Wednesday, February 11, 2015

अन्तर जिल्ला फुटबलको उद्घाटन खेलमा दोलखाको जित

दोलखा, माघ २८ । नेपाल तरुण दल, दोलखाले आयोजना गरेको नारायणध्वज स्मृति अन्तर जिल्ला फुटबल प्रतियोगिता दोलखाको सदरमुकाम चरिकोटको टुँडिखेलमा आजबाट सुरु भएको छ ।
खेलको उद्घाटन नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री बालकृष्ण खाँड गर्नुभएको छ ।
उद्घाटन खेलमा दोलखाले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निणर्य टाइब्रेकरबाट गर्नुपरेको हो । टाइब्रेकरमा दोलखाले सिन्धुपाल्चोकलाई ४ गोलका विरुद्ध ५ गोलले पराजित गरेको हो ।
प्रतियोगितामा दोलखा र सिन्धुपाल्चोकका अतिरिक्त काठमाडौँ, सिन्धुली, काभ्रेपलाञ्चोक र भक्तपुरका टिमहरु सहभागी भएको तरुण दल दोलखाका अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखा कांग्रेसका नेता स्वर्गीय नारायणध्वज योञ्जनको स्मृतिमा आयोजना गरिएको फुटबल प्रतियोगिताको पुरस्कार राशि दोलखामा अहिलेसम्म आयोजना गरिएको फुटबल प्रतियोगिताकै सबैभन्दा ठुलो भएको तरुण दल दोलखाका उपाध्यक्ष कुमार अधिकारीले दावी गर्नुभयो । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख रुपैयाँ र दोस्रो हुने टिमले ६० हजार रुपैयाँ नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल आगामी फागुन ४ गते हुने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment