Sunday, May 31, 2015

दोलखा भीमेश्वर जोगियो, पुराना गुम्बा ध्वस्त


दोलखा, १८ बैशाख/प्रलयकारी भूकम्पमा परी दोलखाका महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरु ध्वस्त भएका छन् भने दोलखा भीमेश्वरको मन्दिर भने जोगिएको छ ।
महाभूकम्पले ठुलो जनधनको क्षति गरेका बेला प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरलाई भने कुनै क्षति भएको छैन । मन्दिर अगाडि करिब ३० फिट अग्लो शिलास्तम्भ र त्यसमाथि सिंहमूर्ति रहेकोमा त्यसलाई कुनै क्षति नपुगेको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले बताए । मन्दिर र त्यसको परिसरमा समेत कुनै चिरा परेको छैन ।
दोलखा भीमेश्वर मन्दिर नजिकै रहेको त्रिपुरा सुन्दरी मन्दिरमा समेत केही क्षति पुगेको छ । मन्दिरलाई जीर्णोद्धार गर्दा मर्मत गरेको गारो केही भत्किएको स्थानीय श्यामकृष्ण प्रधानले बताए । मन्दिरको गारो केही ठाउँमा चर्किर्एको, झ्यालसँगैको गारो खसेको पनि उनले बताए ।
नेपालकै पुरानो र आनीहरु पढाउने पूर्वी नेपालको एकमात्र विगु गुम्बाका नामले चिनिने टसी छिमेगछल गुम्बा पनि ध्वस्त भएको स्थानीय श्याम बुढाथोकीले बताए । उनका अनुसार गुम्बाभन्दा माथिको पहाड भत्किएर गुम्बालाई ध्वस्त बनाएको हो । गुम्बाका आनीहरु सामान्य घाइते भए पनि कुनै अप्रिय घटना नभएको उनले बताए ।
त्यसैगरी विगु गुम्बाभन्दा पनि पुरानो मानिएको दोलखाको लामाबगरस्थित लप्ची गुम्बा पनि क्षतविक्षत भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अजय केसीका अनुसार गुम्बाभन्दा माथिको पहाडबाट लडेर आएको ढुङ्गाहरुले गुम्बालाई क्षत्रि्रस्त बनाएको हो । सो गुम्बामा हरेक १२ वर्षो फागुन महिनाभरि विश्वभरिका बौद्धधर्मावलम्बीहरु जम्मा भई ठुलो चाड मनाउने गर्दथे ।
पछिल्लो समय प्रशस्त पर्यटकहरु जाने गरेको प्रसिद्ध कालिन्चोक भगवती भन्दिर पनि क्षत्रि्रस्त भएको छ । ३ हजार ८ सय ४२ मिटरको उचाइको टाकुरोमा रहेको मन्दिर सो टाकुरामा ठुला ठुला धजा फाटेर क्षत्रि्रस्त भएको भूकम्प गएकै दिन मन्दिर पुगेका शोभा केसीले जानकारी दिइन् । मन्दिरमा जानका लागि टाकुरोको पश्चिमीपटि्ट रहेको अर्को टाकुरोबाट फलामको भर्‍याङ चढेर जानुपर्नेमा ती दुइ टाकुरा फाटेपछि भर्‍याङबाट जाने बाटो बन्द भएको उनले बताइन् । पछिल्लो समय नयाँ गन्तव्यको रुपमा विकास हुँदै गरेको कालिन्चोकमा दैनिक सर्यौको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु जान थालेका थिए ।
ऐतिहासिक सहर दोलखामा रहेको नेपालको पहिलो टक्सार घर भने सामान्य क्षति भएको छ । घरको अघिल्लो भागमा सानासाना चिरा देखिएको छ भने भवनको माथिल्लो भागका केही इँटाहरु खसेका छन् । दोलखा सहरमा रहेका ६ वटा मल्लकालीन भवनहरु मध्ये ड्वाकुलुङ्गामा रहेको तीनवटा भवन भत्किएको छ । त्यसैगरी तल्लो टोलमा रहेको ड्वाकुडाकस छेँ पनि भत्किएको छ । दोलखा सहरका ९९ प्रतिशत घरहरु बस्न नमिल्नेगरी क्षति भएका छन् ।
दोलखा जिल्लामा सयौँको संख्यामा मन्दिरहरु, ५० भन्दा बढी गुम्बाहरु रहेको भए पनि सबै मन्दिर तथा गुम्बाहरुको अवस्थाबारे जानकारी प्राप्त भैसकेको भने छैन ।

No comments:

Post a Comment