Sunday, April 12, 2015

छलिमायालाइ छल्यो भाग्यले................

दोलखा, चैत्र २९ । मिर्गे ५ चिलाउनेखर्ककी छलिमाया दाहाल जिल्ला प्रशासन कार्यलयमा निन्याउरो अनुहार लिएर बसिरहेकी थिइन् । उनी जिल्ला प्रशासन आउनुको कारण अरु केही नभएर श्रीमान्लाई प्रहरीद्वारा नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नु थियो । श्रीमान्ले गाँउमा छिमेकीहरुलाई दुख दिन लागेपछि उनी चरिकोट आएकी थिइन् । सबै कुरा सुनिसकेपछि प्रमुख जिल्ला अधिकारीले श्रीमान्लाई पक्राउ गर्न नसकिने बताए । 'गाँउलेहरु मैसँग कराउँछन्, यहाँ हुँदैन भन्छन् । कस्तो आपत आइलाग्यो', जिल्ला प्रशासन कार्यालयबाट बाहिरिँदै गर्दा उनले भनिन् ।

'गरिबको घरमा मात्र तेरो वास हुने भए हे इश्वर मलाई दया गरी अझै दुख दे ।' यो भनाई दाहालले पढ्न पाएकी छैनन् । उनको वर्तमान अवस्था हेर्दा उनले भोगिरहेको जीवनकै लागि यो वाक्य लेखिएको जस्तो भएको छ ।
२०५८ सालमा उनको मागी विवाह भयो । श्रीमान् जन्मजात सुन्न र बोल्न नसक्ने अपाङ्गता भएका व्यक्ति थिए । विवाह भएर आएपछि उनी आफैंले सबै व्यवहार चलाउने गरेकी थिइन् । इसारा गरेर लगाएको काम श्रीमान्ले गर्थे । परिवार राम्रैसँग चलेको थियो ।
२ वर्षअगाडिदेखि उनका श्रीमान् रामप्रसाद दाहालको व्यवहारमा परिवर्तन देखिन लाग्यो । अह्राएका सबै काम खुरुखुरु गर्ने उनी काम अह्राउँदा आइलाग्न लागे । परिवारका सदस्यहरुलाई कुटपीट गर्न लागे । मानसिक रोग लागेको आशंकामा उनले श्रीमान्लाई पाटनमा रहेको मानसिक अस्पतालमा भर्ना गरिन् । एक महिनासम्म राख्दा १ लाखभन्दा धेरै खर्च भयो । डाक्टरले 'केही पत्ता लगाउन सकेनौं' भनेर पठाएको उनले दुखेसो गरिन् । 'उपचारमा लागेको ऋण खेत बेचेर तिरेँ । बिमार बीसको उन्नाईस भएन ।' उनको बिलौना छ ।
१ छोरी र छोरासहित चारजनाको परिवार । छोरी कक्षा ६ र छोरा कक्षा ४ मा कालीढुङ्गा उमाविमा पढ्छन् । विद्यालयमा बालबालिकाको पर्ढाई राम्रो छ । विद्यालयका प्रधानाध्यापक बोमहरि दहाल भन्छन् 'परिवारका कारण बलाबालिकाको पढाइमा असर देखिन थालेको छ ।'
श्रीमान् विरामी परेपछि परिवार भताभुङ्ग भएको छ । अलिअलि भएको पैसा उपचारमा नै सकियो । नानीहरुलाई कुनै सामान किनिदिन हातमा पैसा छैन । 'गोठका गाईबस्तु तथा खेत पनि सकिइसक्यो । कतैबाट सहयोग पाइयो भने उपचार गर्नुपर्ला । नत्र जे जे हुन्छ खप्नैपर्‍यो ।' छलिमायाले दुख पोख्छिन् ।
छिमेकी अम्बरबहादुर तामाङ गाँउ नै आतङ्कति भएको बताउँछन् । 'पहिला साह्रै इमान्दार मान्छे थियो । अहिले के भयो भयो -' विहान बेलुका हातमुख जोर्न धौ धौ हुने परिवारले उपचार गर्न नसक्ने अवस्था रहेको उनले बताए ।
समाचार सौजन्यः अर्जुन अपवाद

No comments:

Post a Comment