Sunday, May 31, 2015

आफ्नो उद्धार आफैँ गरे नेत्रहिन यज्ञले, अव गुजाराको समस्या


दोलखा, १९ बैशाख/अघिल्लो शनिवारको महाभूकम्पमा परी कैयौँ सबलाङ्गहरुले ज्यान गुमाउन बाध्य भए तर दोलखा भीमेश्वर नगरपालिका २ का नेत्रहिन यज्ञले चाहिँ आफ्नो ज्यान आफैँले जोगाउन सफल भएका छन् ।
भीमेश्वर नगरपालिका २ तिखातलका ३४ वर्षीय यज्ञबहादुर श्रेष्ठ महाभूकम्प आउँदा घरमै थिए । घर धेरै हल्लिन थालेपछि उनलाई निक्कै डर लाग्यो र जसोतसो भागेर बाहिर निस्किन सफल
भए । त्यतिबेला उनकी ७४ वर्षकी आमा रत्नलक्ष्मी श्रेष्ठ, उनकी छोरी र छोरा पनि घरमै थिए । उनीहरु कता गए उनलाई थाहा भएन । पछि आमाको आवाज सुनेपछि उनलाई 'आमा जोगिनुभएछ­' भन्ने थाहा भयो ।
गर्ल्यामगुर्लुम घर ढलेको आवाज त उनले सुनेका थिए, तर छोराले 'बाबा ! हाम्रो घर त भत्कियो भनेपछि उनलाई निक्कै नराम्रो लाग्यो । उनको घर पहिलो झड्कामै ढलेको रहेछ ।
प्रलयकारी भूकम्प आएको रात उनले आमा, श्रीमती, छोरी र छोरा सहित भत्किएको घरभन्दा केही तल बारीमा कसैले गोलभेडाका लागि बनाएको टनेलमा भोकै बिताए । भोलिपल्ट उनको सानिमाको छोरा विष्णु श्रेष्ठले आफ्नो टहरोमा आश्रय दिएपछि थोरै भएपछि राहत भएको उनले बताए ।
पर्सिपल्ट सानोसानो भूकम्प आइ नै रहेको थियो । उनले आँट कसेर घरको भग्नावशेषबाट आफैँले सामानहरु निकाले । उनले भने, 'आफ्नो भएभरको सम्पत्ति भनेको त्यही घर र त्यहाँ भएका सामानहरु हुन् । अनि मरे पनि मरोस् भनेर पुरिएका सामानहरु निकालेँ ।' भग्नावशेषमा हातले खोतलेर ढुङ्गाहरु पन्छाउँदै खाट, लुगाफाटा र भाँडावर्तनहरु निकालेको बताए ।
शुक्रवार एउटा टोलीले एक बोरा चामल दिए बाहेक कसैले केही राहत नदिएको उनले गुनासो गरे । उनले भने, 'पाल छैन, खानेलाउने केही छैन, अर्काको आश्रयमा बसेको छु ।' उनका बाबुले बनाइदिएको घर भूकम्पले खाइदिएपछि अव सम्पत्तिका नाममा उनीसँग एक पाथी मकैबो बीउ जाने बारी मात्रै छ । उनले दुःखेसो गरे, 'घरबार बिहिन भइयो, घर बनाएर बसौँला भन्ने त छँदैछैन । नुनभुटुन खाने पैसा पनि छैन । कसरी गुजारा गर्ने हो !' सरकारले तत्कालीन राहतस्वरुप दिने भनिएको दुइहजार रुपैयाँको राहत पनि आफूले नपाएको उनले बताए ।
आफ्नै बारीको कमाइले वर्षरि खान नपुग्ने भएपछि उनकी श्रीमतीले बनीबुतो गरेर परिवार पालिरहेकी छिन् । अव उनलाई चिन्ता छ, 'खान पाइन्छ कि पाइँदैन -'
१०/११ वर्षो हुँदा त्यत्तिकै आँखा देख्न बन्द भएपछि कक्षा ३ पढ्दापढ्दै पर्ढाई छोडेको र त्यसपछि कसैले पढ्नका लागि सहयोग नगरेको उनकी आमा रत्नलक्ष्मीले बताइन् ।



No comments:

Post a Comment