Tuesday, May 5, 2015

राहत नपाएको भन्दै जिल्ला प्रशासनमा तोडफोड

दोलखा, १६ बैशाख/महाभूकम्पमा परेको ५ दिन बितिसक्दा समेत राहत नपाएको भन्दै स्थानीय आक्रोशित समूहले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति कार्यालय तोडफोड गरेका छन् । आक्रोशित समूहले जिल्ला प्रशासन कार्यालयभित्र पसी कुर्सी र टेबुलहरु बाहिर निकालेर आगजानी समेत गरेका छन् ।
शनिबार र आइतबारको भुकम्पमा परी दोलखाको ९५ प्रतिशत घरहरु ध्वस्त भएका कारण नागरिकहरु ५ दिनदेखि खुल्ला आकाशमुनि रात विताउन बाध्य छन् । त्यसमाथि पटक पटकको झरी र चट्याङ पर्न थालेपछि नागरिकहरुको बिजोग बढ्दै गएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समूहले ओत लाग्ने त्रिपाल समेत वितरण गर्न सकेको छैन । मंगलबारदेखि प्रमुख जिल्ला अधिकारी सहितको बैठक नेपाली सेनाको व्यारेकमा बैठक बस्ने तर कुनै पनि राहत नपाएको भन्दै आक्रोशित समूहले पहिला व्यारेक गेटमा नाराबाजी गरेर त्यसपछि जिल्ला प्रशासन र जिविस कार्यालय तोडफोड गरेका हुन् ।
मंगलबार भारतीय एयर फोर्सको एउटा हेलिकप्टरले ४० बोरा चामल र एक बोरा नुन व्यारेकमा झारेबाहेक कुनै पनि राहत सामग्री आएको छैन । मंगलबार एउटा हेलिकप्टरबाट लामाबगरबाट ६३ जनाको उद्धार गरेको छ भने लप्चीबाट एउटा हेलिकप्टरबाट बुधबार उद्धार गरिरहेको छ । सरकारीस्तरबाट हेलिकप्टर व्यवस्था गर्न नसके पनि आफैं भाडा तिर्दा समेत ३ दिनपछि लप्ची हेलिकप्टरको अनुमति दिएको स्थानीय कर्मा शेर्पाले गुनासो गरे ।
राहतका नाममा सिटामोल पनि आएन
महाभुकम्पले तहसनहस भएको दोलखामा केन्द्रबाट राहतको नाममा सिटामोल समेत आएको छैन । दोलखाका लागि काठमाडौंबाट पठाएको ४ ट्रक राहत र खाद्यान्न बोकेर आए तापनि भक्तपुर र बनेपामा स्थानीयले नियन्त्रणमा लिएका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लाको सम्पूर्ण जानकारी सहितको केन्द्रमा माग गरे तापनि केन्द्रबाटै बेवास्ता गरेको बताए । विदेशबाट दैनिक अरबौँको राहत सहयोग आएको समाचार आएपनि दोलखामा त्यसको कुनै प्रभाव देखिएको छैन ।
"केन्द्रबाट नआए जिल्लाबाट केही गर्न सक्ने अवस्थामा छैनौं" प्रमुख जिल्ला अधिकारी लामिछानेले भने "तर केन्द्रबाट जिल्लाको सुनुवाइ राम्रो गरेन ।" जिल्लास्तरमा ४८ गाविसबाट १० लाखका दरले जिविस ५० लाख र २ नगरपालिकाबाट ९० लाख कोष बनाई तत्काल त्रिपाल वापत प्रति घर २ हजारका दरले वितरण गर्ने निर्णय भएको छ । तर गाविस सचिवहरु समेत सबै अहिलेसम्म सर्म्पर्कमा छैनन् ।

No comments:

Post a Comment