Sunday, May 31, 2015

दोलखामा राहत वितरण सुरु


दोलखा, १७ बैशाख/महाभूकम्पले वितण्डा मच्चाएको ६ दिनबाट दोलखामा राहत वितरण कार्य सुरु भएको छ ।
विहिवार जिल्ला दैवी प्रकोप उद्धार समितिले दोलखाका विभिन्न २८ गाविस र दुइ वटा नगरपालिकामा आर्थिक राहत वितरण गर्न कर्मचारीहरुलाई खटाएको छ ।
उत्तरी गाविसहरु आलम्पु, चिलंखा, खोपाचागु, गौरीशंकर, चंखु, मार्बु गाविसमा हेलिकप्टरबाट आर्थिक राहत पठाइएको छ भने अन्य गाविस तथा नगरपालिकाहरुमा अन्य सवारी साधनहरुबाट राहत पठाएको छ । नेपाल सरकारको निर्णयअनुसार प्रति परिवार दुइ हजार रुपैयाँ पाउनेछन् ।
त्यसैगरी झयाकु, जुँगु, क्षेत्रपा, काब्रे, च्यामा, भालु, सहरे, लाकुरीडाँडा, बोच, सुस्पाक्षमावती, सुन्द्रावती गाविसमा चामल, चिउरा, नुन तथा पाल पठाइएको छ । अन्य गाविस तथा नगरपालिकामा पनि क्रमश पाल तथा खाद्य सामग्री वितरण गरिने जिल्ला दैवी प्रकोप तथा उद्धार समितिले जानकारी दिएको छ । हरेक गाविसलाई २० बोरा चामल, एक बोरा चिउरा, एक बोरा नुन, २० थान पाल वितरण गरिएको छ । दोलखाको विकट वेदिङमा तीन सय केजी चामल हेलिकप्टरबाट पठाइएको छ ।
दोलखाका करिब ५५ हजार घरहरुमध्ये ५२ हजार घरहरु पूर्ण रुपमा क्षति भएको अनुमान गरिएको छ । ती घरपरिवारलाई दुइ हजार रुपैयाँका दरले राहत वितरण गर्दा पनि साँढे ११ करोड रुपैयाँ लाग्ने तथ्यांक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताएका छन् । तर अहिले जिल्ला दैवी प्रकोप उद्धार समितिसँग ६ करोड ५० लाख रुपैयाँ मात्रै छ । त्यसका लागि गृह मन्त्रालयले २ करोड, जिल्ला विकास समिति, गाविस, नगरपालिकाको विकास बजेट रकमान्तर गर्दाको २ करोड रुपैयाँ र शान्ति तथा पुनःनिर्माण मन्त्रालयले विहिवार मात्रै २ करोड रुपैयाँ पठाएको हो । त्यस्तै जिविसको राजश्वबाट प्राप्त ५० लाख रुपैया समेत राहतका लागि कोषमा जम्मा गरिएको छ ।
आर्थिक राहत वितरणका लागि आवश्यक पर्ने ३० करोड रुपैयाँ गृह मन्त्रालयलाई माग गरेको, करिब ४० हजार थान पाल माग गरेको तर आइनपुगेका कारण राहत वितरणमा समस्या परेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रजिअ लामिछानेले बताए । जिल्लामा जम्मा भएको रकम र राहत सामग्रीबाट वितरण सुरु गरेको उनले बताए ।
राहत वितरणका लागि नेपाली सेनाको केन्दीय कार्यालयबाट पाल तथा विभिन्न खाद्य सामग्री, सुआहारा/टुकी संघबाट खाद्य सामग्री र दोलखा लायन्स क्लबबाट त्रिपाल उपलव्ध भएको जनाइएको छ । त्यसैगरी दोलखा उद्योग वाणिज्य संघले विभिन्न विभिन्न खाद्यान्न सामग्री उपलव्ध गराएको छ ।
आफ्नो घरवास भत्किएर अलपत्र परेका जनता र र्सार्वजनिक सम्पत्तिको सुरक्षाको लागि सिँगटी, जिरी, जफे, मागापौवा र किर्नेटारमा नेपाली सेनाको पाँचवटा अस्थायी बेस राखिएको छ ।
भूकम्प पीडितहरुलाई उद्धार र राहत वितरण भैरहे पनि आफूहरुलाई राज्यले बेवास्ता गरेको गुनासो दुर्गम गाउँहरुबाट आएकाहरुले गरेका छन् । उत्तरको ओराङ र लामावगर गाविसमा सयौँको संख्यामा मानिसहरु पहिरोमा पुरिएको भए पनि उनीहरुको खोजी र उद्धार नभएको गुनासो ओराङ ६ का शंकर आचार्यले गरेका छन् । लामावगरको काब्रेको भिरमा ठुलो संख्यामा मानिसहरु पुरिएको उनले बताए । उनले प्रश्न गरे, 'जनताको सुरक्षा  गर्न नसक्ने सरकार किन चाहियो -'
विहिबार इन्डियन फोर्सको हेलिकप्टरले वेदिङका १७ जना र लामावगरबाट ३० जनासहित तीनसय ९० जनाको उद्धार गरिएको छ । ती मध्ये तीन जनालाई उपचारको लागि काठमाडौँ पठाइएको जानकारी सूचना समन्वय उपसमितिका संयोजक औलाख बहादुर आलेले जानकारी दिए । तर अझै पनि उत्तरी क्षेत्रको लेकमा यार्सागुम्बा संकलनका लागि गएका ३ सय भन्दा बढी मानिसहरु सर्म्पर्क छैनन् भने लामाबगरमा पनि सयौँ मानिसहरु अलपत्र परिरहेका छन् ।
महाभूकम्पमा परी मृत्यु हुनेको संख्या दोलखामा ६५ पुगेको छ । तर जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तबहादुर लामाले ६१ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । त्यसैगरी भूकम्पमा परी एक सय ५८ जना घाइते भएको र ती मध्ये १९ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
भूकम्पपीडित दोलखावासीको सहयोगका लागि राहत रकम पठाउन जिल्ला दैवी प्रकोप उद्धार कोषको नेपाल बैंक लिमिटेडको खाता १३००२०००६००६ र विदेशबाट रकम पठाउन नेपाल बैंक लिमिटेडकै खाता एलबीएलएनपीकेए १३००२०००६००६ मा पठाउन सकिने कोषका संयोजक प्रजिअ लामिछानेले बताए ।


No comments:

Post a Comment