Wednesday, June 26, 2013

राष्ट्रिय लोकनाट्य महोत्सवको तयारी तीव्र

असार १७, दोलखा । नाट्य विधाको माध्यमबाट कला संस्कृतिको समेत विकास र संरक्षण गर्ने उद्देश्यले दोलखा समरमुकाम चरिकोटमा राष्ट्रिय लोकनाट्य महोत्सव गर्ने तय भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी असार २१ र २२ मा महोत्सव गर्ने निश्चित भएको हो । सो उत्सवमा विभिन्न छ जातजातिको धार्मिक, साँस्कृतिक र रितिरिवाज झल्किने छवटा नाटकहरु समावेश हुने प्राज्ञ एवम लोकनाटक विभाग प्रम्ाुख तर्ीथ थापाले जानकारी दिए  ।

बुधबार उत्सवको तयारी बैठकमा प्राज्ञ थापा र वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखाबाट तामाङ र नेवारी, झापाबाट सन्थाल, सुनसरीबाट किराँती, कैलालीबाट थारु र पाल्पाबाट बालुन लोकनाटक प्रस्तुत गरिने जानकारी दिए । लोकनाट्य प्रस्तुतिपछि लोपोन्मुख सस्कृतिको संरक्षणको लागि भावी योजना बनाउन सहयोग पुग्ने उनीहरुको धारणा छ ।
प्राज्ञ थापाले एउटा नाटक प्रस्तुत गर्न करिव एकलाख रुपैयाँ लाग्ने जानकारी दिँदै समग्र कार्यक्रमको लागि करिब १० लाख १५ हजार लाग्ने बताए । त्यसको लागि रु. ७ लाख ५० हजार रकम प्रतिष्ठानले ब्यहोर्ने र २ लाख ६० हजार स्थानीयस्तरबाट संकलन गरिने आयोजकले जानकारी दिए ।
आफ्नै जिल्लामा लोकनाट्य उत्सव हुने भएपछि जिल्लाका सरकारी निकाय, उद्यम व्यवसायी, समाजसेवी निकै उत्साही भएका छन् । बुधबारको बैठकले महोत्सव व्यवस्थापनका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । आर्थिक व्यवस्थापनमा दोलखा उद्योग वाणिज्य, आवास तथा खानपान व्यवस्थापनमा होटल संघ दोलखा, प्रचार प्रसारमा पत्रकार महासंघ दोलखा र झाँकी व्यवस्थापनमा फिल्म सिटीका प्रतिनिधिलाई जिम्मेवारी दिएको छ । स्थानीय व्यवस्थापनको लागि जिल्ला विकास समिति दोलखाका सामाजिक विकास अधिकृत नारायण सेर्ढाईको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ । उत्सवका लागि जिविस दोलखाले रु. ७५ हजार सहयोग समेत गरेको छ ।
वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखामा चलचित्र नगरी निर्माणको आयोजना अन्तिम चरण पुगेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको लागि समेत नाट्य महोत्सव प्रभावकारी हुने बताए । दोलखाको लाकुरीडाँडा गाविसको डाङडुङे डाँडामा चलचित्र नगरी निर्माणको तयारी भैरहेको छ ।

No comments:

Post a Comment