दोलखा, चैत १०/स्वेदेशी लगानीमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयरको माग गर्दै ११ दिनदेखि आन्दोलनरत मजदुरहरुसँग आज वार्ता हुने भएको छ।
आजको वार्ताका लागि संयुक्त संघर्ष समितिको वार्ता टोली र आयोजनाका अधिकारीहरु हिजो नै काठमाडौँका लागि गएका छन् । आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको
काठमाडौँस्थित कार्यालयमा आन्दोलनरत मजदुरको वार्ता टोली, आयोजनाका अधिकारी र श्रम कानुनको विशेषज्ञसहित वार्ता हुने कुराको पुष्टि आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले गरेका छन् । आयोजनाको काम बन्दबाट सिर्जित समस्या समाधानका लागि काठमाडौँमा हुने वार्तामा जानका लागि आफूहरुलाई सूचना आएपछि काठमाडौँ जाँदैगरेको जानकारी वार्ता टोलीका संयोजक सोनामदोर्जी शर्ेपाले दिएका थिए ।
आयोजनाले आफूहरुले माग गरेजति नै शेयर दिन नसके पनि कुनै न कुनै सम्बोधन हुनुपर्ने माग उनीहरुले गर्दै आएका छन् । आगामी दिनहरुमा नेपालमा जलविद्युत आयोजना निर्माण हुँदा त्यहाँ कार्यरत मजदुरहरुलाई पनि शेयर दिने कानुनी व्यवस्था स्थापित गर्न पनि आफूहरुले आान्दोलन गरेको संयुक्त संघर्ष समितिका संयोजक सोनामदोर्जी शर्ेपाले बताए ।
आयोजनामा कार्यरत मजदुरहरुले जनही ५ सय कित्ता शेयर माग गर्दै आयोजनाको हेडवर्क्स, सुरुङ र पावरहाउसको काम विगत ११ दिनदेखि ठप्प पारिरहेका थिए । यसबाट आयोजना सम्पन्न हुन ढिलाई भई आयोजनाको लागत समेत बढ्ने अनुमान गरिएको छ । ४ सय ५६ मेगावाटको आयोजनामा कार्यरत करिब ८ सय ५० मजदुरहरुले काम ठप्प पारेका हुन् । आयोजनाको लागत ३५ अर्व २९ करोड रहेको छ ।
No comments:
Post a Comment