Sunday, February 8, 2015

'झोला'बाट उठेको रकम गरिब र जेहेन्दार विद्यार्थीलाई

दोलखा /सामुदायिक विद्यालयमा अध्ययन गर्दैगरेका विद्यार्थीहरुको अध्ययन सहयोगका लागि कृष्ण धरावासीको चर्चित कथामा आधारित झोला चलचित्र दोलखा सदरमुकाम चरिकोटमा देखाइने भएको छ ।
सदरमुकाम चरिकोटस्थित अल्पाइन पव्लिक स्कुलका विद्यार्थीहरुको संस्था अल्पाइन चिल्ड्रेन्स क्लबको आयोजनामा
सदरमुकाम वरपरका छवटा विद्यालयका १२ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई अध्ययनका लागि सो सहयोग रकम प्रदान गरिनेछ ।
छात्रवृत्तिका लागि कालिन्चोक उच्च मावि, भीम उच्च मावि, पशुपति कन्या मावि, कुटीडाँडा उच्च मावि, साखिने निमावि र सेतीदेवी निमावि काउलेका दुइ दुइ जना छात्रछात्राहरु ती विद्यालयहरुको सिफारिसमा छनोट भैसकेको अल्पाइन पव्लिक स्कुलका तेञ्जिङ सिराब लामाले जानकारी दिनुभयो । ती विद्यार्थीहरुलाई विद्यालय पोषाक, झोला, स्टेशनरी लगायत अध्ययन सामग्रीहरु प्रदान गर्ने आयोजकको योजना छ ।
सदरमुकामको कालिन्चोक चलचित्र मन्दिरमा यही माघ २९, फागुन १ र २ गते सो झोला चलचित्रको प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । चलचित्र प्रदर्शनबाट उठेको रकममध्ये खर्च कटाएर ६० प्रतिशत निर्माताले लिने र ४० प्रतिशत रकम छात्रछात्राहरुको लागि खर्च गरिने आयोजकले जनाएको छ ।
बालबालिकाहरुलाई सानै उमेरदेखि समाजसेवामा लाग्न प्रेरित गर्ने र सोको माध्यमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको अवसर पनि प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । सो चलचित्रका लागि प्रतिव्यक्ति टिकटदर ५० र १०० रुपैयाँ रहेको छ ।

No comments:

Post a Comment