Sunday, February 8, 2015

माथिल्लो तामाकोशीमा सबै दोलखालीलाई समान शेयर

दोलखा, माघ २५ । स्वदेशी लगानीमा निर्माण हुँदै गरेको नेपालको सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखावासीलाई दिने भनिएको शेयर सबै दोलखालीलाई समान रुपमा वितरण गर्ने निर्णय भएको छ ।
आयोजनाले दोलखावासीका लागि छुट्याएको १० प्रतिशत शेयर सबै दोलखावासीलाई
समान रुपमा वितरण गर्ने निर्णय आज बसेको र्सवपक्षीय बैठकले गरेको हो । शेयर बाँडफाँड सम्वन्धी जिल्ला समन्वय समितिको आज बसेको बैठकले सबै दोलखालीले समान ७० कित्ता शेयर खरिद गर्नुपर्ने निर्णय गरेको छ । यसरी दोलखावासीले शेयर खरिद गरेको आधारमा उनीहरुले ७० कित्ताभन्दा घटी वा बढी शेयर पाउने समेत निर्णय भएको बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति ताराबहादुर कोइरालाले जानकारी दिनुभयो ।
शेयर दिने प्रयोजनका लागि संकलन गरिएको तथ्यांकको आधारमा दोलखाको पछिल्लो जनसंख्या २ लाख ८० हजार ५ सय ५८ छ । २०६८ सालको जनगणनामा दोलखाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ थियो । पछिल्लो जनसंख्याका आधारमा सबै दोलखालीले शेयर खरिद गरेमा हरेक दोलखाको भागमा ३५ कित्ता शेयर पर्दछ । धितोपत्र निष्काशन बोर्डले दोलखालीले पाउने. १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर फागुन २० भित्र जारी गर्न अनुमति दिएको थियो ।
समितिले दोलखा जिल्लावासी हो भन्ने प्रमाण पुगेका नागरिकहरुबाट सबैलाई समान ७० कित्ता शेयर खरिद गर्न पाउने निर्णय गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले पुष्टि गर्नुभयो । आहृवान गरेको भन्दा बढी शेयर माग भएमा सोही अनुपातमा दामासाहीले घटी वा बढी गरी समानुपातिक शेयर वितरण गरिने निर्ण्र्ााबैठकले गरेको प्रवक्ता न्यौपाने बताउनुभयो । प्रवक्ता न्यौपानेका अनुसार आयोजनाका अति प्रभावित लामाबगर र गौरीशंकर गाविसका नागरिकहरुलाई प्रतिव्यक्ति ३०० कित्ता शेयर लगानीको सुनिश्चितता गरिएको छ । जिल्ला विकास समितिले शेयर वितरणका लागि लिएको तथ्याङ्क अनुसार लामाबगर र गौरीशंकर गाविसको जनसंख्या क्रमशः २ हजार २ सय ९४ र २ हजार ७८ रहेको छ ।
जिल्ला विकास समिति दोलखाले शेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा 'ऋण लगानी सम्झौता मिति २०६४ माघ १५ गतेभित्र बर्साई सरी दोलखा आएकोहरुले मात्र शेयर खरिद गर्न पाउने' सम्वन्धमा गरेको संशोधनलाई बैठकले अनुमोदन गरेको छ ।
४ सय ५६ मेगावाट क्षमता रहेको यो आयोजनाले संशोधित कार्यतालिका अनुसार २०७३ साल माघ मसान्तबाट विद्युत् उत्पादन लक्ष्य लिएको छ । आयोजनको काम हालसम्म ७२ प्रतिशत सम्पन्न भएको छ ।
तर बैठकमा सहभागी एमाओवादीका गंगा कार्कीले शेयर बाँडफाँड सम्बन्धी आजको बैठकको निर्णयमा आफूहरुको सहमति नभएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment