Monday, February 16, 2015

माथिल्लो तामाकोशीको सेयरमा आयोजना नै धितो बसिदिने, सङ्कलन चैत १ बाट

दोलखा, फागुन ४ । बहुचर्चित स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत आयोवजनामा दोलखाका आर्थिक रुपले विपन्न सबै जनताले शेयर हाल्न पाउने निश्चित भएको छ । विपन्न दोलखालीहरुका लागि शेयर हाल्न आयोजना नै धितो बसिदिने भएपछि सबै दोलखालीले सेयर हाल्न पाउने निश्चित भएको हो ।
सेयर बाँडफाँड
सम्वन्धी जिल्ला समन्वय समितिको आज बसेको बैठकले आर्थिक रुपमा विपन्न दोलखालीलाई सेयरमा पहुँच पुर्‍याउन तथा समान वितरणको लागि आयोजना नै धितो बसी सेयर खरिद गरिदिने निर्णय गरेको हो । बैठकले 'सेयर आवेदन गर्न आर्थिक रुपमा विपन्न व्यक्तिहरुका लागि सेयर प्रमाणपत्र धितो राखी अपर तामाकोशी हाइड्रोपावर कम्पनी जमानी बसी ऋण/कर्जा प्रदान गराउने व्यवस्था मिलाउने' निर्णय गरेको छ ।
कूल लागत ३५ अर्व २९ करोड रुपैयाँ रहेको आयोजनामा दोलखालीले पाउने १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयरका लागि नागरिक लगानी कोषले गत माघ २९ गते आहृवान पत्र जारी गरिसकेको छ । आहृवान पत्रअनुसार फागुन ११ बाट सेयर आवेदन खुला हुने भए पनि दोलखावासीको हकमा भने चैत १ गतेबाट मात्र आवेदन पेश गर्न सकिने बैठकले निर्णय गरेको छ । सेयर बाँडफाँडमा नेपाल विद्युत् प्राधिकरण तथा ऋण लगानी गर्ने अन्य संस्थाका कर्मचारीहरुबीच न्यायिक रुपमा नभएकोमा कम्पनीको प्रवन्धपत्र र नियमावलीलाई संशोधन गर्न समेत बैठकले अनुरोध गरेको छ ।
धितोपत्र बोर्ड, नागरिक लगानी कोष, आयोजना प्रमुख, स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन लगायतको उपस्थितिमा गरिएको निर्णयमा दोलखाको ४८ गाविस, २ नगरपालिकाको वडा वडामा र राजधानी काठमाडौँ समेतमा सेयर सङकलन केन्द्रको व्यवस्था गरिने समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी रेशमलाल कँडेलले जानकारी दिनुभयो । संयोजक कँडेलले भन्नुभयो, 'विदेशमा रहेका दोलखालीहरुलाई इन्टरनेतमार्फ अनलाइन फारामको व्यवस्था गरिएको छ ।' आयोजनाले पर्ूवानुमान गरेको लगानी बढ्न गएमा बढेको लगानी रकम जिल्लाका सरकारी निकाय तथा दोलखावासीले थप लगानी गर्न पाउने समेत बैठकले निर्णय गरेको संयोजक कँडेलले बताउनुभयो ।
सेयर वितरणका लागि जिल्ला विकास समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार दोलखाको पछिल्लो जनसंख्या २ लाख ८० हजार ५ सय ५८ रहेको छ । यो संख्या २०६८ को जनगणनाअनुसार १ लाख ८६ हजार ५ सय ५७ थियो ।
जिल्ला विकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा 'ऋण लगानी सम्झौता मिति २०६४ माघ १५ गतेभित्र बर्साई सरी दोलखा आएकोहरुले मात्र सेयर खरिद गर्न पाउने' यस अघि नै निर्णय गरिसकेको छ । ४ सय ५६ मेगावाट क्षमताको आयोजनाले २०७३ साल असार मशान्तबाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । आयोजनको काम हालसम्म ७२ प्रतिशत सम्पन्न भएको छ ।

No comments:

Post a Comment