Thursday, April 23, 2015

दुइ सातादेखि दुइवटा जलविद्युत् आयोजना ठप्प

दोलखा, १० बैशाख/दोलखाको उत्तरपूर्वी क्षेत्रमा निर्माण हुँदै गरेको दुइवटा जलविद्युत आयोजना दुइ सातादेखि बन्द भएका छन् ।
मार्बु गाविस ७ मा निर्माण हुँदै गरेको ४० मेगावाटको खानी खोला १ जलविद्युत आयोजना र सोही स्थानमा निर्माण भैरहेको ३० मेगावाटको खानीखोला जलविद्युत आयोजनामा स्थानीयले प्रिm शेयर, १० प्रतिशत लगानी शेयर, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसारको काम र रोजगारीको माग गर्दै बन्द गराएको हुन् ।

आयोजनाको काम बन्द भएपछि विभिन्न चरणमा काम पुनसञ्चालनका लागि छलफल भए पनि १५ औँ दिनसम्म काम सुरु हुन सकेको छैन । आयोजनाको काम बन्द गराउने र त्यसको प्रतिकार गर्ने विभिन्न समूहहरुबीच तँछाडमछाड भएपछि आयोजनाको काम पुन सुरु गराउन झनै समस्या भएको हो ।
आयोजनाको ठप्प भएको काम पुन सुरु गर्न सभासद पार्वत गुरुङको पहलमा काठमाडौँमा छलफल गरी सहमती गरे पनि स्थानीयले बन्द खुलाउन मानेनन् । सभासद् गुरुङ बन्द खुलाउने पहल गरी चीन प्रस्थान गरे तर स्थानीयले वार्ता र छलफलमा आफूहरुलाई नराखेको भन्दै आयोजनाको काम ठप्प पारी नै रहे ।
स्थानीय निमा शेर्पा नेतृत्वको स्थानीय संघर्ष समितिले अघिल्लो शनिबार छिमेकी चङ्खु गाविसको गुरुम्फीमा भेला गरी आयोजना व्यवस्थापन पक्षसँग वार्ताद्वारा सहमति नहुञ्जेल आफ्नो आन्दोलन गर्ने निर्णय गराएका थिए । उनले काठमाडौंमा आयोजना व्यवस्थापन पक्ष, सभासद लगायतका केही व्यक्तिहरु बीच वार्ता गरेको हल्ला चलाए पनि आफूहरुलाई वार्तामा नबोलाएको र वार्ताबारे थाहा नभएको बताए ।
अघिल्लो विहीबार सरोकार समिति, आयोजनाका प्रबर्द्धकहरु र सभासद गुरुङबीच भएको वार्तापछि आयोजनाको काम शुक्रबारबाट सुरु गराउने र बैशाख १३ गते स्थानीयस्तरमै वार्ता गर्ने सहमति भएको थियो । तर स्थानीयले बन्द खुलाउनुको साटो सुरीको भोर्लेदेखि सडकमा आयोजनाको निर्माण सामाग्री र कर्मचारी बोक्ने गाडी समेत चल्न दिएका छैनन् । सभासद गुरुङ आफैँ सो आयोजना क्षेत्रका स्थानीय वासिन्दा हुन् ।
दुवै आयोजनाका प्रबर्द्धकहरुले भने कानुन अनुसार आफूहरु सबै काम गर्न तयार रहेको बताउँदै आएका छन् । प्रबर्द्धकहरुले भने समस्याको समाधानमा सभासदले जिम्मा लिएकाले आफूहरुले प्रशासनिक सहयोग नमागेको बताए । तर सभासदको आश्वासन पनि पूरा हुन नसकेकाले आफूहरु समस्यामा परेको बताएका छन् । उनीहरुले स्थानीय बीचमा झगडा नहोस् भन्ने उद्देश्यले लामो समयसम्म प्रशासनिक सहयोग नलिएको बताए ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आयोजनाको काम बन्द भएको लामो समय भए पनि प्रबर्द्धकहरुले नै बन्द खुलाउन सहयोग नमागेको बताए । आयोजनाको सवारी साधन सञ्चालनमा आफूहरुले सहयोग गरेको उनले बताए ।
४० मेगावाटको खानीखोला १ जलविद्युत आयोजनाको काम ८० प्रतिशत सम्पन्न भैसकेको छ भने ३० मेगावाटको खानीखोला जलविद्युत आयोजना विगत एक वर्षेखि सञ्चालनमा छ ।

No comments:

Post a Comment