Monday, March 23, 2015

दोलखामा मच्छिन्द्रजात्रासँगै सांस्कृतिक महोत्सव

दोलखा, चैत १०/पौराणिक तथा सांस्कृतिक सहर दोलखामा पराम्परागत रुपमा मनाइँदै आएको मच्छिन्द्रनाथको रथयात्रासँगै दोलखा सांस्कृति महोत्सव पनि मनाइने भएको छ ।
प्राचीन सहर दोलखामा आगामी चैत शुक्ल पूणिर्माका दिनदेखि मच्छिन्द्रनाथको रथयात्रासँगै दोलखा सहरमा वर्षरि देखाइने विभिन्न मौलिक
जात्राहरु समेत देखाउने गरी दोलखा सांस्कृतिक महोत्सव मनाउने निर्णय भएको द्वाल्खा गुठीका अध्यक्ष माधवमणि राजभण्डारीले जानकारी दिए ।
स्थानीय भाषामा बुकदेउ भनिने मच्छिन्द्रनाथको मूर्तिलाई चैत शुक्ल पूणिर्माका दिन अर्थात चैत २१ गते दूधमा स्थान गराउने, २२ गते रथारोहण गर्ने र २३ गतेदेखि रथयात्रा गरिने कार्यक्रम छ । नौ दिनसम्म दोलखा सहरको विभिन्न टोलहरुमा परिक्रमा गरी मनाइने जात्राको हरेक साँझ दोलखा सहरमा वर्षरि देखाइने विभिन्न मौलिक जात्राहरुमध्ये देखाउन मिल्ने जात्राहरु देखाइने निर्णय सोमवार जिल्ला प्रशासन कार्यालयमा भएको र्सवपक्षीय बैठकले गरेको छ । 
दोलखा सांस्कृतिक महोत्सवको क्रममा थामीको मारुनी नाच, तामाङ नृत्य, लाखे नाच आदि प्रदर्शन गरिनेछ । यसैगरी दोलखाका मौलिक खानेकुरा, स्थानीय उत्पादनहरुको प्रदर्शनीका लागि विभिन्न स्टलहरु पनि राखिनेछन् । महोत्सवमा दोलखाका मठमन्दिर तथा डबलीहरुको परम्परागत रुपमा चल्दैआएको भजनकीरतन समेत गरिने आयोजले जनाएका छन् । हरेक साँझ दोलखामा वर्ष भरि देखाइने जात्राहरुको वृत्तचित्र पनि देखाइने छ । 
महोत्सवका क्रममा विभिन्न जिल्लाका दोलखा आएका र दोलखाका विभिन्न क्षेत्रबाट दोलखा सहर आएका आन्तरिक पर्यटकहरुलाई जिल्लाको पर्यटकीय क्षेत्र जिरी, कालिन्चोक तथा स्वदेशी लगानीमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोशी आयोजनासम्म जानका लागि अरनिको यातायात, रोल्वालिङ यातायात तथा निजी सवारी साधानहरुले विशेष छुटको व्यवस्थ गर्ने समेत आयोजकले जनाएको छ ।

No comments:

Post a Comment