Monday, March 30, 2015

तामाकोशीको शेयर दोलखाका १४८६ कर्मचारीबाट ३३ करोड संकलन

दोलखा, चैत १७ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि कर्मचारी सञ्चय कोषका दोलखा जिल्लामा कार्यरत १४ सय ८६ सञ्चयकर्ताहरुबाट करिब ३३ करोड रुपैयाँ संकलन भएको कुरा राष्ट्रिय बाणिज्य बैंक, चरिकोट शाखाले र्सार्वजनिक गरेको छ ।
शेयर संकलन गर्ने मिति सकिएपछि बैंकले र्सार्वजनिक गरेको जानकारी अनुसार दोलखाका १४ सय ८६ सञ्चयकर्ताहरुले ३२ करोड ९६ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् ।

नागरिक लगानी कोषले आवेदनका लागि तोकेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखामा आवेदन संकलनका लागि करिब २ हजार ७ सय फाराम वितरण भएको थियो ।
फागुन ११ देखि आहृवान खुला भएको भए पनि समय अपुग भएको भन्दै नागरिक लगानी कोषले गत फागुन २४ गते एक विज्ञप्ति जारी गरी आवेदन समय चैत १५ सम्म थप गरेको थियो सेयर आवेदन कम्तीमा ५ हजारदेखि ५ लाखसम्म रहेको राष्ट्रिय वाणिज्य बैंक चरिकोट शाखाका उपेश विष्टले जानकारी दिए । सेयर खरिद गर्नेमा सबैभन्दा बढी शिक्षक रहेका छन् भने निजामती, प्रहरी, सेनाहरु निकै कम रहेको विष्टले जानकारी दिए ।
जिल्लामा करिब ४ हजार सञ्चयकर्ताहरु कार्यरत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाको अनुमान रहेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता, कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारी तथा कम्पनी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिशेयर एक सय अंकित ३ करोड ६० लाख ६ हजार -३ अर्ब ६० करोड ६ लाख) बराबरको संस्थागत सेयर निष्काशन गरेको थियो ।

No comments:

Post a Comment