्रधानले बताउनुभयो । पहिले छुट्टै राज्यको रुपमा रहेको दोलखा बजारमा अहिले पनि धेरै परम्परागत जात्रा पर्वहरु मनाउने गरिन्छ । तर अब आर्थिक समस्यासँगै जात्रामा सहभागिता जनाउने स्थानीयको अभावको कारण केही बर्षा परम्परागत जात्रा पर्वहरु हराउँदै जाने हो कि भन्ने चिन्ता रहेको स्थानीय चरित्रकृष्ण जोशी गुनासो गर्छन् ।
किंवदन्ति अनुसार दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई बिभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्षनिकालेर युद्धको साइत जुर्राई भाद्र पूणिर्मादेखि युद्ध सुरु गरेका थिए । युद्ध सुरु हुनुअघि देवदेवीहरु पुजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि कालिञ्चोक भगवती भएको ठाँउमा गए र त्यहाँबाट आश्वासन प्राप्त गरेर फर्की दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरे ।
देवदेवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु क्रुद्ध भए र दानव तथा देव देवीको बिचमा भिषण युद्ध भयो । युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिनमा देव देवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीय बृद्धहरु बताउँछन् ।
खड्ग जात्रा मनाउन दोलखाको राजकुलेश्वर देखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर वलि राजाको मर्ूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत रहेको स्थानीय बृद्धहरुको भनाई रहेको छ । युद्धको लागि कालिञ्चोृक भगवतीसँग सहयोग माग्न देवदेवीहरु जनै पूणिर्माको अघिल्लो दिन जाने र जनै पूणिर्माको दिन त्यहीँबाट निसाना लिएर आई युद्ध सुरु गर्ने परम्परा रहेको छ । काल रात्रिको दिन भीमेश्वर मन्दिरमा चारवटा राँगाको बलि समेत दिने प्रचलन रहेको छ । भीमेश्वरमा बलि दिने चारवटा राँगा मध्य एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ महिसासुरलाई यातना दिइएको स्थानीय प्रवीण प्रधानको भनाई छ । राँगाको बलि दिनुको अर्थ भने महिषासुरको बध गरिएको प्रवीण बताउँछन् ।
दोलखाको राजकुलेश्वर मन्दिरबाट सुरु हुने खड्ग जात्रा नाच दोलखा सहरको चक्रमण्डप नर्कछे टोलको बौद्ध चैते, र्कोछे टोल, पिंगल टोलको बालकुमारी मन्दिर हुदै भीमेश्वर डोबर डबलीमा पुर्‍याइने र  त्यहाँ चार दानवको प्रतीक स्वरुप चार वटा राँगालाई सबैले खड्ग प्रहार गरी मार्ने चलन रहेको छ ।
भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालिको मन्दिर हुदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको स्थानीय बृद्धहरु बताउँछन् । बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुदै चक्रराज बलि राजाको मर्ूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिईएको राँगाको टाउको राखि राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ ।
खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुसजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी र्सव साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।

No comments:

Post a Comment