Sunday, April 5, 2015

दोलखामा मच्छिन्द्रनाथको रथ आजदेखि तानिने


दोलखा, चैत २३/ देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना सहित दोलखा जिल्लाको ऐतिहासिक दोलखा सहरमा यस वर्षो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ ।

अभयपुरको नाममा कुनै बेला छुट्टै राज्यको अस्तित्व बोकेको दोलखा सहरमा परम्परागत रुपमा मनाईँदै आएको मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । 

चैत पूणिर्माको दिन मच्छिन्द्रको मूर्तिलाई दूधले नुहाएपछि मच्छिन्द्रजात्रा सुरु भएको मानिन्छ । स्थानीय भाषामा 'बुकदेउ' भनिने मच्छिन्द्रको मूर्तिलाई शनिवार दूधले नुहाएर जात्रा सुरु भएको हो । चैत शुक्ल परेवाको दिन अर्थात आइतवार मच्छिन्द्रको मूर्तिलाई रथारोहण गरी आजदेखि रथ तान्न सुरु गर्ने कार्यक्रम छ ।  

परम्पराअनुसार देशमा खडेरी नपरोस्, अनिकाल नपरोस्, देश र जनतालाई कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै आर्याबलोकेश्वर अथवा लोकेश्वर करुणामयको आराधनास्वरुप रथलाई एक सातासम्म सहरको विभिन्न भागको परिक्रमा गराउने प्रचलन छ । मल्लकालीन राजा जयवसुदेवले प्रचलनमा ल्याएको मानिने सो जात्रा नेपाल संवत् ७०१ बाट शुरु भएको स्वर्णपत्रमा अङ्कति एउटा आलेखमा उल्लेख छ ।

पहिला नौ तलामा महङ्गो सजावटका साथ निर्माण गरी तानिने सो रथ हिजोआज चार तलामा निर्माण गरी तान्ने गरिएको छ । कालिञ्चोक युवा क्लवको पहलमा चलाइँदै आएको जात्रालाई यस वर्षाट दोलखा गुठी र कालिन्चोक युवा क्लवको संयुक्त आयोजनामा मनाउन थालिएको दोलखा गुठीका अध्यक्ष माधवमणि राजभण्डारीले जानकारी दिए । 

चैत पूणिर्माका दिन करुणामय मच्छिन्द्रनाथको सुनको मूर्तिलाई दूधले स्नान गरिन्छ । यसलाई स्थानीय भाषामा 'हपा' गरेको भनिन्छ । हपा गर्ने दिन स्थानीय महिलाहरू आफ्नो इच्छाअनुसार व्रत बस्ने गर्दछन् । पूणिर्माको तेस्रो दिनदेखि विभिन्न सात टोलमा स्थानीय बाजागाजासहित रथ तानेर पुर्‍याउने चलन छ । रथलाई पहिलो दिन नकछेँ टोल, दोस्रो दिन कोर्छे टोल, तेस्रो दिनदेखि सातौँ दिनसम्म क्रमशः टसिचा, माथिल्लो टोल, दुङ्गल, पिङ्गल, डोकलुङ्गा टोल हुँदै आठौँ दिन पुनः नकछेँ टोलमा पुर्‍याई एक वर्षा लागि जात्रा सम्पन्न गरिन्छ ।

रथ तान्ने क्रममा प्रत्येक टोलमा छुट्टाछुट्टै गुठियारद्वारा रथमा पूजाआजा गरेपछि साँझ रथलाई तानेर अर्को टोलमा पुर्‍याइन्छ । सहरका अशक्त तथा रोगी भक्तजनले समेत घरमै बसी दर्शन गर्न पाउन भनी रथलाई टोलटोलमा परिक्रमा गराएको स्थानीय भरतनारायण प्रधान बताउँछन् । आफ्नो टोलमा रथ तानेर ल्याएको दिन आफन्तहरूलाई भोज खुवाउने गरिन्छ ।

यस वर्षदोलखा सहरमा मच्छिन्द्रको रथ तान्ने दिनहरुमा दोलखामा विभिन्न समयमा देखाइने जात्राहरु देखाइने योजना रहेको दोलखा गुठीका अध्यक्ष राजभण्डारीले बताए । 

यो जात्रा बीचमा १६ वर्षबन्द भएर २०५५ सालदेखि लगातार चल्दै आएको छ । जिल्लाको उत्तरी क्षेत्रस्थित लापिलाङ गाउँबासीलाई जग्गा उपलब्ध गराएर गुठीको व्यवस्था गरी त्यसबाट प्राप्त आयबाट मच्छिन्द्रनाथको रथयात्राको चलन चलाएको विभिन्न प्रमाणहरू पाइन्छ । तर बीचमा गुठीवापत प्राप्त हुनुपर्ने रकम तथा बस्तुहरू प्राप्त नभएका कारण ०५५ सालअघि १६ वर्षसम्म जात्रा चल्न सकेको थिएन । बन्द रहेको जात्रा स्थानीय कालिञ्चोक युवा क्लवको पहलमा ०५५ सालदेखि निरन्तर रुपमा चल्दै आएको छ । यो मच्छिन्द्रको रथ तान्ने जात्रा दोलखाबाट सुरु भई काठमाडौँ लगिएको दोलखा संस्कृतिका अध्येताहरुको दावी छ ।


No comments:

Post a Comment