Tuesday, May 5, 2015

दोलखामा ५५ को मृत्यु, ९५ प्रतिशत घरमा क्षति

दोलखा, १५ बैशाख/तीन दिन अघिको महाभूकम्पमा परी दोलखाका ५५ जनाले ज्यान गुमाएका छन् भने एक सय बढी घाइते भएका छन् ।
मंगलवार दिउँसोसम्म ५५ जनाको शव फेला परेको भनिए पनि मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ । सबैभन्दा बढी जफे गाविसमा ११ जनाको ज्यान गएको छ भने भीमेश्वर नगरपालिकामा ९ जनाको ज्यान लिएको छ । दोलखाको उत्तरी क्षेत्रको लामाबगर क्षेत्रमा करिब ७ सय जना अलपत्र परेकाहरुको उद्धार हुन सकेको छैन ।

त्यसैगरी उत्तरी क्षेत्रको लामाबगर, ओराङ लगायतका गाविसको लेकमा यार्सागुम्बा संकलनका लागि गएका ३ सय बढी मानिसहरु सर्म्पर्कमा छैनन् । यार्सागुम्बा संकलनका लागि ३ हजार भन्दा बढी मानिसहरु ती क्षेत्रहरुमा गएको बताइएको छ ।

महाभूकम्पछि सञ्चार सर्म्पर्क विच्छेद भएका कारण दोलखाका दुर्गम क्षेत्रहरुमा सर्म्पर्क हुन सकेको छैन र ती क्षेत्रहरुमा भएको क्षतिको विस्तृत विवरण आउन सकेको छैन । भूकम्पमा परी घाइते भएकाहरुलाई सदरमुकाम ल्याउने क्रम अझै चलिरहेको छ । घाइतेहरुलाई सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्र, गौरीशंकर जनरल अस्पताल र च्छोरोल्पा अस्पतालले उपचार गरिरहेका छन् । सबैभन्दा धेरै ७३ जना घाइतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले गरेको छ । चरिकोटमा उपचार सम्भव नभएका १५ जना घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
महाभूकम्पले दोलखाका कच्ची घरहरुमध्ये ९५ प्रतिशत घरहरुलाई क्षति पुर्‍याएको प्रारम्भिक अनुमान जिल्ला दैवी प्रकोप उद्धार समितिले गरेको छ । गाउँगाउँमा भएका सबैजसो कच्ची घरहरु बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । सदरमुकाम चरिकोटका पक्की घरहरु पनि अधिकांशमा क्षति पुगेको छ । सदरमुकाम चरिकोटस्थित होटल संगमको पक्की भवन ढलेर अर्को पक्की भवनलाई थिचेको छ । सो भवन ढल्दा त्यसले किचेर मृत्यु भएका प्रशान्त कार्कीको शव मंगलवारसम्म पनि निकाल्न सकिएको छैन । त्यसैगरी लामाबगरको दुर्गम गाउँ लुम्नाङ क्षेत्रस्थित जुमखोला जलविद्युत आयोजनाको र्सर्भेक्षणका लागि गएको टोलीलाई पहिरोले किचेर चारजनाको ज्यान लिएकोमा उनीहरुको शव पनि निकाल्न सकिएको छैन । उनीहरुसँगै गएका दुइजना विरामी परी लामाबगरमा अलपत्र परेकामा उनीहरुको पनि उद्धार हुन सकेको छैन ।
महाभूकम्प गएको तीन दिन बितिसक्दा पनि राज्यले एकातिर दुर्गम क्षेत्रमा अलपत्र परेका जिल्लावासीहरु र ती क्षेत्रमा विचल्लीमा परेका विदेशी पर्यटकहरुको उद्धार गर्न सकेको छैन भने अर्कोतिर घरवास भत्किएर अलपत्र परेका जनतालाई पालसमेत उपलव्ध गराउन सकेको छैन । जिल्ला रेडक्रस सोसाइटीमा भएका २२ वटा त्रिपाल भने खुला चौरमा विरामी राखेर उपचार गराउँदै गरेका स्वास्थ्य संस्थाहरुलाई उपलव्ध गराइएको जिल्ला शाखाका अध्यक्ष टीकानारायण प्रधानले जानकारी दिए ।
दोलखा सदरमुकाम चरिकोटका वासिन्दाहरु टुँडिखेल, चरिघ्याङ डाँडा, कालिन्चोक उमाविको चौर, त्रिपुरा बोर्डिङ स्कुलको चौर आदि क्षेत्रहरुमा आफैँले त्रिपाल व्यवस्था गरी दैनिकी गुजार्दै आएका छन् । मंगलवार जिल्लाका विभिन्न क्षेत्रका मानिसहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउ गरी त्रिपाल खाद्यान्न लगायतका राहत सामग्री यथाशीघ्र वितरण गर्न दवाव दिएका छन् । सदरमुकाम बाहिरका मानिसहरु त्रिपाल समेतको अभावमा खुला आकाशमुनि बारीको कान्लाको आडमा बसेर गुजारा गर्दैआएको उनीहरुले गुनासो गरेका छन् ।
मंगलवार सभासदद्वय आनन्द पोखरेल र पार्वत गुरुङसहितको र्सवपक्षीय बैठकले दोलखाका ९५ प्रतिशत घरहरु क्षति पूर्वानुमान गर्दै उनीहरुलाई आवश्यक पर्ने ३० हजार पाल माग गरेको जानकारी प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दिए । माग गरिएका त्रिपालहरु आउन ढिलाइ भएकोले पीडितहरुलाई वितरण गर्न ढिला भएको पनि उनले जानकारी दिए । त्रिपालको अभावमा गाउँगाउँका भूकम्प पीडितहरु खुला आकाशमा बसिरहेका छन् भने मंगलवार दिउँसोदेखि भएको वर्षाका कारण उनीहरु थप पीडामा परेका छन् । शुद्ध पानीको अभाव र उनीहरु बसेको शिविरमा सरसफाइको अभावका कारण झाडापखालाका विरामी समेत बढ्न थालेका छन् ।

No comments:

Post a Comment